ad ad

कारोबार


नयाँ अर्थमन्त्रीसामु जर्जर अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती

नयाँ अर्थमन्त्रीसामु जर्जर अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती

अर्थमन्त्री विष्णु पौडेल


दीपक भट्ट
पुस ११, २०७९ सोमबार १७:५, काठमाडौँ

मंसिर ४ को आमनिर्वाचनले दिएको जनादेशअनुसार देशमा बहुमतको आधारमा नयाँ सरकार गठन भएको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको हो। योसँगै अर्थ मन्त्रालयको बागडोर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको हातमा पुगेको छ। 

उनले सोमबार नै प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका हुन्। 

कुनै पनि दलको एकल बहुमत नआएको अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच साना दललाई साथ लिएर सरकार बनाउने सहमतिअनुसार वर्तमान सरकार गठन भएको हो। प्रचण्ड नेतृत्वको सरकार कम्तीमा २ वर्ष कायम हुने देखिएको छ। 

यसअनुसार अर्थ मन्त्रालयको बागडोर पनि पौडेलले कम्तीमा २ वर्ष सम्हाल्ने निश्चित भएको छ। 

जर्जर अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती 
नेपालको अर्थतन्त्र अहिले खराब अवस्थाबाट गुज्रिरहेको छ। यस्तोमा पौडेलको आगमनसँगै त्यसबाट अर्थतन्त्रलाई जोगाउने चुनौती छ। 

अहिलेको अर्थतन्त्र अर्थ मन्त्रालयमा को आउँछ त्यसले समेत फरक पर्ने यसअघिका घटनाक्रमले देखाइसकेको छ। 

खासगरी वैदेशिक सहायता र देशको आर्थिक सबलतामा अर्थ मन्त्रालय हाँक्ने व्यक्तिले प्रभाव पारेको देखिन्छ। 

यसअघि माओवादी क्रेन्द्रबाट अर्थमन्त्री भएका जनार्दन शर्मालाई उनको व्यक्तित्वले सहयोग नगरेको देखिन्छ। अहिले नेपालको वैदेशिक सहायताको अवस्था निकै कमजोर छ भने वस्तु उत्पादन घटेको भन्दै उद्योगीहरु आन्दोलनमा छन्। 

चालू आर्थिक वर्षको तीन महिनामा ८६ अर्ब रुपैयाँ मात्रै विदेशी सहायता प्रतिबद्धता भएको छ। 
अर्कोतर्फ बाह्य क्षेत्र असन्तुलित हुँदा नेपालमा पनि आर्थिक मन्दीका संकेत देखिन थालेको छ। 

ब्याजदर वृद्धि र महंगी बढेको भन्दै विराटनगर, वीरगन्ज, सुर्खेतलगायतका औद्योगिक क्षेत्रहरुमा उद्योगी व्यवसायीहरु आन्दोलित बनेका छन्। त्यस्तै उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघका पदाधिकारी दिनहुँ उच्चपदस्थ सरकारी व्यक्तिहरु भेट्दै हिँड्न बाध्य बनेका छन्। 

विश्व अर्थतन्त्र नै मन्दीतर्फ जान लागेको विश्लेषणहरु आइरहेको बेला पौडेलले अर्थ मन्त्रालयको कमान सम्हालेसँगै निजी क्षेत्रलाई विश्वासमा लिएर जानुपर्नेछ। 

त्यस्तै अहिले सरकारको आयव्यय सन्तुलित छैन। सरकारको आम्दानीमध्येको भरपर्दो स्रोत राजस्व संकलन कमजोर छ। लक्ष्यभन्दा करिब डेढ खर्ब कम राजस्व संकलन भएको छ। मंसिर मसान्तसम्मको अवस्था हेर्दा सरकारी लक्ष्यको तुलनामा १ खर्ब ३८ अर्ब न्यून राजस्व संकलन भएको छ। 

यो वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ६४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। वर्षको मंसिर मसान्तसम्म जम्मा ३ खर्ब २६ अर्ब राजस्व संकलन भएको छ। यो लक्ष्यभन्दा १ खर्ब ३८ अर्ब न्यून हो। 

लक्ष्यको तुलनामा न्यून राजस्व संकलन भएपछि सरकारले तोकिएका विकास निर्माणमा खर्च गर्न नसक्ने अवस्था आएको छ। यो वर्षको लक्ष्यमात्र होइन गत वर्षको संकलनभन्दा २० प्रतिशत न्यून राजस्व उठाएको छ। पाँच महिनामा राजस्व संकलन २० प्रतिशतले ऋणात्मक भएको छ।

त्यतिमात्रै हैन, आर्थिक वर्ष २०७९÷८० को चार महिनामा कुल वस्तु निर्यात ३३.३ प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो। 

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि भएको छ। वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडालगायतका वस्तुको निर्यात घटेको छ।

२०७९ कात्तिक महिनामा वार्षिक मूल्यवृद्धि ८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ। 

यसलाई बैंकको ब्याजदरले साथ दिइरहेको छ। अहिले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ। यस्ता सूचकहरुकै कारण पनि नयाँ अर्थमन्त्री डराउनुपर्ने अवस्था छ। 

यी सूचकहरुलाई सकारात्मक दिशातिर लानुपर्ने नयाँ अर्थमन्त्रीलाई ठूलो चुनौती छ। त्योभन्दा पहिला नयाँ अर्थमन्त्रीले नयाँ टिम नै सेट गर्नुपर्नेछ। 

जनार्दन शर्माले अर्थ मन्त्रालय तथा मातहतका निकायमा अर्थ मन्त्रालयका ‘क्याडर बेस’ कर्मचारी नराखेको गुनासोहरु आएका छन्। 

अर्थ मन्त्रालयकै कर्मचारीहरुबाट त्यस्ता गुनासाहरु आइरहँदा नयाँ टिम निर्माणमा समेत नयाँ अर्थमन्त्रीले ध्यान दिनुपर्ने चुनौती छ। 

अर्थ मन्त्रालय आफैँमा आर्थिक टेक्निकल विषय भएकोले अर्थ मन्त्रालयका कर्मचारी धेरै बाहिर पठाएर बाहिरबाट धेरै ल्याउन अहिले समस्या परिरहेको र त्यसको ब्याक फायर जनार्दन शर्मालाई बजेट निर्माणदेखि बजेट कार्यान्वयनमा समेत देखा परेको कर्मचारीहरुको भनाइ छ। 

त्यसकारण यसलाई सेट गर्नेसम्मको चुनौती पौडेलसामु छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .