कारोबार


उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारणलाइन धमाधम

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारणलाइन धमाधम

फाइल तस्बिर


रासस
बैशाख १५, २०८२ सोमबार ११:५०, मुस्ताङ

हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रसारणलाइन विस्तार  तीव्रगतिमा अघि बढेको छ।

नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रसारणलाइन सञ्चालनमा छ।

नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ –२ कोवाङसम्म केन्द्रीय प्रसारणलाइनअन्तर्गत ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको पहुँच पुर्‍याएको छ। यसलाई जिल्लाभरि नै केन्द्रीय प्रशारण लाइनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको योजना अघि बढाएको हो।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापपदण्डअनुसार एक सब स्टेशनबाट अर्को विद्युत् सबस्टेसनसम्म विद्युत् प्रसारण गर्नका लागि ५० किलोमिटर भन्दामाथि जानुहुँदैन। तर मुस्ताङको कोवाङदेखि कोरलानाकासम्म करिब एक सय ५० किलोमिटर दूरीमा सिधै ११ केभीको विद्युत् प्रसारणलाइन सञ्चालनमा छ। 

यसैका कारण मुस्ताङ जिल्लामा पटक-पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती हुने अवस्था विद्यमान छ। हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको विद्युत् प्रसारणलाइन सिधै ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्या झेल्दै आइरहेका छन्। हालको ११ केभी विद्युत् लाइनको सेवाले कुनै एक स्थानमा विद्युत् समस्या आइपर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने बाध्यकारी अवस्था छ।

मुस्ताङ जिल्लाको विद्युत् प्रसारणलाइनलाई दीगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रसारणलाइनको ठेक्का लगाएको हो। मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुई सेसनमा सब स्टेसन निर्माण गरेर ३३ केभी ट्रान्समिसन प्रसारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग रु २७ करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि इञ्जिनियर दीपककुमार मण्डलले बताए। 

प्राधिकरणले हालको ११ केभी प्रसारणलाइनलाई पूरै विस्थापित गर्ने गरी ३३ केभी नयाँ ट्रान्समिसन प्रसारणलाइनको काम अघि बढाएको जेभीका प्रतिनिधि इञ्जिनियर मण्डलको भनाइ छ। मुस्ताङमा ३३ केभी ट्रान्समिसन प्रसारणलाइन विस्तार दुई वर्षको ठेक्का सम्झौताअनुसार सन् २०२५ को जुलाईसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ। प्राधिकरणसँगको ठेक्कापछि प्याराडाइज हुलास जेकेबी जेभीले ३३ केभी ट्रान्समिसन प्रसारणलाइन विस्तार गर्न विद्युत् पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पिसिसी  खन्ने कामसँगै विद्युत् पोल विस्तारक ९५ प्रतिशत काम सम्पन्न गरेको जेभी इञ्जिनियर मण्डलले उल्लेख गरे। 

३३ केभी ट्रान्समिसन प्रसारणलाइन अबको छ महिनाभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रसारणलाइनको तार तान्ने काम तीव्रगतिमा काम भइरहेको जनाइएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दुरीमा  ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको तार तान्ने काम सकिएको प्याराडाइज हुलास जेकेबीले जनाएको छ।

“अहिले जोमसोम र ठिनीलगायतका दुई/तीन स्थानमा विद्युत् तार तान्ने काम भइरहेको छ”, इञ्जिनियर मण्डलले भने, “उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ पनि अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौँं।”

मुस्ताङको चराङसम्म ३३ केभी ट्रान्समिसन प्रसारणलाइनको काम सकिएलगत्तै विद्युत् प्रसारणको परीक्षणस्वरुप लाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ।

यसैगरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रसारणलाइन विस्तारका लागि मुस्ताङको वारागसङ मुक्तिक्षेत्र–३ चैले र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ चराङमा गरी दुई वटा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का आह्वान एक वर्षअघि नै गरिसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए।

मुस्ताङको चैले र चराङमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सबस्टेशन निर्माणका लागि आवश्यक जग्गाकोसमेत व्यवस्थापन भइसकेको अध्यक्ष विष्टले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad