सरकारले सवारीसाधनहरुलाई वातावरणमैत्री बनाउन नयाँ मापदण्ड ल्याउने भएको छ। सवारीमा गरिने वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल (कन्भर्जन) सम्बन्धी मापदण्ड ल्याउने तयारी गरिएको हो।
यसअनुसार जीवाश्म इन्धन (फोसिल फ्यूल)बाट चल्ने सवारीसाधनहरुलाई कन्भर्जनको तीन वटा विकल्प दिइनेछ। परम्परागत इन्धनबाट चल्ने गाडीहरुले विद्युतीय, एलपीजी र सीएनजीमा कन्भर्जन हुन पाउने गरी यातायात व्यवस्था विभागले वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदलसम्बन्धी मापदण्ड तयार गरिरहेको छ।
दुई, पांग्रे, तीनपांग्रे तथा चार वा सोभन्दा बढी पांग्रा भएका सबै प्रकारका यात्रुवाहक सवारी र १२ टनसम्म कुल वजन भएका मालवाहक सवारीहरु कन्भर्जन गर्न सकिने मापदण्डमा व्यवस्था गरिएको छ।
जीवाश्म इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा कन्भर्जन गर्ने कानुनी व्यवस्था नभएको भने हैन। २०८२ चैतको मन्त्रिपरिषद्ले डिजेल तथा पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीयमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको थियो। सोही निर्णयपछि विभाग सवारीमा गरिने वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदलसम्बन्धी मापदण्ड, २०८३ निर्माणको तयारीमा जुटेको हो।
यस्तै, इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा तीन वर्ष छुट दिने भन्दै १५ मंसिर २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना नै जारी गरेको थियो।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुने गरी ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा छुट दिने निर्णय गरेको’ भन्दै सूचना जारी गरेको छ।
यसअघि १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने प्रवृत्तिलाई सहुलियत दिने घोषणासमेत गरेको थियो।
सरकारका यी घोषणा तथा नीतिका आधारमा केही व्यवसायीले सवारीसाधन कन्भर्जन गरिसकेका पनि छन्। तर मापदण्ड तथा कार्यविधि नहुँदा कन्भर्जन गरिएका सवारीसाधनहरु प्रयोगमा आउन सकिरहेका छैनन्।
मापदण्ड स्वीकृत भएर कार्यान्वयनमा आएसँगै कन्भर्जन भएका सवारीसाधनहरु प्रयोग गर्ने बाटो खुल्ला हुनेछ।
हाल विभागले जीवाश्म इन्धनबाट चल्ने सवारीहरुको इन्धन प्रणालीमा गरिने वातावरणमैत्री वा ऊर्जादक्षतामूलक फेरबदललाई सुरक्षित, भरपर्दो तथा गुणस्तरीय बनाउन यातायात व्यवस्था विभागले कन्भर्जनसम्बन्धी मापदण्ड तयार गरेको हो।
कन्भर्जन कसरी गर्ने?
जीवाश्म इन्धन आधारित कुनै मोडलको सवारीलाई विद्युतीय, एलपीजी र सीएनजीमा कन्भर्जन गर्नुअघि आवश्यक किट सम्बन्धित उत्पादक वा आपूर्तिकर्ताले विभागबाट मापदण्डबमोजिम भएको व्यहोरा प्रमाणित गरिएको अनुपालन प्रमाणपत्र (कम्प्लाइन्स सर्टिफिकेट) लिनुपर्नेछ।
अनुपालन प्रमाणपत्र लिन किट उत्पादक वा आपूर्तिकर्ताले सम्बन्धित मोडलको न्यूनतम एक सवारीमा जडान गरी नमूना सवारी तयार गर्नुपर्नेछ। नमूना सवारी विभागको सुपरिवेक्षणअन्तर्गत अध्ययन, अनुसन्धान वा परीक्षण कार्यका लागि मात्र प्रयोग गर्न सकिनेछ।
जाँच, निरीक्षण र परीक्षणबाट कन्भर्जनमा प्रयोग हुने किट मापदण्डअनुरुप रहेको पाइएमा विभागले त्यस्तो किटको लागि सवारीको मोडल तोकी अनुपालनको प्रमाणपत्र प्रदान गर्नेछ। विभागले त्यस्तो प्रमाणपत्र प्रदान गर्दा किट जडानको ले–आउटसम्बन्धी नक्सासहित किटसम्बन्धी प्राविधिक विवरणको प्रमाणित प्रतिलिपि समेत प्रमाणपत्र साथ संलग्न राख्नुपर्नेछ।
कन्भर्जनमा प्रयोग हुने किटका लागि कुनै राष्ट्रको सक्षम निकायबाट सो किट प्रयोग हुन सक्ने सवारीको मोडल समेत खुलाई प्रकार अनुमोदन (टाइप एप्रुभल) प्रमाणपत्र जारी गरिएको हकमा सो प्रमाणपत्र र त्यससँग सम्बन्धित परीक्षण प्रतिवदेनहरु तथा दफाबमोजिम गरिएको निरीक्षण र परीक्षणको आधारमा विभागले त्यस्तो किटको लागि अनुपालन प्रमाणपत्र दिन सक्नेछ।
किट जडानकर्ता तोक्नुपर्ने
कुनै मोडलको सवारीको फेरबदल गर्नका लागि विभागबाट अनुपालन प्रमाणपत्र प्राप्त गरेको विद्युतीय किट उत्पादक वा आपूर्तिकर्ताले सम्बन्धित वर्गको सवारी उत्पादन, जडान वा मर्मतसम्भार गर्न विभाग वा कार्यालयबाट अनुमति प्राप्त मापदण्डबमोजिमको आवश्यकता पूरा गरेको एक वा बढी कारखाना तथा वर्कशपलाई किट जडानकर्ताको रुपमा तोक्न सक्नेछ।
त्यसरी तोकिएका किट जडानकर्तालाई किट उत्पादक वा आपूर्तिकर्ताले मापदण्डमा उल्लिखितअनुसार किट जडान, मर्मतसम्भार तथा सञ्चालनसम्बन्धी तालिम दिई त्यस्तो तालिम समापनपश्चात् प्रमाणपत्र समेत दिनुपर्नेछ।
सवारीमा फेरबदलका लागि स्वीकृति
जीवाश्म इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा फेरबदल गर्न चाहने सवारीधनीले किट उत्पादक, आपूर्तिकर्ता वा किट जडानकर्तासँग आवश्यक प्राविधिक परामर्श लिई आवश्यक कागजात संलग्न राखी सम्बन्धित कार्यालयमा स्वीकृतिका लागि निवेदन दिनुपर्नेछ।
सवारीधनीले सवारी फेरबदलका लागि प्रस्ताव गरेको किट विभागबाट जारी भएको अनुपालन प्रमाणपत्रबमोजिम रहेको पाइएमा ऐन तथा नियमावलीअनुसार सवारीको प्राविधिक जाँच गरी यान्त्रिक तथा भौतिक अवस्था ठीक रहेको देखिएमा कार्यालयले त्यस्तो सवारीमा फेरबदल गर्न स्वीकृति दिनेछ।
कार्यालयबाट फेरबदलको लागि स्वीकृति प्राप्त गरेको मितिबाट ६० दिनभित्र सवारीधनीले सवारीमा फेरबदल गराइसक्नुपर्नेछ।
सवारीमा गरिने फेरबदल
सवारीधनीले सम्बन्धित कार्यालयबाट फेरबदलको लागि स्वीकृति प्राप्त गरेको सवारीमा मात्र किट जडानकर्ताले फेरबदलको कार्य गर्न सक्नेछन्। फेरबदल गर्दा विद्युतीय किटको अनुपालन प्रमाणपत्रसाथ संलग्न प्रमाणित प्राविधिक विवरणमा उल्लिखित यन्त्र, उपकरण तथा अवयवहरुको प्रयोग गर्नुपर्नेछ।
सोही प्रमाणपत्रमा तोकिएको सवारीको मोडलमा मात्र त्यस्तो फेरबदल गर्न सकिनेछ। किट जडानकर्ताले मापदण्डमा भएका प्रावधानको अधीनमा रही तालिमप्राप्त प्राविधिकबाट मात्र सवारीमा फेरबदल गराउनुपर्नेछ।
कन्भर्जन भएका सवारी जाँचबाट सवारीमा गरिएको फेरबदल मापदण्डबमोजिम ठीकसँग भएको देखिन आएमा कार्यालयले त्यस्तो सवारीको सवारी दर्ता किताबको विवरण संशोधन गर्नेछ।
सवारी दर्ता किताबमा रहेको विवरण संशोधन गरेपश्चात् कार्यालयले सवारी दर्ता प्रमाणपत्रको ‘सवारीको विस्तृत विवरण’ शीर्षकको पानाको माथिल्लो भागमा कुन सवारीमा कन्भर्जन गरिएको भन्ने व्यहोरा प्रस्ट रुपमा सवारी दर्ता प्रमाणपत्रमा उल्लेख गर्नुपर्नेछ।
सवारी दर्ता प्रमाणपत्र अद्यावधिक नभएसम्म सडकमा चलाउन नपाइने
सवारीसाधन कन्भर्जन गर्नेबित्तिकै सडकमा चलाउन भने पाइनेछैन। कार्यालयबाट स्वीकृति प्राप्त गरी मापदण्डबमोजिम फेरबदल गरिएको सवारी कार्यालयबाट निरीक्षण सम्पन्न भई सवारी दर्ता प्रमाणपत्र अद्यावधिक नभएसम्म किट जडानकर्ताको वर्कशपसम्म वा कार्यालयसम्म लैजाने वा त्यहाँबाट फिर्ता ल्याउने प्रयोजनबाहेक सार्वजनिक सडकमा चलाउन पाइनेछैन।
तर सवारीमा फेरबदलको प्रक्रियामा गरिने अध्ययन, अनुसन्धान तथा परीक्षणको हकमा सवारीलाई सडकमा चलाउनुपर्ने भएमा ‘परीक्षण सवारी’ भन्ने संकेत सवारीको अगाडि र पछाडि दुवै भागमा राखी अन्य सवारी तथा सडक प्रयोगकर्तालाई कुनै बाधा नपर्ने गरी सवारी आवागमन कम भएको समय र सडक खण्डमा सुरक्षासम्बन्धी पर्याप्त सावधानी अपनाई ट्राफिक प्रहरीसँगको समन्वयमा सार्वजनिक सडकमा चलाउन सकिनेछ।
उत्पादन मितिले १५ वर्ष पुगिसकेको एलपीजी ट्यांक वा २० वर्ष पुगिसकेको सीएनजी सिलिन्डर सवारीमा प्रयोग गर्न नपाइने व्यवस्था मापदण्डमा राखिएको छ।
Shares

प्रतिक्रिया