कारोबार


जाडो बढेपछि लेकबाट बेँसी झार्न थालियो भेडाका बथान

जाडो बढेपछि लेकबाट बेँसी झार्न थालियो भेडाका बथान

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १२:१७, लमजुङ

लमजुङमा चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन्। चिसो मौसम शुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ती गोठका गोठालाले आ-आफ्ना भेडाका बथान बेसी झार्न थालेका छन्। 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्। ती सबै लेकबाट बेँसी झर्न थालेका छन्। सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ रहेका छन्।

गर्मीयाममा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ पुनःफर्किएका भेडीगोठाला कमल अधिकारीले बताए। ‘गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्छौँ। बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ ’, उनले भने।

क्व्होलासोथार गाउँपालिका-३ घलेगाउँका दिर्घराज घलेले गाउँका दुई वडाका भेडीगोठ रहेका र चिसो हुन थालेसँगै लेकबाट घलेगाउँतर्फ ल्याउन लागेको बताए।  

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला क्युबे(ल्हेदे हुँदै गाउँतर्फ फर्किन थालेको स्थानीयको भनाइ छ। जिल्लाको उत्तरी ताघ्रिङ्का भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी आइपुगेको र केही हप्तापछि गाउँमै ल्याइने छ।  

विशेष गरी गुरुङ समुदायको पुर्ख्यौली चलन तथा पेशाको रूपमा  भेडापालनलाई लिइन्छ। लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूध पोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म लैजाने गरिन्छ। पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ। उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेको छ। 

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने, भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ। जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्यांक छ। वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ। ऊनको प्रतिकिलो ३०० रुपैयाँमाबिक्री हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad