बुटवल–गोरुसिंगे सडक विस्तारको शिलान्यास भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बजार क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनको सडक निर्माणको शिलान्यास गरेका हुन्।
सडक विभागले बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर गरी सडक निमार्णको प्रक्रिया अघि बढेको छ।
बुटवलदेखि गोरुसिंगेसम्मको ५० किमि सडक २ वटा प्याकेजमा ठेक्का लगाइसकेको छ। गोरुसिंगेसम्मको काम सुरु भएसँगै चन्द्रौटासम्म ठेक्का लगाउने तयारी छ।
बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजनाका अनुसार चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का पाएको छ। १३ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का लागेको हो।
नारायणगढ बुटवल खण्ड एसियाली विकास बैंको ऋण साहायतामा निर्माण भैरहेको छ भने गोरुसिंगे खण्ड विश्व बैंकको ऋण लगानीमा विस्तार हुनलागेको हो।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो।
५० किमि सडकमध्ये ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको ६ लेनमा निर्माण हुनेछ। जङ्गल क्षेत्र पर्ने सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गेसम्म करिब २० किलोमिटर छ। सर्भिस लेनविनाका अर्थात् ४ लेनको सडक हुनेछ।
आयोजनाका अनुसार ४ लेनका सडक ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ।
निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ।
नारायणगढ बुटवलको पाठ सिकेर गरुसिंगेसम्म सडक विस्तारको दाबी
६ वर्षदेखि विस्तार भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा मर्मत र विस्तार नसकिँदै अब बुटवलबाट गोरुसिंगेसम्म फेरि यही सास्ती खेप्नुपर्ने चिन्ता बढेको छ।
यात्रु आवागमनलाई सहजताकोलागि सडक विस्तार गर्नुपर्नेमा सरकारले उचित व्यवस्थापन र पूर्व तयारी विनै सडक खन्दा दैनिक हजारौं यात्रु र ढुवानीका साधनले दुख भोग्नु परेको छ।
सरकारले नारायणगढ–बुटवल सडक खण्डबाट पाठ सिकेर गोरुसिंगेसम्मको सडक विस्तार गर्ने दाबी गरेको छ।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले सुरुमा पुरानो सडकलाई नभत्काई छेउबाट काम सुरु गर्छ। डेडिकेटेड ४ लेनको सडक विस्तारमा मुख्य जक्सनमा अन्डरपास र ओभरहेड ब्रिज निर्माण गर्ने डिजाइन तयार भएको जनाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बुटवल–गोरुसिंगे जाने सडकको सिलन्यास भैसकेको बताउँदै बुटवल देखी गोरुसिंगेको ५० किलोमिटर सडक सबवे, अन्डरपास सहित निर्माण हुने बताए।
बुटवल गोरुसिंगे सडक विस्तारगर्दा स्थानिय भने खुसी हुन सकेका छैनन्। अर्थमन्त्री पौडेलले यात्रुलाई कष्ट नहुनेगरी भौतिक पूर्वाधार मन्त्रालयले काम गर्ने विश्वास व्यक्त गरे।
‘बाटो विस्तार हुँदै छ भन्दा धेरैले फेरी बाटो भत्किने भयो, फेरि धूलो उड्ने भयो, हाम्रो बेहाल हुने भयो भन्नुभएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘बुटवल–गैँडाकोटको जस्तै हुने गुनासो आएको छ। घटना उस्तै दोहोरिँदैन, गोरुसिंगेमा दोहोरिँदैन।’
पहिला कल्भर्ट, पुल, सर्भिसलेन निर्माण भएपछि मात्रै पिचरोड भत्काएर पुनः निर्माणको काम हुने दाबी गरे। सुरुमा पिच भत्काएर लथालिंग बनाउन हुँदैन भन्ने पाठ सिकेर अघि बढेको बताए।
‘बुटवल–गोरुसिंगे सडक निर्माण गर्दा धेरैलाई डर लागेको छ’, अर्थमन्त्री पौडेल भन्छन्, ‘बुटवल–नारायणगढ सडकजस्तो नियति भोग्नुपर्दैन। छेउछाउमा सडक निर्माण भएर मात्रै बीचको कालोपत्रे निकालिन्छ।’
निर्धारित समय नलम्बियोस्, लागत नबढोस् गुणस्तरीय काम हुनुपर्नेमा जोड दिइएको उनले बताए।
‘आयोजना निर्माण हुँदा राइट अफ वे नहुँदा समस्या हुन्छ। बुटवल–गोरुसिंगेमा कुनै समस्या छैन’, मन्त्री पौडेलले भने, ‘स्थानीय तहले निर्माण सामग्रीमा रोक्नुहुँदैन। पालिकाले राजस्व लिएर निर्माण सामग्रीमा सहज बनाउनुपर्छ।’
बुटवल–नारायणगढ सडकमा रुख कटानका समस्या, विद्युतीय पोलका समस्या, निर्माण सामग्रीले समस्या नदोहोरिने पौडेलले दाबी गरे।
Shares

प्रतिक्रिया