अरनिको राजमार्गअन्तर्गतको कोदारी सडक खण्ड सञ्चालनमा आउन अझै कम्तीमा सात दिन लाग्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई दिनभित्र तातोपानी नाका जोड्ने सडक सञ्चालनमा ल्याउन निर्देशन दिएको भोलिपल्ट स्थलगत अनुगमनमा गएको सडक विभागका अधिकारीहरूको टोलीले यस्तो निष्कर्ष निकालेको हो।
विभागका महानिर्देशक डा. बिजय जैसीको नेतृत्वमा बिहीबार अनुगमन टोली कोदारी पुगेको थियो।
उक्त टोलीमा उपमहानिर्देशक तथा प्रवक्ता प्रभावकुमार झा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुई सुभराज न्यौपाने, विज्ञहरू मधुसूदन आचार्य र उदयराज न्यौपानेलगायत थिए।
कोदारी सडकखण्डको पाँच स्थान पहिरोले क्षतिग्रस्त भएको छ। पहिरो रोकथाम तथा मर्मत गरेर सञ्चालनमा ल्याउन कम्तीमा पनि सात दिन लाग्ने सडक विभागका प्रवक्ता प्रभातकुमार झाले नेपालखबरलाई जानकारी दिए।
‘कोदारी खण्डमा २५ मिटरदेखि २५० मिटरसम्मको पहिरो छ। साथै केही स्थानमा १० मिटरसम्म सडक भास्सिएका छन्’, झाले भने, ‘मौसमले साथ दिए सडक सञ्चालनमा ल्याउन कठिन हुँदैन।’

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ स्थित अरनिको राजमार्गअन्तर्गत कोदारी (इको)का लामो समयदेखि पहिरोको मारमा छ। यस क्षेत्रमा २०७३ सालदेखि पहिरोले नियमित रुपमा दुःख दिँदै आइरहेको छ। पहिरोमाथि बस्ती पनि छ। यसले बस्ती नै पहिरोको जोखिममा छ।
पछिल्लो पटक साउन १७ गतेको पहिरोले सडक कटान गर्दा नियमित रुपमा सवारीसाधन सञ्चालन हुनसकेको छैन।
बस्तीलाई जोखिम नहुने गरी पहिरो रोकथाम गरेर सवारी सञ्चालनमा ल्याउनुपर्ने वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठ बताउँछन्।
‘पहिरोको माथि ८०/९० घरधूरी छन्, राजमार्ग भएकाले सवारी साञ्चालन गर्न पहिरो व्यवस्थापन गर्नुपर्ने हुन्छ’, श्रेष्ठले भने, ‘माथिको बस्ती जोगाउने गरी निर्माण कार्य गर्नुपर्छ।’
साथै कोदारी क्षेत्रको पहिरो रोकथामका साथै सडक निर्माण गर्न वडा अध्यक्ष कुमार श्रेष्ठ र पीडित गाउँलेका तर्फबाट साङगे लामाको टोलीले बुधबार मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएको थियो।
उक्त टोलीको ज्ञापनपत्र बुझेलगत्तै भौतिकमन्त्री घिसिङले महानिर्देशक डा. जैसीलाई आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी दुई दिनभित्र सडक खुलाउन निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि सडक विभागको टोली विज्ञसहित कोदारी पुगेको हो।

उक्त टोलीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको उपस्थितिमा स्थानीयसँग छलफल पनि गरेको छ।
पहिरोले सडक अवरुद्ध हुँदा विभागले सडक खोल्ने प्रयास गर्दा स्थानीयहरूको विरोधका कारण निर्माणकार्य अघि बढ्नसकेको थिए।
पहिरो व्यवस्थापनको कार्यमा सडक विभागका कर्मचारीहरूलाई सहयोग गर्ने स्थानीयले प्रतिबद्धता जनाएको सुई न्यौपानेले जानकारी दिए।
‘आज (बिहीबार) पहिरो नियन्त्रणका केही कार्यको थालनी भएको छ’, न्यौपानेले भने, ‘भोलि (शुक्रबार)देखि सडक खुलाउन द्रुत गतिमा काम हुनेछ।’
उक्त क्षेत्रमा थप पहिरो खस्न नदिन सडक विभागले पानी व्यवस्थापनका लागि पूरै पहिरोलाई प्लास्टिकले ढाँकेको छ।
पहिरो रोकथामका लागि ग्याबिन कार्यसँगै होराइजन्टल ड्रिलिङ सुरु गरिसकेको विभागले जानकारी दिएको छ।
यस क्षेत्रको पहिरोको विस्तृत अध्ययन गरी दीर्घकालीन समाधान खोज्न चीन सरकारको सहयोगमा प्रारम्भिक अध्ययन पनि गरिएको थियो।
चिनियाँ पक्षले पहिरोबाट बच्न सुरुङ र अर्को विकल्पको रुपमा पहिरो रोकथामका उपायहरू अवलम्बन गर्न सुझाएको थियो।
आर्थिक र निर्माण समय धेरै पर्ने भएकाले सुरुङ मार्ग निर्माण गर्ने पक्षमा विभाग छैन। पहिरो नियन्त्रणका उपायहरू अवलम्बन गरी सडक सञ्चालन गर्ने योजनाका साथ अघि बढिरहेको विभागको भनाइ छ।
Shares

प्रतिक्रिया