ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको छ।
बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो।
आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्तरुपमा उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेको बैंकले जनाएको छ।
गाडी चार्ज प्रा.लिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिंंगल गनको ४० किलोवाट क्षमता छ।
उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ।
पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।
उक्त कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरणअनुकूल ईभी सवारी साधनको प्रवद्र्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिए। साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे।
साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आईएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए। उनले ग्लोबल आईएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए।
उनले ग्लोबल आईएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेसन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अवलम्बन गर्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि.को प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया