ad ad

कारोबार


बजेटको अघिल्लो दिन अर्थ छिरेका महासेठले घुसाए झण्डै ३० अर्बका योजना, धनुषामा मात्रै ४४ पुल

बजेटको अघिल्लो दिन अर्थ छिरेका महासेठले घुसाए झण्डै ३० अर्बका योजना, धनुषामा मात्रै ४४ पुल

नेपालखबर
असार ६, २०८१ बिहिबार २०:२५, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबैभन्दा बढी योजना स्थानीय पुलमा राखेको छ।

मन्त्रालयले ५ लाखदेखि १ करोड ६० लाखसम्मका ६५५ वटा स्थानीय पुलमा बजेट विनियोजन गरेको हो। 

बजेटअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले संघीय सरकारले ३ करोडभन्दा कमको बजेट विनियोजन नगर्ने निर्णय गरेको थियो। तर त्यसको ठीक विपरीत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थानीय सडकमा पुलको नाममै ६५५ वटा योजना राखेको छ।

मन्त्रालयले पुस्तिकामा योजना छापे पनि काम हुने अवस्था छैन। अधिकांश पुलको लागि ५ लाख रुपैयाँ छुट्याएको छ। यसले पुलको जग निर्माण गर्नसमेत पुग्दैन। राष्ट्रिय राजमार्ग मात्रै हेर्ने जिम्मा रहेको सरकारले गाउँपालिका र नगरपालिकाले निर्माण गर्ने सडक तथा पुलसम्बन्धी योजनामा बजेट छुट्याएका कारण अहिले सबैतिरबाट आलोचना भइरहेको छ। 

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै स्थानीय पुल (राजमार्गका पुलबाहेक)लाई कुल ३ अर्ब ५५ करोड रुपैयाँ छुट्याएको छ। साना पुलका योजना सबैभन्दा बढी मन्त्री महासेठको धनुषाका साथै अन्य शक्तिशाली नेताका निर्वाचन क्षेत्र रहेका गोरखा, चितवन र झापाका छन्। 

मन्त्री महासेठले बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन नै अर्थ मन्त्रालयमा पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि करिब ३० अर्ब रुपैयाँ बजेट थप गरेका थिए। उनले केही बजेट चालू आयोजनामा लगाएका छन् भने आफ्ना क्षेत्रमा टुक्रे योजना घुसाएका छन्। 

जुली कुमारी महतो

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा विजयी भएका थिए। उनकी पत्नी जुलीकुमारी महतो धनुषाकै क्षेत्र नम्बर ३ बाट विजयी भएकी एमाले सांसद हुन्। मन्त्री महासेठले पति र पत्नी दुवैका निर्वाचन क्षेत्रमा धेरै पुलका योजना पारेका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव शिवप्रसाद नेपाल १ मिटर पुल बनाउन १५ देखि २० लाख लाग्ने बताउँछन्। 

‘सामान्यतः छोटा पुल पनि २० मिटरसम्मका बनाइन्छ। २० मिटरको पुल बनाउन ३ करोड हाराहारी बजेट चाहिन्छ,’ करिब ३ दशक मन्त्रालय र सडक विभागमा बिताएका नेपाल भन्छन्, ‘५ लाखमा त कुनै पुल बन्दैन। आफ्ना क्षेत्रमा योजना देखाएको मात्रै हुन सक्छ।’

छुट्याइएको ५ लाखले माटो परीक्षण मात्रै हुन सक्ने नेपालको भनाइ छ।

‘संघले डिजाइन गरेर प्रदेश र स्थानीय तहमा पठाउने भए त ठीकै हो,’ नेपाल भन्छन्, ‘यस्ता टुक्रे योजनाले संघीयताको मोडालिटी नै फेल हुन्छ।’

धनुषामा मात्रै ४४ वटा पुल 
मन्त्री महासेठले आफ्नो गृह जिल्ला धनुषामा मात्रै ४४ वटा पुलका योजनामा बजेट राखेका छन्। धनुषामा मात्रै २८ करोड ७३ लाख रुपैयाँ स्थानीय सडक पूर्वाधार निर्माण गर्न बजेट छुट्याएका छन्। धनुषाका पुलको बजेट बढी भए पनि अरू जिल्लामा अधिकांश पुलको बजेट ५ लाख रुपैयाँ छ।   

भौतिक पूर्वाधार मन्त्रालयको विकास कार्यक्रमअनुसार धनुषाको जलाद खोलामा पक्की पुल निर्माण गर्न महासेठले १ करोड छुट्याउन लगाएका छन्। कुकुरधरी नदीमा पुल निर्माण गर्न २३ लाख बजेट विनियोजन गरिएको छ।  

धनुषाकै मुखियापट्टी मुसरनिया गाउँपालिकाको बैरिया बजार जाने बाटोमा कबरियाघाटमा पुल निर्माण गर्न २५ लाख विनियोजन गरिएको छ। मुखियापट्टी मुसर नियामा सिमरा नदीमा पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माण गर्न २५ लाख छुट्याइएको छ।

मुखियापट्टी २ देखि खतबैया ४ जाने पुल निर्माण गर्न २५ लाख, हरिहरपुर नगरपालिका २ जोड्ने औहरी खोला पुल निर्माणको लागि १ करोड विनियोजन भएको छ। 

धनुषाकै बसही खोला पुल नक्टाजिज वडा नम्बर २ र ३ बटेश्वर जोड्न १ करोड छुट्याइएको छ। 

मधुवासा लालभिट्टी जोड्ने जल्लाद नदी पुलमा १ करोड, बसाही खोला पुल बटेश्वर जोड्ने १ करोड, बटेश्वर सुनारटोलको गिगिही नदी पुल १ करोड, मोतिखोला पुलमा १ करोड, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका जोड्ने सौतेनी खोला पुल १ करोड छुट्याइएको छ। 

खाम्बासिंह टोल मिथिला नगरपालिका ९ र भुचुक्रपुर वडा नं १ जोड्ने बडहरी खोला पुल १ करोड, अमारी नदी पुल मैलमा २५ लाख, सिर्सिया–अगलेसवा सडकअन्तगर्त हर्दिनाथ पुल १ करोड ६० लाख, भारत सीमादेखि धनुषाधाम जोड्ने सडकमा जमुनी नदी पुल २५ लाख, बिगदी नदी पुल मुखियापत्ति मसुरनिया सडकलाई १ करोड २० लाख विनियोजन गरिएको छ। 

त्यसैगरी सबैला नगरपालिको सबैला बजार पुल धनुषामा ८० लाख, औरहा–चन्द्रपुर सडकअन्तर्गत जलाख खोलाको पुलमा १ करोड २० लाख, चारनाथ उछाल खोला सबैला १० ब्ररमस्थान गेरुवाही मल्टि सेवा बक्स कल्वर्टको लागि ३० लाख विनियोजन गरिएको छ। 

बनहरी पुल तुल्सियाही निकास गाविस वडा नं १ र २ लाई जोड्ने पुल ६० लाख, दुधमती पुल धाता टोल जनकपुर उपमहानगरपालिका १४ र २१ जोड्ने पुललाई २५ लाख, लोहना बहुवर्वा जल्लाद नदीमा पुल निर्माण गर्न १ करोड रुपैयाँ छुट्याइएको छ। 

नगराइन नगरपालिका ६ जमुनी नदीमा लग्मा र महादेवपट्टी जोड्ने पुल निर्माणमा १ करोड, मल्टिसेल बक्स कल्वर्ट बसैला १० मा १ करोड, जलाद नदी पुल बघचौरा र कटरैत बीचमा दक्षिणबारी टोलमा बन्ने पुललाई ५० लाख छुट्याइएको छ। 

धनुषा शहिदनगर यदुकोहा वडा नम्बर काजी नदीको पुलमा ५० लाख, जमुनी नदी पुल, थल्हिघाटमा १५ लाख, दुधमती नदी पुलमा ४० लाख छुट्याइएको छ। 

कल्भर्ट बनिगम लक्ष्मीपुर निकाल सडक ८० लाख, अंकुसी खोला पुल ५० लाख, मरहा खोला पुल ८० लाख, बेलौती नदी पुल ३० लाख, कटनी नदी पुल मिथिलेश्वर तारापट्टी चोकदेखि ललिया जानेबाटोमा ८० लाख विनियोजन गरिएको छ। 

कटनी नदी पुल मिथिलेश्वर तारापट्टी चोकदेखि ललिया जानेबाटमोमा ८० लाख, जलान नदीमै दिगम्बर र हिरहरपुरबीचमा ३० लाख, देउपुरा निमचौक बहुअर्वा सडकमा २५ लाख, मुखिया पट्टी मुसर्निया सोहरघाट बीचमा पर्ने धनुषामा १० लाख रुपैयाँ विनियोजन भएको छ। 

डुमरिया नदीको खुहवी हरुसाह पुल २० लाख, बलवा नदीको खरिहनी गरुवासीमा ८० लाख, डुपरिया खोलाको औहरी जोगिमारामा १० लाख, विगी नदी पुल मुसरनिया बरमपुरी सडकको लागि १ करोड राखिएको छ। 

कचुरीदेखि नयाँ टोल कटरैत नदीमा नयाँ पुल निर्माणलाई १० लाख, बटेश्वर ४ बाट सीतापुर जाने बिग्ही खोला पुल निर्माण गर्न २५ लाख छुट्याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .