नेपालमा नै बनेका गाडीको संख्या ५०० पुगेको छ।
हुन्डाईले एसेम्बल उत्पादन सुरु गरेयता ५०० वटा चारपांग्रे सवारीसाधन नेपालमा बनेका हुन्।
सरकारले नेपालमै एसेम्बल गर्ने गाडीको अन्तःशुल्कमा ५० प्रतिशतसम्म छुट दिएपछि दुईपांग्रे र चारपांग्रे सवारीसाधनहरु एसेम्बल हुँदै आएका छन्।
दुईपांग्रेका अधिकांश ब्रान्डले अहिले नेपालमै एसेम्बल गरिरहेका छन् भने चारपांग्रेतर्फ हालसम्म हुन्डाईले मात्र एसेम्बल गरिरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामै ४०० गाडी नेपालमै एसेम्बलका लागि भित्रिएका छन्। आर्थिक वर्ष २०८०/०८१ मा यस्ता २१० र आर्थिक वर्ष ०७९/८० मा ४ गाडी भित्रिएका थिए।
हुन्डाईले नेपालमा सुरुमा भेन्यु एसयूभीको एसेम्बल गरेको थियो। यो वर्षबाट नेपालमा सर्वाधिक बिक्री भएको के्रटाको पेट्रोल गाडी यहीँ एसेम्बल गरी बजारमा ल्याइसकेको छ। अब हुन्डाईको इन्ट्री लेभलका कार आई१० पनि नेपालमै एसेम्बलको तयारी गरिरहेको छ।
‘हुन्डाईले करिब ५०० गाडी उत्पादन गरिसकेको छ’, लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले भने, ‘अहिले २ मोडलको एसेम्बल भइरहेकोमा अब आई१० लाई हेर्दै छौँ।’
कोरियन कम्पनी हुन्डाई मोटर्सले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट सञ्चालन गरेको छ। नेपालमै एसेम्बल भएको क्रेटामा भारतबाट आयात हुनेभन्दा ९ लाख रुपैयाँसम्म मूल्य घटेको छ।
तथ्यांकअनुसार अनएसेम्बलको भारतबाट ३०८ वटा भित्रिँदा कोरियाबाट ९१ र जापानबाट एउटा गाडी भित्रिएको छ। यी सबै गाडी १ हजारदेखि १५ सय सीसीसम्मका छन्। १५ सयदेखि २००० सीसीसम्मको एउटा गाडी भारतबाट आएको छ।
नेपालमा हुन्डाईले एसेम्बल उद्योग खोली बिक्रीवितरण गर्दै आएको छ। हुन्डाईले क्रेटा विद्युतीयमा पनि ल्याएको छ। नेपालमा विद्युतीय गाडीमा कम कर लगाएकाले उत्पादन गर्दा लागत बढी हुने हुन्डाईका अधिकारी बताउँछन्।
‘हुन्डाई क्रेटाको विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ’, लक्ष्मी ग्रुपका एक उच्च अधिकारीले भने, ‘बजेटमा विद्युतीय गाडीमा कर बढायो भने छुटमा पाउँदा एसेम्बल गर्न सकिन्छ। अथवा नेपालमा एसेम्बल हुने विद्युतीय गाडीमा बढी छुट दिनुपर्छ।’
उद्योग विभागमा २ दर्जन कम्पनी नेपालमा दुईपांग्रे र चारपांग्रे एसेम्बलका लागि दर्ता भएका छन्। दुईपांग्रे एसेम्बलमा राम्रो प्रगति भए पनि चारपांग्रेमा हुनसकेको छैन।
अधिकांश दुईपांग्रे नेपालमै एसेम्बल
नेपाली बजारमा प्रतिस्पर्धा गर्न एसेम्बल गर्नैपर्ने बाध्यताले अधिकांश दुईपांग्रेले उत्पादन गरिरहेका छन्। चैतसम्म १ लाख ४१ हजार २ पांग्रे भित्रिएकामा ९५ हजार ३४४ मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुनथालेका छन्।
नेपालमा बजाज, हिरो, होन्डा, यामाहा, रोयल इन्फिल्डलगायतका ब्रान्डले एसेम्बल गरिरहेका छन्।
गत आर्थिक वर्षसम्म सुस्त दुईपांग्रे अटो बजार चालू आर्थिक वर्षमा केही सुधार भएको छ। गत वर्षभरि आयात भएका दुईपांग्रेभन्दा अहिले ९ महिनामै बढी आयात भएका छन्। आर्थिक वर्ष २०८०/०८१ को १२ महिनामा १ अर्ब ३४ करोड रुपैयाँबराबरको आयात भएका थिए।
यो वर्षको चैतमा ८ अर्ब १५ करोड रुपैयाँका सवारी तथा पार्टस आयात भएका छन्। फागुन महिनासम्म ६२ अर्ब २७ करोड रुपैयाँको सवारीसाधन तथा तीनका पार्टस आयात गरिएको थियो। चैतमा ७० अर्ब ४२ करोड रुपैयाँबराबरको आयात पुगेको छ।
साउनदेखि चैतसम्म ७ हजार ९६७ विद्युतीय चारपांग्रे गाडी आयात भएका छन्। १८ अर्ब ६२ करोड रुपैयाँबराबरका गाडी आयात भएका छन्। यसबाट ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
पेट्रोल डिजेलका कार ४ अर्ब ५१ करोड रुपैयाँका आयात भएका छन्। कुल ३ हजार २४४ सवारी भित्रिँदा ११ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
Shares

प्रतिक्रिया