ad ad

कारोबार


अर्थमन्त्री पौडेलले ‘परिभाषित जिम्मेवारी हेर्छु’ भन्नुको आशय के थियो?

अर्थमन्त्री पौडेलले ‘परिभाषित जिम्मेवारी हेर्छु’ भन्नुको आशय के थियो?

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल


दीपक भट्ट
पुस ११, २०७९ सोमबार २२:२९, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै नतिजामुखी भएर काम गर्ने बताएका छन्। 

उनले बिग्रिएको अर्थतन्त्र सम्हाल्न सबैको जिम्मेवारी महत्वपूर्ण हुने बताउँदै त्यसमा पहल हुनुपर्ने बताए।

उनले कार्यभार सम्हाल्दै सरकारी कागजात तथा रेकर्ड अनलाइन प्रणालीमा लैजाने र अनलाइन प्रणालीमा नै काम गर्ने निर्णय गरे। यो निर्णयले अब डिजिटल्ली काम गर्ने र छिटो गतिमा काम अघि बढाउने संकेत गरेका छन्। 

अर्थमन्त्रीको कार्यभार सम्हाल्दै उनले भने, ‘अर्थतन्त्र संकटको डिलमा छ, यो निकै कठिन अवस्थामा मन्त्रालय सम्हाल्न आएको छु।’ 

यो मन्त्रालय भागबण्डाले नसम्हालेको भन्दै अर्थतन्त्र सम्हाल्न आफू मन्त्रालय आएको दाबी गरेका उनले तर पनि अर्थतन्त्र सम्हाल्ने काम एकल प्रयासले सम्भव नभएको उल्लेख गरे। 

यति कुरा कार्यभार सम्हाल्दै गर्दा बोलेका उनी अर्थ मन्त्रालयको सुवर्णशमशेर हलमा कर्मचारी पर्खिरहेको स्थानमा पुगे।

कर्मचारीलाई सम्बोधन गर्ने क्रममा उनले अर्थ मन्त्रालयको काम कुनै पनि गोप्य रुपले गर्नु नपर्ने बताए। उनले कारणसहित कर्मचारीले यो काम गर्छु र यो गर्दिन भन्न पाउने अधिकार रहेको र सोहीअनुसार अघि बढ्दा आफूबाट कुनै अप्ठ्यारो नहुने बताए। 

उनले भने, ‘सचिवले मन्त्रीकहाँ लैजाने फाइल टुँडिखेलमै राखेर काम गर्न सक्नुपर्ने खालको हुनुपर्छ । त्यसमा डराउनुपर्ने कुनै कारण हुँदैन।’

त्यसो त उनले राष्ट्र बैंक तथा मन्त्रालयमातहतका अन्य निकायहरुसँग बसेर अहिलेको अवस्थाबारे जानकारी लिने बताए।

अहिलेको अर्थतन्त्र कस्तो छ, त्यो केही जानकारी आफूलाई पनि भएको तर गहिराइमा जानकारी दिएर अघि बढ्ने उनको भनाइ थियो। 

त्यस्तो कर्मचारीहरुलाई अर्थमन्त्री पौडेलले अहिलेको सरकार अस्थिर नभएको जानकारी दिए। उनले भने, ‘सरकार नयाँ बन्नेबित्तिकै कस्तो त्यसको चासो र असर कर्मचारीतन्त्रमा पर्ने गरेको छ। तर अहिलेको सरकार स्थिर सरकार हो। सोहीअनुसार ढुक्क हुन आग्रह छ।’

तर आज अर्थमन्त्रीले अर्थ मन्त्रालयमा एक विशेष विषय उठान गरेका छन्। उनले आफू योभन्दा अघि दुईपटक अर्थमन्त्री भएको र सफल समेत भएर निस्किएको दाबी प्रस्तुत गरे। 

अबको कार्यकाल पनि सफल नै हुने उनको आशा छ। त्यसमा सहयोग सबैको हुनुपर्ने बुझेका उनले पहिलेभन्दा केही कार्यशैली परिवर्तन गर्ने बताए। 

उनले भने, ‘योभन्दा पहिले धेरै नै लिबरल (खुल्ला) थिएँ अब भने परिभाषित जिम्मेवारीलाई हेर्छु। परिभाषित जिम्मेवारी पूरा गर्नुपर्नेछ। त्योभन्दा बाहिर गएर काम गर्नुपर्दैन तर जिम्मेवारी भने पूरा गर्नुपर्नेछ।’

अर्थमन्त्री पौडेललाई स्वागत गर्दै अर्थसचिव कृष्णहरि पुस्करले उच्च व्यक्तित्व भएको व्यक्ति अर्थमन्त्रीको रुपमा पाउनु देशकै लागि राम्रो भएको बताएका थिए। 

तर विष्णु पौडेलले तत्कालै उनलाई संकेत गर्दै पदीय जिम्मेवारीको विषय उठान गरे।
अर्थ मन्त्रालयमा अर्थ‘क्याडर’को उपस्थिति नभएको गुनासो मातहतका निकायहरुका कर्मचारीहरुले गरिरहेका छन्। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थबाहिरका कर्मचारी ल्याएको आरोप मातहतका निकायका कर्मचारीहरुले गुनासो गर्दै आएका छन्। 

अर्थसचिव पुस्कर आफैँ अर्थ मन्त्रालयका क्याडर होइनन्। 

अर्थमन्त्री पौडेलले परिभाषित जिम्मेवारी निभाउन सक्ने कर्मचारीको खोजी गर्ने संकेत सोमबारै देखाएका हुन्। उनले मन्त्रालयमा जिम्मेवारी सम्हालेकै दिन दुई÷तीन पटक अर्थतन्त्र सम्हाल्न छलफल गरेर अघि बढ्ने बताएका छन्। 

त्यसका लागि अर्थ मन्त्रालय तथा मातहतको निकायको अनुभवको खोजी गर्ने संकेत गरेका छन्। उनले आफूलाई ‘कोर’ सुझाव दिनसक्ने व्यक्ति चाहिने बताएका छन्।

राष्ट्र बैंकसँगको सम्बन्ध मिलाउने
जनार्दन शर्माले मन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्य महत्वपूर्ण हुने बताएका थिए। 

उनले भनेका थिए, ‘मौद्रिक नीति र अर्थनीतिको तालमेल महत्वपूर्ण विषय रहेछ।’ 

जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध राम्रो थिएन। 

तर जनार्दन शर्माले पछिल्लो समय सम्बन्ध सुधारमा ध्यान दिएको समेत सोमबार बाहिरिँदै गर्दा बोलेका थिए। 

विष्णु पौडेलले राष्ट्र बैंकसँग तत्काल बसेर सल्लाह लिने बताएका छन्। सोमबार उनको स्वागतमा समेत दुवै डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र सहभागी समेत भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .