पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू हुने भएको छ। यही फागुन ११ गते बिहीबार अर्थात् फेब्रुअरी २३ तारिखदेखि पोखराको नयाँ विमानस्थलमा आईएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
पोखरामा आईएफआर कार्यान्वयनमा आउने भएपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको छ।
आईएफआर प्रणाली पूर्ण यान्त्रिक सञ्चालन प्रणाली भएको र भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा आईएफआर उडानमा केही समय लाग्ने भए पनि तुलनात्मक रुपमा सुरक्षित र सहज रहेको प्राधिकरणले जनाएको छ। पोखराको नयाँ विमानस्थल साना जहाजका लागि मात्रै उडान–अवतरणमा उपयुक्त रहेको मानिएको छ। कोरियन र बिज एयरसँग एक सय ९० सिट क्षमताको ए३२१ निओ जहाज रहेको बताइएको छ। हिमालयले न्यारोबडी जहाज एयरबस ३२० बाट पोखराको परीक्षण उडान गरिसकेको छ।
इच्छुक कम्पनीका जहाज, यात्रु क्षमता र उडान गर्न चाहेका गन्तव्यलगायत प्राविधिक पक्षबारे प्रष्ट छलफल हुने बाँकी रहेको प्राधिकरणले जनाएको छ। गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गरिरहेका छन्। रासस
Shares

प्रतिक्रिया