कारोबार


पर्यटकको प्रतीक्षामा गिरानचौर

पर्यटकको प्रतीक्षामा गिरानचौर

नेपालखबर
चैत ७, २०८१ बिहिबार १२:३३, तनहुँ

पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ तनहुँको आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर। ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती। परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ। 

गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन्। गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय नमूना गाउँ घोषणा गरेपछि स्थानीयवासी यस ठाउँमा पर्यटक भित्र्याउन लागिपरेका हुन्। 

गाउँपालिकाको सहयोग र प्रेरणाले आफूहरु यस ठाउँमा घरबास सञ्चालन गर्ने प्रयासमा जुटेको स्थानीय ओममाया गुरुङले बताए। ‘गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हामीलाई यस ठाउँमा होमस्टे सञ्चालनका लागि उत्प्रेरित गर्नुभयो । हामी स्थानीय अहिले यसमा लागेका छौँ,’ उनले भने। 

हाल यस ठाउँमा २० घरमा होमस्टे सञ्चालन गरिएको छ भने यसलाई विस्तार गर्ने लक्ष्य राखिएको छ।

होमस्टे सञ्चालनका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र गाउँपालिकाले नै सिकाएपछि अहिले यसतर्फ अगाडि बढेको उनले बताए। ‘गाउँपालिकाका अध्यक्षले सधैँ हामीलाई पैसा कमाउनुप¥यो भन्नुहुन्थ्यो, हामीले कसरी चलाउने, हामीलाई त आउँदैन भन्यौँ। उहाँहरुले सिकाउनुभयो, पाहुना पनि पठाउन थाल्नुभयो,’ उनले भने। 

केही समय अगाडि मात्रै विद्यालयका एक सय जना शिक्षकहरु यहाँ बास बसेर गएको उहाँले जानकारी दिए। 

यहाँ आउने पाहुनालाई लोकल कुखुरा, गाउँमै उत्पादित आलुको परिकार, गुन्द्रुक, भट्ट, कोदोको रोटी खुवाउने गरिएको छ। त्यस्तै रातिको समयमा चुड्का नाच प्रस्तुत गर्ने गरिएको छ।

पारिवारिक वातावरणको प्रत्याभूति दिने गरी पाहुनाको स्वागत गर्ने गरेको स्थानीय नरेश गुरुङले जानकारी दिए। आफू डकर्मीको काममा समेत संलग्न रहेको बताउँदै उनले होमस्टे सञ्चालनका लागि आमा र श्रीमतीले सघाइरहेको उल्लेख गरे। हालसम्म यस ठाउँमा तीन सयभन्दा बढीले रात बिताइसकेका छन्। 

आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्न खोजेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए। गुरुङ बस्ती गिरानचौरमा ६० घरधुरी रहेकामा सबै घरमा होमस्टे सञ्चालनको लक्ष्य छ। 

यस ठाउँलाई पर्यटकीय गाउँ बनाउन रु ४० लाख बजेट विनियोजन गरिएको छ। 

कूल छ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा एउटा पर्यटकीय गाउँ बनाउने लक्ष्य राखिएको चुमानको भनाइ छ। 

पृथ्वीराजमार्गको बरादीदेखि समस्तीपुरसम्म पक्की र त्यहाँबाट कच्ची बाटो रहेकाले बाटो स्तरोन्नतिको प्रक्रिया थालिएको चुमानले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad