कारोबार


पेट्रोलमा इथानोल मिसाउँदा अर्थतन्त्रमा ‘मल्टिप्लायर इफेक्ट’, इन्धन पनि सस्तिने

पेट्रोलमा इथानोल मिसाउँदा अर्थतन्त्रमा ‘मल्टिप्लायर इफेक्ट’, इन्धन पनि सस्तिने

निर्दोष घोरसाइने
पुस २४, २०८२ बिहिबार १८:५, काठमाडौँ

नेपाल आयल निगमले अब पेट्रोलमा इथानोल मिसाएर बिक्री वितरण गर्न पाउने भएको छ।

यही पुस २१ गतेको मन्त्रिपरिषद्ले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत गरेपछि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने बाटो खुलेको हो। 

सरकारले आफ्नो नीतिअनुसार नै पेट्रोलमा इथानोल मिश्रण गर्ने स्वीकृति प्रदान गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए। 

चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्यूनीकरण गर्न बायोइथानोल मिश्रण गर्ने व्यवस्था मिलाइने उल्लेख छ। साथै २०६० मंसिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको थियो। तर उक्त समयमा कति परिमाणमा इथानोल मिश्रण गर्ने भन्ने व्यवस्था नहुँदा हालसम्म थाती रहन पुगेको थियो।

‘कानुनको अभावले गर्दा लामो समयदेखि पेट्रोलमा इथानोल मिश्रण गर्ने विषय छलफलमा मात्र सीमित थियो’, भट्टले भने, ‘मन्त्रिपरिषद्को स्वीकृतिसँगै पेट्रोलमा इथानोल मिश्रण गरेर प्रयोगमा ल्याउन सकिने बाटो खुल्ला भएको हो।’

मन्त्रिपरिषद्बाट स्वीकृत आदेशका आधारमा निगमले पेट्रोलमा इथानोल मिश्रण गर्ने प्रक्रिया अघि बढाउनेछ। आयल निगमले १० प्रतिशतसम्म इथानोल पेट्रोलमा मिश्रण गर्न पाउनुपर्ने प्रस्तावसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरेको थियो। 

अब निगमले पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली तयार गर्नेछ। उक्त विनियमावली निगमको सञ्चालक समितिबाट पारित हुनुपर्नेछ। इथानोलको स्रोत, उत्पादन, गुणस्तर निर्धारण, खरिद, ढुवानी, भण्डारण, मिश्रण, बिक्रीवितरण, प्रयोग तथा अनुगमनको पाटो विनियमावलीले निर्देश गर्नेछ। इथानोल मिश्रण गरेको पेट्रोल बजारमा उपलब्ध हुन अझै केही समय लाग्ने उनको भनाइ छ। 

पेट्रोलमा इथानोलको प्रयोगले देशको अर्थतन्त्र, वातावरण, उद्योग, कृषि, उपभोक्तालाई फाइदा पुग्ने निगमको दाबी छ। 

‘इथानोल स्वदेशी कच्चा पदार्थबाट उत्पादन गर्नुपर्छ। इथानोलका साथै कच्चा पदार्थ आयात गर्न पाइँदैन। कृषि उपजबाट इथानोल उत्पादन भएकाले खाली जग्गाको उपयोग हुन्छ। इथानोल प्रशोधन गर्न ठूला लगानीका उद्योग खुल्छन्। हजारौँले रोजगारी पाउँछन्’, भट्टले भने, ‘इथानोलको बजार भाउ पेट्रोलभन्दा सस्तो छ। यसको लाभ उपभोक्तामा पनि बाँडफाँट हुन्छ।’

हाल केही चिनी उद्योगबाट इथानोल उत्पादन भइरहेको छ। चिनी उत्पादकहरूसँगको छलफलमा ९९.५ प्रतिशत शुद्ध इथानोल प्रतिलिटर ११० रुपैयाँसम्म उपलब्ध गराउने अनौपचारिक छलफल भएको छ। अहिले बजारमा पेट्रोलको अधिकतम मूल्य १५९ रुपैयाँ प्रतिलिटर छ।

यस्तो इथानोल मिश्रण गरिएको पेट्रोल हालको बजार मूल्यको तुलनामा सस्तो हुन जाने उनको दाबी छ। इथानोलको प्रतिशतको आधारमा मूल्यमा भिन्नता आउनेछ। 

चिनी उद्योगहरूले अहिलेको क्षमतामा दैनिक ५० हजार लिटर इथानोल उपलब्ध गराउन सक्ने आश्वासन दिएका छन्। हाल नेपालमा दैनिक करिब २० लाख लिटर पेट्रोल खपत हुने निगमले जानकारी दिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७४ करोड ६४ लाख लिटर पेट्रोल आयात भएको थियो। उत्पादनको आधारमा पेट्रोलमा १० प्रतिशत नै प्रयोग गर्न मिल्ने इथानोल उत्पादन हुने देखिएको छैन। हालको क्षमताअनुसार करिब २.५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने सम्भावना छ। 

‘इथानोलको उत्पादन कम हुँदा सुरुवाती चरणमा १० प्रतिशत नै पेट्रोलमा मिश्रण गर्न सकिने देखिँदैन। विस्तारै २/४ प्रतिशत गर्दै मिश्रण गर्दै अघि बढ्नेछौँ’, उनले भने, ‘उत्पादन बढेसँगै मापदण्डबमोजिम मिश्रण गर्नेछौँ।’

अर्थतन्त्रमा ‘मल्टिप्लायर इफेक्ट’
पेट्रोलमा इथानोलको प्रयोगले मुलुकको अर्थतन्त्रमा मल्टिप्लायर इफेक्ट आउने भट्टको दाबी छ। अर्थात् यसले अर्थतन्त्रको सम्वृद्धिमा योगदान गर्नेछ।

पेट्रोलमा इथानोल प्रयोग गर्दा पेट्रोलमार्फत हुने मुलुकको व्यापारघाटा घट्नेछ। साथै खाद्य वस्तुबाट भने इथानोल उत्पादन गर्न पाइँदैन, तीबाहेक सिमल तरुल, बाज्रा सजिवन, ऊखु र चिनी कारखानाबाट निस्किने खुँदो, सुइरो घाँस, मकैको ढोड, धानको पराल तथा भूस, गहुँको छ्वाली, चामल उद्योगबाट प्राप्त हुने कनिकाबाट इथानोल उत्पादन गर्न सकिन्छ।

‘अहिले चिनी कारखानाले बाइप्रोडक्टका रुपमा स्प्रिडको मात्र रक्सी उद्योगलाई बिक्री गरिरहेका छन्। रक्सी उद्योगले चिनी उद्योगबाट उत्पादन हुने स्प्रिड पूर्ण रुपमा खपत हुनसकेको छैन। स्प्रिडबाट शुद्ध इथानोल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट आवश्यक पर्छ। एउटा प्लान्ट स्थापना गर्न करिब २ अर्ब रुपैयाँ लगानी पर्छ’, भट्टले भने, ‘यसबाट एउटा उद्योगमा थप दुई/चार सय रोजगारी सिर्जना हुन्छ।’

सरकारले पेट्रोलमा इथानोल मिसाउने ढोका खुल्ला गरेसँग गैरआवासीय नेपाली (एनआरएन)ले १२ अर्ब रुपैयाँ लगानी भित्र्याउने तयारी गरेका छन्। एनआरएन वेदप्रसाद खरेल, खगेन्द्र जीसीलगायत एनआरएनले नेपालमा कियान केमिकल इन्डस्ट्रिज प्रालि दर्ता गराएका छन्। जसले एग्रोमा आधारित केमिकल उत्पादन गर्ने योजना बनाएको छ। 

यसका लागि कम्पनीले कियान एग्रिकल्चर रिसर्च एन्ड डेभलमेन्ट कम्पनी पनि खडा गरेको छ। यो कम्पनीले पहिलो चरणमा बारमा १० बिघा जग्गामा उद्योग खोल्ने योजना बनाएका छन्। 

यस्तै पछिल्लो समय वैदेशिक रोजगारीका लागि युवाहरू विदेश पलायन भएसँगै गाउँघरका जग्गा/जमिन बाँझो रहन गएको छ। ती बाँझो जग्गामा इथानोलका लागि आवश्यक पर्ने कच्चा पदार्थको खेती गर्न सकिन्छ। यसले पनि आफ्नै भूमिमा स्वरोजार बन्ने अवसर सिर्जना गर्नेछ।
अन्तर्राष्ट्रियजगत्मा पहिल्यैदेखि प्रयोग

नेपालमा पेट्रोलमा इथानोल प्रयोग गर्ने सम्बन्धमा कानुनी आधार बल्ल तयार हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको उपयोग भइसकेको छ। त्यसैले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारीको इन्जिनमा कुनै समस्या नआउने भट्टको दाबी छ। छिमेकी मुलुक भारतले २० प्रतिशत इथानोल मिश्रण गरेर पेट्रोल बिक्री गर्दै आइरहेको छ। यस्तै युरोपियन युनियले १० प्रतिशत इथानोल मिश्रण गर्ने मापदण्ड बनाएको छ। नेपालमा अधिकांश सवारीसाधन भारतबाट आयात हुने र ती सवारीसाधनमा इथानोलमैत्री छन्। 

पेट्रोलभन्दा इथानोलमा अक्टेन संख्या बढी हुन्छ। जसले प्रिमियम ब्रेन्डिङ प्रोपर्टिज प्रदान गर्दछ। पेट्रोलमा मिश्रण गर्दा अक्टेन संख्या बढ्छ। 
इथानोल खाद्य पदार्थबाट उत्पादन हुने भएकाले वातावरणीय दृष्टिकोणले पनि राम्रो मानिन्छ। पेट्रोल–डिजेलले कार्बन मोनोसाइड, नाइट्रो अक्साइड, ग्रिन हाउस ग्यासलगायतबाट प्रदूषण हुन्छ। बाइप्रोडक्ट भएकाले वातावरणका दृष्टिकोणले पनि जैविक इन्धनभन्दा तुलनात्मक रुपमा राम्रो मानिन्छ। 

वातावरण जोगाउन र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन पु¥याउने प्रतिबद्धता जनाएको सन्दर्भमा यो योजना निकै सहयोगसिद्ध हुने दाबी गरिएको छ ।

इथानोलका केही नकारात्मक पाटा पनि छन्। पेट्रोलको तुलनामा यसमा इनर्जी कन्टेन भने कम हुन्छ। यसमा प्रतिलिटर १५ प्रतिशत इनर्जी कन्टेन कम हुन्छ। यसले गर्दा माइलेज भने कम हुन्छ। 

इथानोलको गुण हाइग्रोस्कोपिक हुन्छ। यसले वातावरणबाट पानीको मोलिक्युल लिन्छ। जसले  गर्दा पेट्रोलमा इथानोल मिश्रण गर्दा सावधानी नअपनाउने हो भने पानीका कारण इन्जिनमा क्षति पुग्न सक्छ। मोइस्चर सोस्नका लागि इथानोल र पेट्रोल मिश्रण गर्दा र इथानोल मिश्रित पेट्रोल प्रयोग गर्दा सिलिका जेलयुक्त पाइपको प्रयोग गर्नुपर्ने हुन्छ। 

सिलिका जेलले तेलबाट मोइस्चर सोस्छ। त्यसैले नियगमले व्यवसायीबाट ९९.५ प्रतिशत शुद्ध इथानोल माग गरेको हो। यसबाट पेट्रोलको गुणवत्ता कायम राख्न सकिने उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad