राजनीति


नेपाल–भारतबीच साझा अवसरको लाभ लिन आवश्यक : राजकिशोर यादव

नेपाल–भारतबीच साझा अवसरको लाभ लिन आवश्यक : राजकिशोर यादव

नेपालखबर
फागुन १४, २०८१ बुधबार १८:९, काठमाडौँ

प्रतिनिधिसभाअन्तरगतको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताएका छन्।

भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।

‘नेपाल र भारतबीच शताब्दीयौँदेखि सभ्यतागत सम्बन्ध छ। जसलाई साझा इतिहास, परम्परा, धर्म, विश्वास, र जनस्तरको सम्बन्धले परिभाषित गर्छ। यी साझा विशेषताहरूले हामीलाई इतिहास र संस्कृतिसँग जोडिएका अवसरलाई मूर्तरूप दिन मात्र होइन, द्विपक्षीयसम्बन्ध सुदृढ पार्दै क्षेत्रीय सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने अवसर प्रदान गर्छ’, सभापति यादवले भने।

उनले नेपाल–भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न बौद्ध, रामायण र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन मार्गहरूको प्रवद्र्धन गर्नुपर्ने बताए। दुई देशबीच भौतिक र डिजिटल सम्पर्कमा विस्तार, आर्थिक र क्षेत्रीय सहकार्यलगायत विषयमा आफ्नो धारणा  पूर्वमन्त्री यादवले दक्षिण एसियामा साझा समृद्धि र शान्तिका लागि नेपाल–भारतको सहकार्यलाई थप बलियो बनाउन आह्वानसमेत गरे।

बोधगया र लुम्बिनीलाई जोडेर बौद्ध सर्किट बनाउने, अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किट विस्तार गर्ने तथा पाण्डवहरूसँग सम्बन्धित स्थानलाई समेटेर महाभारत सर्किट प्रवद्र्धन गर्ने योजनालाई मूर्त रूप दिइनुपर्ने उनको भनाइ छ। त्यस्तै, सीमापार रेल, सडक, पेट्रोलियम पाइपलाइन र ऊर्जा प्रसारणलाइनजस्ता पूर्वाधार परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने पनि सभापति यादवको भनाइ छ।

नेपाल–भारतबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य तथा अन्तरआवद्धताको विषय पनि उनले उठाए। त्यस्तै, भारतबाट नेपालमा जलविद्युत्, उद्योग, र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै उनले त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकार्यको ढोका खोलेको बताए।

‘यी साझा अवसरको लाभ लिन दुवै देशले पर्याप्त प्रयास गर्न आवश्यक छ। यी पहललाई व्यावहारिक रूपमा सफल बनाउन प्रतिबद्धता चाहिन्छ’, उनले भने, ‘भौतिक र डिजिटल सम्पर्क हाम्रो सहकार्यको प्रमुख आधार हुनुपर्छ, किनभने तिनिहरू आर्थिक वृद्धि, सामाजिक प्रगति, र क्षेत्रीय स्थिरताका लागि महत्त्वपूर्ण छन्।’

सार्क, विमस्टेक, बिबिआइएनजस्ता क्षेत्रीय मञ्चहरूको प्रभावकारी प्रयोग गर्दै नेपाल–भारत सम्बन्धलाई मात्र नभइ सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई समृद्ध बनाउने दिशामा काम गर्न उनले आग्रह गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad