कारोबार


नेक्सन के३ : टाटाको ‘गेम चेन्जर’ मोडल, बढ्यो ब्याट्री क्षमता र रेन्ज (भिडिओ)


सरोज नेपाल
कात्तिक २४ , काठमाडौँ

टाटा मोटर्सले नेपालको ईभी बजारमा ‘गेम चेन्जर’ मानिएको नेक्सनको नयाँ भर्जन ल्याएको छ।

नेक्सन ईभीलाई नयाँ फिचर्स र क्षमतामा अपग्रेड गर्दै ‘के३’ नयाँ विकल्पमा दिएको हो।

नेपाली सडकमा अहिले नै ३ हजार बढी नेक्सन ईभी छन्। टाटाले ‘के३’लाई ‘गेम चेन्जिङ’ मोडलको रुपमा प्रस्तुत गरेको उल्लेख गरेको छ।

कम्पनीका अनुसार नयाँ नेक्सनमा गाडीको डिजाइन, प्रविधि, कम्फर्ट, सेफ्टी र पर्फमेन्समा सुधार गरिएको छ।

३० किलोवाट आवर ब्याट्रीमा बजारमा आएको नेक्सन अहिले भने ४५ किलोवाट आवर क्षमताको बनेको छ। सुरुमा नेपाल भित्रिएको गाडीले २४० देखि २६० किमिसम्म रेन्ज दिने गरेकोमा अहिले कम्तीमा ३२५ किमि पुगेको छ।

नेपाली बजारमा ठूलो ब्याट्री रेन्जका गाडी भित्रिएसँगै कम्पनीले प्रतिस्पर्धा गर्नका लागि ब्याट्रीको क्षमता र नयाँ फिचर्स थपेर नेपालमा ल्याएको हो।

टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले आइतबारबाट गाडीको बुकिङ खुल्ला गरिसकेको छ। ९८ किलोवाट मोटर ब्याट्री भएको गाडीमा ४५ किलोवाट आवरको ब्याट्री छ।

यसअघि नेक्सन २०७८ साउनमा पहिलो पटक काठमाडौंमा सार्वजनिक गरिएको थियो। नेपाली सडकमा सबैभन्दा बढी गुड्ने एसयूभीमा नेक्सन ईभी पर्छ। हाल ४८ लाख ९९ हजारमा बुकिङ गरिरहेको गाडी फेब्रुअरी अन्तिमबाट डेलिभरी दिने कम्पनीको तयारी छ।

गाडीमा ४ तहको ‘रिजेनेरेटिभ ब्रेकिङ सिस्टम’ छ। गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने बुट स्पेस ३५० लिटर छ।

यो गाडीले भारत एनक्याप सुरक्षा रेटिङमा ५ स्टार पाएको छ। गाडी किन्दा ब्लाइन्ड स्पोट भ्यू मनिटर र ६ एयरब्यागसहित आउँछ। 

गाडीमा रहेका डीआरएल लाइट्सले ‘टर्निङ इन्डिकेटर’को काम गर्छ। सेन्ट्रल पोजिसनिङ ल्याम्पसँगै गाडीमा चार्जिङ इन्डिकेटर, प्रोजेक्टर एलईडी हेडल्याम्पस, कर्नरिङ कन्ट्रोलसहितको फग ल्याम्प छ।

अपडेटेड भर्सनको नेक्सनमा फ्रन्ट लुक्समै परिवर्तन भएको छ। वाइपर्स नदेखिने गरी गाडीको डिजाइन गरिएको छ। ३६० क्यामेरा जडान गरिएकाले काठमाडौंसहित राजमार्गमा गुडाउँदा सहज हुन्छ। प्रायः ईभीहरुमा स्पेयर टायर हुँदैन तर नेक्सन के ३ मा छुट्टै टायर दिइएको छ।

यसको इन्टेरियरमा स्मार्ट डिजिटल स्टेरिङ आएको छ। यसका अतिरिक्त भ्वाइस कन्ट्रोल, क्रुज कन्ट्रोललगायतका सबै फिचर्स स्टेरिङमै उपलब्ध छन्। अटो होल्ड र इलेक्ट्रिक पार्क सिस्टम रहेको गाडीमा प्यानारोमिक सनरुफ छ भने ६ भाषामा कमान्ड गर्न सकिन्छ।

३ वटा मोडमा उपलब्ध यो गाडी सिटी मोडमा पावर र रेन्जको ब्यालेन्स गरिएको छ। यसबाहेक इकोनोमिक मोडमा बढी माइलेज र स्पोर्ट मोडमा पिकअप पावरका लागि प्रयोग गर्न सकिन्छ।

नेपालमा विद्युतीय गाडीमा सबैभन्दा बढी टाटाकै मोडल छन्। सिप्रदीले नेपालमा १६ डेडिकेटेड वर्कशप र १८५ चार्जिङ नेटवर्क बनाइसकेको छ। टाटाले नेपालमै ब्याट्री रिपेयर सेन्टर स्थापना गरी काम थालेको छ।

थप तस्बिर र भिडिओ (सरोज नेपाल र सरोज बैजु)

फागुन ८, २०८१ बिहिबार ९:६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad