कारोबार


रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा

रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा

नेपालखबर
माघ २७, २०८१ आइतबार १३:२२, तनहुँ

दमौलीको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो। 

यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ। 

होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताए। उनका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ। 

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियोे । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन्। 

परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिए।

व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताए। उनले भने, ‘ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ।’

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवर्द्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad