कोटेश्वर चोक सुधार आयोजना अघि बढाउन अर्थ मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)बीच ऋण सम्झौता भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले निर्माण प्रक्रिया अघि बढाएको छ।
अनौपचारिक रुपमा कोटेश्वर चोक सुधार आयोजनाअन्तर्गत निर्माण प्रक्रिया सुरु भइसकेको सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुन अर्यालले जानकारी दिए।
कोटेश्वर चोक सुधार गर्न सरकार र दातृनिकायबीच ऋण सम्झौता भए पनि त्यससम्बन्धी औपचारिक जानकारी सडक विभागले हालसम्म प्राप्त गरेको छैन। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ऋण सम्झौतासम्बन्धी जानकारी विभागलाई उपलब्ध गराउनुपर्ने हुन्छ।
जाइकासँग भएको सो ऋण सम्झौताबारे अर्थ मन्त्रालयले विभागलाई औपचारिक पत्रमार्फत जानकारी नदिए पनि प्रेस विज्ञप्तिमार्फत बाहिर ल्याइसकेको छ। सम्झौतामा उल्लिखित प्रक्रिया पूरा गरेर ऋण कार्यान्वयन गर्नु भनेर अर्थ मन्त्रालयले आधिकारिक रुपमा पत्र पठाउनुपर्ने हुन्छ।
‘औपचारिक पत्र प्राप्त नभए पनि अनौपचारिक रुपमा तयारीका काम सुरु गरिसकेका छौँ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न परामर्शदाता छनोट गर्नुपर्ने हुन्छ। परामर्शदाता छनोट गर्न लागत अनुमान र डकमुेन्टमा काम गर्दै छौँ। सम्झौता कार्यान्वयन गर्ने पत्र प्राप्त भएपछि ऋण शर्तका आधारमा डकुमेन्ट तयार हुन्छ, त्यसपछि परामर्शदाता छनोटका लागि खरिद प्रक्रिया अघि बढ्छ’, उपमहानिर्देशक अर्यालले नेपालखबरसँग भने।
हाल डीपीआर तयार गर्ने परामर्शदाता छनोट गर्न प्रारम्भिक चरणको काम सुरु भइरहेको उनको भनाइ छ। भदौ २ गतेको मन्त्रिपरिषद्ले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३४ अर्ब ४९ करोड (करिब ३० अर्ब ८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको थियो।
कोटेश्वर चोक सुधार आयोजनाका लागि ३४ अर्ब ५९ करोड जापानी येन अर्थात् ३१ अर्ब ७६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने सहमति भइसकेको छ। गत मंसिर १७ गते अर्थ मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगबीच सम्झौता भएको हो। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।
काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमनले गर्दा कोटेश्वर तथा जडीबुटी खण्ड काठमाडौं उपत्यकाको सबैभन्दा बढी जाम हुने क्षेत्रमा पर्छ।
यस खण्डमा हुने जाम न्यूनीकरण गर्न जाइकाले सन् २०२४ जनवरीमा तयारी सर्वेक्षण प्रतिवेदन तयार गरेको थियो। यसअघि जाइकाले सन् २०१७ मा गरेको काठमाडौं उपत्यका सहरी यातायात सुधार आयोजनामा पनि कोटेश्वर तथा जडीबुटी खण्डको जाम व्यवस्थापनमा यथाशीघ्र प्रयास सुरु गर्नुपर्ने उल्लेख गरेको थियो।
जाइकाले कोटेश्वर चोकको जाम न्यूनीकरण गर्न ३ वटा वैकल्पिक प्रस्ताव गरेको छ। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रहेको जग्गामुनि सुरुङ खन्ने र फ्लाइओभरले जोड्ने उल्लेख छ।
तीनकुने सुरुङमार्ग जोड्न बागमती नदीदेखि शान्तिनगरसम्म फ्लाइओभर बन्छ। पेप्सीकोला मोडिने चोकमा जाम घटाउन मनोहरासम्म फ्लाइओभर हुने जाइकाको प्रतिवेदनमा उल्लेख छ। जडीबुटीबाट एयरपोर्टको जग्गामुनिबाट तीनकुने निस्किने ६०० मिटरको सुरुङ बन्छ। बीचमा सुरुङमार्ग बन्दा छेउमा फ्लाइओभर बनाउन जाइकाले सुझाव दिएको छ।
रिपोर्टअनुसार सन् २०२० देखि कोटेश्वर–तीनकुने खण्डमा ट्राफिक चाप बढेको पुष्टि भएको थियो। जसले गर्दा पनि चोक सुधार आवश्यक देखिएको हो। ट्राफिक जामले गर्दा प्रतिकूल सामाजिक र आर्थिक क्षति निम्त्याएको उल्लेख छ। फ्लाइओभरसहितको सुरुङमार्गको निर्माण लागत ३४ अर्ब रुपैयाँ बताइएको छ।
डीपीआर तयार नभएसम्म कोटेश्वर चोक सुधार आयोजनाको एकीन लागत अहिले नै भन्न नसकिने उपमहानिर्देशक अर्याल बताउँछन्। डीपीआरमा लागत, डीजाइनलगायत अन्य विषयहरू समेटिन्छ।
Shares

प्रतिक्रिया