कारोबार


चिनियाँ पक्षले ढिलाइ गरेपछि तात्यो सडक विभाग, थाल्यो वसुन्धरा–वनस्थली खण्डमा नयाँ कालोपत्रे

दुवैतर्फ ३-३ मिटर सडक पिच गर्न साढे ४ करोडको ठेक्का
चिनियाँ पक्षले ढिलाइ गरेपछि तात्यो सडक विभाग, थाल्यो वसुन्धरा–वनस्थली खण्डमा नयाँ कालोपत्रे

वसन्त अर्याल
फागुन १५, २०८१ बिहिबार ९:४१, काठमाडौँ

चिनियाँ पक्षले चक्रपथ विस्तार दोस्रो खण्डको काममा ढिलाइ गरेपछि सडक विभाग आफैँले सडक फराकिलो पार्न थालेको छ।

वसुन्धरादेखि वनस्थलीसम्म दुवैतर्फ ३–३ मिटर नयाँ कलोपत्रे गर्न लागेको हो। 

कलंकीदेखि चाबहिलसम्म चिनियाँ अनुदानमा दोस्रो चरणको विस्तार गर्ने सम्झौता भएको थियो। करिब ६ वर्ष अघिबाटै सडक छेउका रुखसहितका संरचना हटाउन थाले पनि अहिलेसम्म चिनियाँले सडकको डिजाइन नै तयार गरेका छैनन्। 

चिनियाँ पक्षले प्रिलिमिनरी (प्रारम्भिक) डिजाइन नेपाली पक्षलाई पठाए पनि विस्तृत परियोजना प्रतिवेदन (सडकको पूर्ण डिजाइनसहित) नै नेपाललाई बुझाएको छैन। नारायणगोपाल चोकमा धेरै घर भत्काउनुपर्ने भएकाले कलंकीदेखि वसुन्धरासम्म बनाउने सहमति भएको थियो।

तर पनि लामो समय विभिन्न बहानामा काम हुन सकेन।  

काठमाडौं चक्रपथ सडक विस्तार योजनाले ठेक्का लगाएरै काम गरिरहेको छ। 

‘चिनियाँ पक्षले डिजाइनको काम नै नसकाएकाले फिल्डमा आएर काम गर्न अझै धेरै वर्ष लाग्ने देखिन्छ’, योजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘डिजाइन आएर निर्माण सक्न कम्तीमा ३–४ वर्ष लाग्ने देखिन्छ। त्यो बेलासम्म थेग्नको लागि काम सुरु गरिएको छ।’

चक्रपथमा धूलो पनि धेरै भएको र मर्मत पनि गर्नुपर्ने भएकाले छेउमा केही बढाउँदा धूलो कम हुने विभागको आकलन छ। 

‘अहिले कालोपत्रे भएको सडक छेउछाउमा बिग्रियो। धूलो बढी भयो भनेर कालोपत्रे गर्न थालेका हौँ’, ओझाले भने, ‘वसुन्धरादेखि वनस्थलीसम्म सडकको दुवैतर्फ ३–३ मिटर कालोपत्रे हुन्छ।’

३ मिटर कालोपत्रे थप गर्दा दुवैतर्फ १–१ लेन जति थप हुन्छ। अब करिब ४ लेनसरह हुनेछ। छेउमा सडक थप गर्नेसँगै बीचमा भएका खाल्डाखुल्डी पनि टालिनेछ।

‘करिब साढे ४ करोड रुपैयाँको ठेक्का लगाइएको छ’, उनले भने, ‘पहिले पनि पिच भएको केही ठाउँ बिग्रिएको र धूलो बढेकाले चैतसम्म कालोपत्रे सक्याउने योजना छ।’

यता काठमाडौं कलंकीदेखि वसुन्धरासम्म ८ लेनमा विस्तार गर्न चक्रपथ सडकको विस्तृत परियोजना प्रतिवेदन बनाइरहेको चिनियाँ पक्षले जानकारी दिएको छ।

गत भदौमा अर्थ मन्त्रालयमा चक्रपथ विस्तारको लागि सहमतिपत्र (एलओसी) हस्ताक्षर भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एलओसीमा हस्ताक्षरसँगै चिनियाँले सडकको डिजाइन गर्न  डीपीआरको काम अघि बढाउने जानकारी दिएको थियो। 

चिनियाँ अनुदानमा कोटेश्वरदेखि कंलकीसम्म सडक विस्तार भइसकेको छ। त्योसँगै दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म विस्तार गर्ने समझदारी भएको थियो। 

केही वर्षअघि सडक विभागले चक्रपथको ओभर ले गर्दा सरकारी रकम दुरुपयोग गरेको भन्दै आलोचना भएको थियो। तर चिनियाँहरुले प्रतिबद्धताअनुसार समयमै काम नगर्दा थप कालोपत्रे गर्नुपर्ने बाध्यता छ। 

‘धेरै धूलो उडेको कारण स्थानीय र यात्रुलाई धेरै अप्ठ्यारो भएकाले थप केही सडक बढाउँदा कम हुने अनुमान छ’, ओझाले भने। 

सडक विस्तारका लागि २०७६ कात्तिकमा नै रुख कटान भए पनि चिनियाँ पक्षले विभिन्न बहाना देखाउँदै काम सुरु गरेको छैन। सरकारले सडक छेउका पोल, अस्थायी संरचना हटाए पनि कोभिडलगायत कारण देखाएपछि प्रक्रिया नै अघि बढेन। 

नेपाल सरकारले सडकका दुवैपट्टि सर्भिस लेन बनाइसकेको छ। सडक निर्माण गर्न अब कुनै अवरोध छैन। 

लामो समय चक्रपथ विस्तार नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। पानी पर्दा हिलो र घाम लाग्नेबित्तिकै धूलो उड्दा यात्रुसँगै स्थानीयले समस्या भोग्दै आएका छन्। 

काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए। सडक नबनाएको गाली खाएसँगै उक्त खण्ड सडक विभागको पर्ने बोर्ड नै राखिदिएका थिए। 

चक्रपथ विस्तार गर्दा स्वयम्भू क्षेत्रमा अहिलेका संरचनालाई यथावत् राखी सडक विस्तार गर्ने योजना छ। हालसम्मको समझदारीमा ८ लेनको सडकको बीचमा ग्रिनरी, चोकमा अन्डरपास वा ओभरपास, आकाशे पुलसहितको सडक डिजाइन बनाउने समझदारी भएको छ। 

कुन ठाउँमा ओभरपास, अन्डरपास, आकाशे पुस बनाउने भन्ने विषय डिजाइनसँगै टुंगिनेछ। 

चीनले कोटेश्वर–कलंकीको १० किमि सडक २०७५ मा सरकारलाई हस्तान्तरण गरेको थियो। धेरै ठाउँमा आकाशे पुल नहुँदा नेपाल सरकारले निर्माण गरिरहेको छ। ग्वार्को चोकमा बढी ट्राफिक भएपछि ओभरपास निर्माणाधीन छ। 

निर्माण कम्पनीलाई चैतसम्म सकाउने समय दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad