देशको राजधानी काठमाडौँ आउजाउ गर्ने महत्त्वपूर्ण मार्ग नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको म्याद सकिन लाग्दा पनि काम अपेक्षाअनुसार हुन सकेको छैन। पटकपटक म्याद थपिएको यो आयोजनाको स्तरोन्नति सुस्त देखिएको हो।
अत्यधिक सवारी चाप व्यवस्थापन, सडक सुरक्षा सुधार तथा यात्रा समय घटाउने लक्ष्यसहित सरकारले चार वर्षदेखि उक्त सडकखण्ड स्तरोन्नति गरिरहेको छ।

भैतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक विभागबाट क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनामार्फत ९४.५६ किलोमिटर लामो यो सडक २ लेनदेखि ६ लेनसम्मको फराकिलो बनाइँदै छ। तर निर्माण कम्पनीको ढिलासुस्ती, जग्गा अधिग्रहणमा समस्या, वन क्षेत्रको अनुमतिमा ढिलाइ, तथा वर्षायाममा काम अवरोध हुनुजस्ता कारण प्रगति सन्तोषजनक हुन नसकेको हो।
सडक विस्तारअन्तर्गत लेन थप, घुम्ती सुधार, ढल तथा नाली निर्माण र पहिरो नियन्त्रणका संरचना निर्माण गरिनुपर्ने भए पनि अधिकांश काम अझै अधुरा छन्। यसले वर्षायाम नजिकिँदै गर्दा थप जोखिम निम्त्याउने देखिएको छ।
निर्माण प्रगति हेर्ने हो भने तोकिएको समयमा काम सकिने अवस्था देखिँदैन। थप गरिएको म्याद २०८३ असोजसम्म छ। तर हालसम्मको काम हेर्दा यो समय सीमा सडक स्तरोन्नति सकिन मुस्किल देखिन्छ।
नागढुंगा–नौबिसेअन्तर्गत १२.२ किलोमिटर सडक र पृथ्वी राजमार्गको नौबिसे–मलेखुको ४३.५ किलोमिटर गरी ५५.७ किलोमिटर सडक मर्मत जारी छ। जसमा हालसम्म ६२.३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वी खण्डका आयोजना प्रमुख केशवप्रसाद ओझाले नेपालखबरलाई जानकारी दिए।
नागढुंगा–नौबिसेतर्फ ८५ प्रतिशत प्रगति
नागढुंगा–नौबिसे सडकखण्ड निर्माणका लागि १ अर्ब ३१ करोड रुपैँया लागतमा जाङ्सु सगुन जेभीले २०७८ चैत २९ गते सम्झौता गरेको थियो। जसअनुसार २०८१ जेठ २५ गते नै काम सक्नुपर्ने थियो। तर नसकिएपछि म्याद थप गरेर २०८३ जेठ २५ गतेसम्म बढाइएको छ।
नगढुंगा–नौबिसे खण्डको १२.२ किलोमिटर सडकमा कालोपत्र गर्ने क्रम जारी छ। यो काम सकिएपछि मार्किङ गर्ने र एक स्थानमा आकाशे पुल निर्माण गरिनेछ। यस साँघुरो सडकखण्डमा दैनिक १५ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले त्यसलाई व्यवस्थापन गर्दै काम गर्नुपर्ने चुनौती रहेको आयोजना प्रमुख ओझाको भनाइ छ।

उनका अनुसार ढुंगा, गिट्टी, बालुवाजस्ता खानी तथा नदीजन्य निर्माण सामग्री सहजै नपाइनु, मनसुनजन्य विपद् र झ्याप्ले खोलालगायत सयौँ स्थानमा पहिराले सडकमा ठुलो क्षतिजस्ता कारण लागत र समय दुवै बढ्ने चुनौती देखिएको छ।
निर्माण व्यवसायीहरूले पर्याप्त मात्रामा उपकरण र जनशक्ति परिचालन नगर्नु तथा सडक विस्तारका क्रममा रुख कटान, घर–टहरा हटाउन र विद्युतीय पोलहरू सार्न धेरै समय लागेको कारण समयमै काम सक्न सकस देखिएको छ।
नौबिसे–मलेखुतर्फ ५६ प्रतिशत
नौबिसे–मलेखुअन्तर्गत ४३.५ किलोमिटर सडक स्तरोन्नतिका लागि ५ अर्ब ३३ करोड रुपैँयामा शर्मा–लामा जेट्आईसीजी जेभीले २०७९ वैशाख १४ गते ठेक्का सम्झौता गरेको थियो। जसअनुसार २०८२ जेठ १४ गतेभित्र निर्माण गरिसक्नुपर्ने थियो। तर काम नसकिएपछि २०८३ असोजसम्मका लागि म्याद थप गरिएको छ। जसमा हालसम्म ५६ प्रतिशत मात्र प्रगति भएको छ।
यस खण्डमा पर्ने १३ पुलमध्ये १० वटाको काम सकिएको छ भने १५ मिटर लम्बाइको सोप्याङ पुल, ९.२ मिटर लम्बाइको फेदी खोला पुल र २५ मिटर लामो खहरे खोला पुल निर्माण सक्न बाँकी छ । साथै सडक मार्किङ र एप्रोच सडक निर्माण गर्न बाँकी छ। यस खण्डमा रहेका १६८ पोलमध्ये सयवटा हटाउनै बाँकी छ। बिजुलीका पोल समयमै नहटाउँदा पनि कामले गति लिन नसकेको आयोजना प्रमुख ओझाको भनाइ छ।
मलेखु–मुग्लिनतर्फ ४१ प्रतिशत प्रगति
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत मलेखु–मुग्लिन खण्ड विस्तारमा ४१ प्रतिशत प्रगति भएको छ। कुल ३८.८६ किलोमिटर दुरीको यो सडकखण्डमा हालसम्म ११ किलोमिटर चार लेनमा पहिलो तहको कालोपत्रे सकिएको छ।
आयोजना कार्यालयका अनुसार ३८.८६ किलोमिटर दुरीको यो सडकखण्ड शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएको छ। २०७९ पुस १५ गते भएको सम्झौता अनुसार २०८२ पुसभित्र काम सक्नुपर्ने थियो। तर नसकेपछि २०८३ असार १५ गतेसम्मका लागि म्याद थपिएको छ।
निर्माण सामग्री अभाव र प्राविधिक अवरोधका कारण काममा ढिलाइ भएको दाबी ठेकेदार कम्पनीको छ। यस क्षेत्रमा पनि सडक विस्तारमा विद्युत्का पोल सार्नुपर्ने अर्को चुनौती छ। यस खण्डमा अझै सयभन्दा बढी वटा पोल हटाउन बाँकी छ। अहिले सडक फराकिलो बनाउन पर्खाल लगाउने, भित्ता काट्ने, पिच गर्नेजस्ता काम भइरहेका छन्।
Shares

प्रतिक्रिया