कारोबार


नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुल्यो

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुल्यो

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १४:१७, काठमाडौँ

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुलेको छ।

यही वैशाख २२ गतेदेखि खुल्ला भएको स्टल बुकिङ प्रदर्शनीमा सहभागीहरुले २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म गर्न पाउने भएका हुन्। 

इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाडफाड पारदर्शी लटरी प्रणाली मार्फत गरिने नाइमाले जनाएको छ। 

दुई र चार पाङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ।  

यस प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रा.लि.ले गर्नेछ। विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुने उल्लेख गरिएको छ।

“नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ’, नाइमाकी संस्थापक अध्यक्ष ऋतु सिंह वैद्यले भनिन्। 

उनले संस्थाका सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्ने काम गरिरहेको र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अनुभव गराउन प्रयासरत रहेको बताइन्। 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ। यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ।

सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्नलागेको नाइमाले जनाएको छ। उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्नुहुने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेको छ। 

साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad