ad ad

कारोबार


हिमालयन डिस्टिलरीको वित्तीय सबलता : सेयरधनीलाई खुसी पार्दै बढायो व्यापार

३ महिनामा एक अर्ब ३८ करोडको मदिरा बिक्री, साढे २१ करोड खुदा नाफा
हिमालयन डिस्टिलरीको वित्तीय सबलता : सेयरधनीलाई खुसी पार्दै बढायो व्यापार

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १७:८, काठमाडौँ

हिमालयन डिस्टिलरी (एचडीएल) ले ३ महिनामा  एक अर्ब ३८ करोडको मदिरा बिक्री गरेको छ। तीन महिनामा कम्पनीले १२.२९ प्रतिशतले बिक्री बढाएको हो। 

मदिरा बजार २५ देखि ३० प्रतिशतले घट्दा पनि हिमालयन डिस्टिलरीले व्यापार बढाउन सफल भएको हो।  

कम्पनीले चालू आवको पहिलो ३ महिनामा २.११ प्रतिशत नाफा गरेको छ। कम्पनीको वित्तीय विवरणअनुसार पहिलो त्रैमासिक अवधिमा २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न कम्पनी सफल भएको देखिएको छ।

कम्पनीले नेपाली बजारमा चलेका मदिरा गोल्डेन ओक, ब्ल्याक ओकलगायतको बिक्री गरिरहेको छ। यिनै उत्पादनले कम्पनीलाई सबल बनाएको हो।  

व्यापार बढेसँगै कम्पनीले पहिलो त्रैमासिकमा ६२ करोड ६६ लाख रुपैयाँ अन्त:शुल्क राजस्व सरकारलाई बुझाएको छ। चालू आर्थिक वर्षको बजेटमा अन्त:शुल्कको दर १७ प्रतिशतले बढेको छ। 

कम्पनीको मूल्य आम्दानी अनुपात ६० गुणा छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँमा झरेको छ। जुन पोहोर २५५ रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ छ।

वित्तीय विवरणअनुसार बजारको राम्रो अवस्था नहुँदा पनि एचडीएलले त्रैमासिक आधारमा राम्रो गरिरहेको देखिएको छ। सेयरधनीलाई ३९४ प्रतिशत बोनस सेयर दिएर पनि कम्पनीले बजार प्रतिसेयर मूल्यभन्दा राम्रो आम्दानी गराएको छ। 

पछिल्लो ३ वर्षको प्रस्तुतिका आधारमा एचडीएल हालको अवस्थामा बजारमा धेरै खोजिने सेयरमा पर्छ। पछिल्लो वर्षको तुलनामा नेप्सेमा धेरै कारोबार हुनेमा एचडीएल १० कम्पनीभित्र पर्छ। 

एचडीएलले आफ्ना पुँजी र सञ्चिति कोषका माध्यमबाट सबै लगानी व्यवस्थापन गरिरहेको छ भने कम्पनीको अहिलेसम्म कुनै ऋण छैन। यसले पनि कम्पनीको वित्तीय सबलता उच्च देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .