कारोबार


नेप्सेको प्रस्तावमा धितोपत्र बोर्डले छेडखानी गर्दा लगानीकर्तालाई रित्तो हात

सेयरबजारमा देखिएन नयाँ विनियमावलीको प्रभाव, संशोधनमै आशंका
नेप्सेको प्रस्तावमा धितोपत्र बोर्डले छेडखानी गर्दा लगानीकर्तालाई रित्तो हात

उद्धव थापा
बैशाख ११, २०८३ शुक्रबार १९:२५, काठमाडौँ

साताको अन्तिम कारोबार दिनको पनि अन्तिम समयमा मात्रै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सकारात्मक भएर शुक्रबार सेयरबजार बन्द भएको छ। 

साताको पहिलो कारोबार दिनदेखि नै घटिरहेको नेप्से शुक्रबार कारोबार अवधिभर नकारात्मक रहे पनि अन्तिम समयमा भने सामान्य अंक सकारात्मक भएर बन्द भयो। यस दिन नेप्से १.५४ अंक बढेर २७८८.७० विन्दुमा पुगेको छ भने फ्लोट इन्डेक्स ०.०६ अंक बढेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स अंक ०.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंक घटेको छ।

यो साता सेयरबजारमा नेपाल स्टक एक्सचेन्जले संशोधन गरेको नयाँ विनियमावली लागू भएको थियो। गत सोमबारदेखि लागू भएको उक्त विनियमावलीले नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्य एक दिनमा अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था गरेको छ।

संशोधित विनियमावली लागू भएपछि बजार बढ्ने कतिपयको अनुमान थियो। तर, साताभर बजार बढ्न सकेन। 

संशोधित नियमावलीको विनियम १७ उपविनियम (२) मा भनिएको छ, ‘कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा १५ प्रतिशतभन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुनेछैन।’

अहिले प्रिओपनिङमा कुनै पनि सेयरको मूल्य ५ प्रतिशतसम्म तलमाथि हुनसक्ने व्यवस्था गरिएको छ। यसअघि २ प्रतिशत मात्र थियो। 

त्यसैगरी, कारोबार सुरु भएको १५ मिनेटभित्र कुनै पनि कम्पनीको मूल्य घटबढको सीमा ५ प्रतिशत राखिएको छ। यसअघि यस्तो व्यवस्था ४ प्रतिशत मात्रै थियो। १५ मिनेटपछि खुलेको कारोबारपछि पुनः नेप्से ८ प्रतिशतले बढेमा वा घटेमा सो दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ। बजारमा दुई सर्किट ब्रेक मात्रै लाग्छ। यसअघि बजारमा तीन वटासम्म सर्किट लाग्नसक्ने व्यवस्था थियो। 

यो साताको सुरुबाट सेयर बजारले ६ वटा नयाँ व्यवस्था व्यहोर्‍यो। तर, बजार भने अन्तिम दिन १.५४ अंक मात्रै बढ्यो। संशोधित व्यवस्थाअनुसार कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा २० प्रतिशतसम्म बढ्न वा घट्न सक्छ। उदाहरणको लागि, मानौँ कुनै कम्पनीको सेयर मूल्य एक सय रूपैयाँ छ। कारोबार सुरु हुँदा सेयरको मूल्य पाँच प्रतिशतसम्म बढ्दा १०५ हुन्छ। नियमित सत्रमा उक्त सेयरको मूल्य १५ प्रतिशत बढ्यो भने १२० रुपैयाँ ७५ पैसा हुन्छ। 

अब मूल्य घट्दाको हिसाब हेरौँ– 

१०० रुपैयाँ मूल्य भएको सेयरको मूल्य प्रिओपनिङमा पाँच प्रतिशतले घट्दा ९५ रुपैयाँ कायम हुन्छ। नियमित सत्रमा १५ प्रतिशत घट्यो भने १४ रुपैयाँ २५ पैसा घटेर सेयर मूल्य ८० रुपैयाँ ७५ पैसा कायम हुन्छ।

यो संशोधित व्यवस्था लागू भएपछि सेयरबजार बढ्ने अपेक्षा थियो। तर, साताभर बजार घट्यो। चार दिनमा नेप्से ५१ अंकले घट्यो भने अन्तिम दिन थोरै बढ्यो।  

नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएर बाहिरिने समयमा नेप्सेले कारोबार विनियमावलीको संशोधन लागू गर्ने निर्णय गरेको थियो। नेप्सेले सोमबारबाट संशोधित व्यवस्था लागू गर्ने सूचना शुक्रबार प्रकाशन गरेको थियो। सेबोनका अध्यक्ष श्रेष्ठले शुक्रबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका थिए।

अर्कोतर्फ, नेप्सेले संशोधित विनियमावलीमा सेयर मूल्य घटबढको व्यवस्था पुरानै राखेर स्वीकृतिका लागि पठाइएको भए पनि सेबोनले त्यसलाई परिवर्तन गरी १५ प्रतिशत गरिदिएको नेप्सेका अधिकारीहरु बताउँछन्। 

‘११ चैतमा बसेको नेप्से सञ्चालक समितिको बैठकले सेयर मूल्य १० प्रतिशत घटबढ हुने पुरानै व्यवस्था राखेर विनियमावली सेबोनमा पठाएको थियो। तर, स्वीकृत भएर आउँदा १५ प्रतिशत भएर आयो। यसरी किन बढेर आयो भन्ने हामीले बुझ्नसकेका छैनौँ’, नेप्सेका एक अधिकारीले भने। 

सेबोनका पूर्वअध्यक्ष डा. रेवत कुमार कार्कीले पनि विवाद नै विवादमा परेका अध्यक्षले हतारमा किन त्यस्तो विनियमावली स्वीकृत गरे भन्ने गम्भीर प्रश्न उठेको बताए।

‘एक पटक ठूलो मात्रामा मूल्य तलमाथि हुँदा साना र सिकारु लगानीकर्ता प्रभावित हुन्छन्’, उनले भने, ‘नेपालको सेयर बजार अझै परिपक्व नभइसकेकाले यस्तो व्यवस्था आवश्यक छैन।’

हुन पनि सेयर बजारमा कुनै पनि कम्पनीको सेयर मूल्यमा कसरी चलखेल हुँदो रहेछ भन्ने तथ्य नेपाल रिइन्स्योरेन्सको सेयर खरिदमा दीपक भट्ट, सुलभ अग्रवाललगायतले गरेको जालसाजीपूर्ण कारोबारले देखाएको छ। कुनै सस्तो मूल्यको सेयरलाई एकाएक बढाएर सोझा लगानीकर्ता फसाउन यो सजिलो विकल्प बन्न सक्ने देखिन्छ। 

कार्कीले थपे, ‘संशोधित व्यवस्था ठीक होइन भन्ने त एक साताको कारोबारले नै पुष्टि गरेको छ। अहिले लागू भएको नीति कुनै पनि कम्पनीको सेयर मूल्य निरन्तर घटाएर किन्ने र अस्वाभाविक रुपमा बढाउने उद्देश्यले आएजस्तो देखिन्छ।’

छिमेकी मुलुक भारतमा कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा कति बढ्न वा घट्न सक्छ भन्ने विषयलाई नियन्त्रण गर्न ‘प्राइस ब्यान्ड’को व्यवस्था गरिएको छ। यस्तो व्यवस्था त्यहाँको सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाले निर्धारण गर्छ। यस व्यवस्थाअनुसार, कुनै सेयरको मूल्य एक दिनमा दुई प्रतिशतदेखि २० प्रतिशतसम्म घटबढ हुन सक्छ। त्यसका लागि सेयरको मूल्यअनुसार तह वर्गीकरण गरिएको हुन्छ।

ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट भने संशोधित विनियमावलीको असर नियमित बजारमा नदेखिने बताउँछन्। 

‘यो साता बजार घट्नुको कारण संशोधित विनियमावली होइन। व्यवसायीको धरपकड र गृहमन्त्रीको राजीनामाको विषयले बजार प्रभावित भएको हो’, रानाभाटले फरक कारण औँल्याए।

कुनै कमजोर कम्पनीको मूल्य अस्वाभाविक बढेको छ भने लगानीकर्ता आफैँ सचेत हुनुपर्ने उनी बताउँछन्। 

‘१५ प्रतिशत मूल्य घटबढको विषयलाई नकारात्मक रुपमा लिनुपर्दैन। यसको राम्रो र नराम्रो दुवै पक्ष छन्। नराम्रो पक्षबाट जोगिन लगानीकर्ता आफैँ सचेत बन्नुपर्छ’, उनले थपे।

अहिले सेबोन कार्यवाहक नेतृत्वमा चलिरहेको छ। सरकारले नयाँ नेतृत्व नियुक्ति गर्नको लागि सिफारिस समिति गठन गरेको छ।

नयाँ नियुक्त हुने सेबोन नेतृत्वले संशोधित व्यवस्थालाई नियमित गर्छ वा संशोधन गर्छ भन्नेचाहिँ नयाँ अध्यक्ष नियुक्त भएपछि नै थाहा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad