कारोबार


‘पुराना दलले चरम नीतिगत अस्थिरता सिर्जना गरे’, अर्थमन्त्रीले भने– त्यसैले अर्थतन्त्र अनुत्पादक चक्रमा फस्यो

‘पुराना दलले चरम नीतिगत अस्थिरता सिर्जना गरे’, अर्थमन्त्रीले भने– त्यसैले अर्थतन्त्र अनुत्पादक चक्रमा फस्यो

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १६:४३, काठमाडौँ

अर्थमन्त्री स्वर्णिम वाग्लेले पुराना दलहरुले चरम नीतिगत अस्थिरता सिर्जना गरेर अर्थमन्त्रलाई अनुत्पादक चक्रमा फसाएको बताएका छन्। 

अर्थमन्त्रीको पद बहाली गर्दा गरेको निर्णय अनुसार आज सार्वजनिक गरेको अर्थतन्त्रको स्थिति पत्र (श्वेत पत्र)को भूमिकामा अर्थमन्त्रीले लेखेका छन्, ‘निजी सम्पत्तिको सुरक्षा, करार कार्यान्वयन र नियामकीय स्थिरता सुनिश्चित गर्न राज्य असफल हुँदा लगानी आकर्षित हुन सकेन र अर्थतन्त्र अनुत्पादक चक्रमा फस्यो।’

पुराना दलहरुले राज्य र बजारको भूमिकाबारे गहिरो वैचारिक अन्योल कायम राखेको उनले बताएका छन्। ‘कहिले सर्वशक्तिमान राज्यको भ्रम, कहिले बजारप्रति अति विश्वास– यी दुई चरमबीच नीतिगत अस्थिरता देखियो,’ वाग्लेले भनेका छन्। 

बजारलाई स्वनियमित मान्ने दृष्टिकोणका कारण प्रतिस्पर्धा नीति, उपभोक्ता संरक्षण, पर्यावरणीय नियमन र सामाजिक सुरक्षाजस्ता आवश्यक संस्थागत संरचनाहरू सुदृढ हुन नसकेको उनले उल्लेख गरेका छन्। 

‘निजी क्षेत्रप्रति अविश्वास र वितरणमुखी अतिवादले उत्पादन, लगानी र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राख्न सकेन। परिणामतः न त बजार गतिशील बन्यो, न त राज्य संरचना उत्तरदायी बन्न सक्यो,’ स्थिति पत्रमा उनले भनेका छन्, ‘सक्षम, नियममा आधारित र पूर्वानुमेय वातावरणको अभावमा निजी क्षेत्रले सुरक्षित र विश्वसनीय आधार पाउन सकेन।’ 

नेपालको अर्थ राजनीतिक संकटको जरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको उनले बताएका छन्। ‘महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोझिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन, पेशा र लगानीको माध्यममा रूपान्तरण गरेको थियो। फलस्वरूप नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवाद फस्टायो,’ वाग्लेले श्वेतपत्रको भूमिकामा लेखेका छन्।  

उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्तनमार्फत आर्थिक वृद्धि हुनुको सट्टा, लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा राज्य–बजार सम्बन्धको विशेषता बन्न पुगेको र यसले सक्षम उद्यमी र नयाँ प्रवेशकर्तालाई निरुत्साहित गर्दै अर्थतन्त्रलाई मूल्य सिर्जना भन्दा पहुँच–आधारित संरचनातर्फ उन्मुख गराएको टिप्पणी वाग्लेको छ। 

दीर्घकालीन वित्तीय दायित्वको यथार्थस मूल्यांकन नगरी ामाजिक सुरक्षा तथा वितरणमुखी कार्यक्रमहरू विस्तार गर्दा अन्तर–पुस्ता समतामा चुनौती थपिएको उनको भनाइ छ। जनसांख्यिक लाभांशको प्रभावकारी उपयोग हुन नसक्दा वैदेशिक रोजगारी, रेमिट्यान्स निर्भरता र सीमित घरेलु रोजगारी सिर्जना नै अर्थतन्त्रको चरित्र बनेको उनले बताएका छन्। 

उनले उल्लेख गरेका छन्, ‘विकासलाई खर्च केन्द्रित दृष्टिकोणबाट हेर्ने प्रवृत्तिका कारण के, कसका लागि र कसरी विकास? भन्ने आधारभूत प्रश्नहरूमा पर्याप्त स्पष्टता र जवाफदेहिता स्थापित हुन सकेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad