कारोबार


नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार

नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १७:३४, काठमाडौँ

टिकटकले प्लेटफर्ममा देखिने एआई–निर्मित कन्टेन्टबारे मानिसहरूले अझ राम्रोसँग बुझ्न, चिन्न र नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यले नयाँ अपडेटहरूको श्रृंखला सार्वजनिक गरेको छ।

जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ प्रयोग हुँदा एआई ले सिर्जनात्मकता बढाउन, खोज–अनुसन्धान सहज बनाउन र सुरक्षालाई बलियो बनाउन मद्दत गर्छ भन्ने टिकटकको विश्वास छ। यहि विश्वासलाई आधार बनाएर ल्याइएका यी अपडेटहरूले समुदायलाई एआई सँग कसरी अन्तरक्रिया गर्ने भन्नेबारे अझ स्पष्ट जानकारी र बढी विकल्पहरू दिनेछन्।

अब “मेनेज टपिक्स” फिचरभित्र एआई–निर्मित कन्टेन्टको लागि एउटा नयाँ कन्ट्रोल सेटिङ परीक्षण गरिँदैछ। यस सेटिङमार्फत प्रयोगकर्ताले आफ्नो फर यू फीडमा कति एआई–निर्मित कन्टेन्ट देखिने भन्ने कुरा आफैं मिलाउन सक्नेछन्। एआई मार्फत बनेका कथावाचन, शिक्षासम्बन्धि क्लिप्स वा क्रिएटिभ कन्टेन्ट हेर्न रुचाउनेले यस्तो सामग्री बढी देखिनेगरी सेट गर्न सक्नेछन्। त्यस्तै, एआई कन्टेन्ट धेरै मन नपर्नेहरूले यसलाई सहजै घटाउन सक्नेछन्। यो सुविधा टिकटकलाई विशेष बनाउने विविध र सिर्जनात्मक कन्टेन्ट नहटाईकनै, प्रयोगकर्ताले आफ्नो फिडलाई आफ्नै रुचिअनुसार मिलाउन मद्दत गर्न तयार गरिएको हो। यसले व्यक्तिगत रुचिअनुसार कन्टेन्ट सिफारिस गर्न मद्दत गर्ने कस्टमाइज गर्न मिल्ने कीवर्ड फिल्टरहरू र “नट इन्ट्रेस्टेड” बटन जस्ता अन्य टुलहरूलाई अझ प्रभावकारी बनाउँदै, मानिसहरूले आफूलाई मनपर्ने कुराहरू सजिलै खोज्न र हेर्न सकून् भन्ने उद्देश्य राख्छ।

पारदर्शिता अझ मजबुत बनाउन टिकटकले आफ्नो एआई लेबलिङ प्रणालीलाई अझ उन्नत गर्दैछ। प्लेटफर्मले पहिले नै क्रिएटर लेबल, एआई डिटेक्शन मोडेल र सी२पीए कन्टेन्ट क्रिडेन्सियल्स जस्ता विधिहरू प्रयोग गर्दै आएको छ, जसका माध्यमबाट हालसम्म १.३ अर्बभन्दा ज्यादा भिडियोहरू पहिचान गरी लेबल गरिएका छन्। अब, टिकटक “इनभिजिबल वाटरमार्किङ” नामको नयाँ समाधान परीक्षण गर्दैछ।

इनभिजिबल वाटरमार्कहरू टिकटकका प्रणालीहरूले मात्र पढ्न सक्ने मजबूत डिजिटल चिन्ह हुन्, जसलाई अरूले हटाउन अत्यन्त कठिन हुन्छ। यी वाटरमार्कहरू भिडियो एडिट वा रि–पोस्ट गरेपछि पनि कायम रहने भएकाले एआई लेबलिङ अझ भरपर्दो र दीर्घकालीन बन्छ। आगामी हप्ताहरूमा टिकटकले एआई एडिटर प्रोजस्ता आफ्नै टुलहरूबाट बनेको एआई कन्टेन्ट तथा सी२पीए कन्टेन्ट क्रिडेन्सियल्स सहित अपलोड गरिएको कन्टेन्टमा यस्तो इनभिजिबल वाटरमार्क जोड्न सुरु गर्नेछ।

यसबाहेक, टिकटकले विश्वभर एआई शिक्षा विस्तार गर्न २ मिलियन डलरको एआई लिटरेसी फण्ड स्थापना गरेको छ। यो कोषले विभिन्न देशका गैर-नाफामुलक संगठन र विशेषज्ञहरूलाई शैक्षिक सामग्री बनाउन सहयोग गर्नेछ। यसले मानिसहरूलाई एआई ले कसरी काम गर्छ, एआई–निर्मित सामग्री कसरी चिन्ने, र एआई सुरक्षित तथा जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भन्ने कुरा बुझाउन मद्दत गर्छ। दर्जनभन्दा बढी देशका साझेदारहरूले मिडिया लिटरेसी, प्रविधिको सुरक्षित प्रयोग र टिकटकका ट्रान्सपेरेन्सी टुलहरूको बारेमा जनचेतना बढाउने सामग्री तयार गर्नेछन्।

टिकटक यी सबै अपडेटहरू मार्फत आफ्नो समुदायलाई एआई को बदलिँदो दुनियालाई आत्मविश्वासका साथ नेभिगेट गर्न सहयोग गर्न चाहन्छ। भविष्यमा पनि एआई प्रविधि विकसित हुँदै जाँदा टिकटकले थप टुल र साझेदार कार्यक्रमहरू विस्तार गर्दै प्रयोगकर्ताका लागि सुरक्षित, पारदर्शी र सिर्जनात्मक डिजिटल अनुभवहरू सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad