कारोबार


साढे ३ वर्षपछि लयमा फर्कियो अटो बजार, विद्युतीयसँगै बढ्यो पेट्रोल गाडीको आयात

साढे ३ वर्षपछि लयमा फर्कियो अटो बजार, विद्युतीयसँगै बढ्यो पेट्रोल गाडीको आयात

वसन्त अर्याल
पुस ९, २०८१ मंगलबार ९:५८, काठमाडौँ

साढे ३ वर्षपछि अटो बजार चलायमान देखिएको छ।

कोभिड महामारीपछि ह्वात्तै बढेको अटो बजार सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै आयात रोकेपछि सुस्ताएको थियो। 

आयातमा गरिएको कडाइ खुकुलो पारेसँगै बजार फेरि चलायमान हुनथालेको हो। 

पछिल्ला ३ वर्षमा विद्युतीय गाडीको मात्रै बजार बढिरहेको थियो भने डिजेल बस, पेट्रोल गाडी, दुईपांग्रे सवारीसाधनको आयात आधा बढीले घटेको थियो। 

पछिल्लो वर्ष बस, निजी प्यासेन्जर भेहिकल, कमर्सियल भेहिकल, दुईपांग्रे सवारीसाधन सबैको आयात बढेको तथ्यांकले देखाएको छ। 

चालू आर्थिक वर्षको पाँच महिनामा सवारीसाधनको आयात ४१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यसबाट सरकारले ३३ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन समेत गरेको छ। 

गत आर्थिक वर्षको यही अवधिमा २९ अर्ब २० करोड रुपैयाँको मात्रै आयात भएको थियो भने सरकारले २२ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। 

आर्थिक वर्ष २०७९/०८० मा २३ अर्ब ३४ करोड रुपैयाँबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका थिए। यसबाट कुल १५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ५३ अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो।

यी तथ्यांकलाई तुलनात्मक रुपमा हेर्दा पछिल्लो ३ वर्ष गाडीको व्यापार घटेकामा ‘रिभाइभ’ हुँदै गएको देखिन्छ। 

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी विद्युतीय गाडीको कारण आयातको तथ्यांक बढी देखिएको बताउँछन्। 

‘अटो बजारमा पछिल्लो समय ईभीको बढ्दो माग छ। सोहीअनुरुप इम्पोर्ट फिगर (आयात तथ्यांक) पनि छ’, उनी भन्छन्, ‘शिथिल रहेको क्षेत्रका लागि यो केही राहत हो तर समग्रमा ईभी अहिले अटो सेक्टरको सानो हिस्सा मात्र हो।’ 

राष्ट्र बैंकले डलर सञ्चितिमा चाप परेको भन्दै २०७९ वैशाखमा विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। पछि मंसिरमा मात्रै आयात खुलायो। तर बजार बढ्न सकेको थिएन। चालू आर्थिक वर्षमा मात्र अटो बजारले ‘रिभाइभ’ हुँदै गरेको संकेत गरेको छ। 

नाडाकै उपाध्यक्ष राजनबाबु श्रेष्ठ पनि कमर्सियल बस र निजी गाडीको बिक्री बढेको बताउँछन्। 

‘३ वर्षपछि अटो बजार विस्तारै चलायमान हुँदै गएको देखिन्छ’, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठले भने, ‘सरकारले नीतिलाई स्थिर राख्यो भने सामान्य अवस्थामै फर्किन्छ।’

यता अध्यक्ष चौधरी सम्पूर्ण अटो क्षेत्रलाई भने अझै पनि राहत नमिलेको दाबी गर्छन्।    

‘पार्ट्स, ल्युब्रिकेन्ट तथा अरु अटोसँग जोडिएका रोजगारी अझै पनि जटिल अवस्थामा छ’, चौधरीले नेपालखबरसँग भने, ‘त्यसकारण समग्र अटो उद्योगलाइ नै फाइदा हुने परिवर्तित नीति ल्याउन ढिलो भइसकेको छ।’

विद्युतीयसँगै पेट्रोल गाडीको आयात बढ्यो
नेपालमा भित्रिने अधिकांश गाडी बिक्री हुन्छन्। गाडी भित्रिनेबित्तिकै बिक्री भने हुँदैनन्। शोरुम, पार्किङ स्थलमा रहन्छन्।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ५ महिनामा ४ हजार ६९७ विद्युतीय गाडी भित्रिएका छन्। यसबाहेक १ हजार ८२० पेट्रोल गाडी र २४९ डिजेलका प्यासेन्जर भेहिकल भित्रिएका छन्। 

यो अवधिमा कुल निजी गाडी (प्यासेन्जर भेहिकल) १५ अर्ब रुपैयाँका भित्रिएका छन्। 

गत आर्थिक वर्षमा ३ हजार ६८६ विद्युतीय गाडी भित्रिएका थिए। विद्युतीयबाहेक १ हजार ६५३ पेट्रोल गाडी र ४०५ डिजेलका गाडी भित्रिएका थिए। चालू आर्थिक वर्षमा डिजेलका गाडीको आयात झन् घटेको छ। 

गत वर्ष १२ अर्ब ३३ करोड रुपैयाँका निजी गाडी भित्रिएका थिए। 

आव ०७९/८० मा १ हजार ३५३ विद्युतीय गाडी भित्रिँदा पेट्रोल इन्जिनका ५८८ वटा र डिजेल इन्जिनका २७५ गाडी नेपाली बजारमा आयात भएका थिए। 

‘संख्याको रुपमा हेर्दा विद्युतीय गाडीको आयात र बिक्री बढ्दै छ’, सिप्रदीका सीईओ श्रेष्ठले भने, ‘पेट्रोलका कारमा लोन टु भ्यालु रेसियोको कारण धेरै बढ्नसकेको छैन।’

नेपाल सरकारले आफैँ उत्पादित विद्युत् खपत हुने ईभीका गाडीलाई प्रोत्साहन गरेको छ। नेपालीले ग्राहकले नयाँ गाडी खरिद गर्दा मुख्य रोजाइ ईभी नै पर्ने गरेका छन्। अघिल्ला वर्षमा पेट्रोल गाडीको बिक्री पूरै घटे पनि विस्तारै बढ्दै गएको उनको बुझाइ छ। 

दुईपांग्रेमा ३८ हजार बढी आयात
नेपालमा सबैभन्दा बढी बिक्री दुईपांग्रे सवारीसाधनको हुने गरेको छ। २ वर्ष पूरै घटेको दुईपांग्रे बजार पछिल्लो समय आशातित रुपमा बढेको व्यवसायी बताउँछन्। 

नेपालमा सबैभन्दा बढी दुईपांग्रे बिक्री गर्ने हंसराज एन्ड हुलासचन्द कम्पनीका प्रबन्धनिर्देशक अभिमन्यु गोल्छा दुईपांग्रे बजार १५ देखि २० प्रतिशतले बढेको बताउँछन्। 

‘अघिल्ला २ वर्षको तुलनामा हरेक महिना १५–२० प्रतिशतले बिक्री बढिरहेको छ’, गोल्छाले भने, ‘अब यो कति दिगो हुन्छ भन्न सकिँदैन।’
दुईपांग्रेतर्फ पेट्रोलका ९३ हजार ९१५ भित्रिँदा विद्युतीय दुईपांग्रे ५ हजार ३५० आयात भएका छन्।

गत आर्थिक वर्ष ५६ हजार १६२ वटा मात्रै मोटरसाइकल भित्रिएका थिए भने विद्युतीय ३ हजार ५८१ दुईपांग्रे आयात भएको थियो। ०७९/८० मा ६४ हजार ९७२ दुईपांग्रे आयात हुँदा विद्युतीय दुईपांग्रे ४ हजार ४८३ भित्रिएका थिए। 

गोल्छाले अझै २ वर्ष पुरानै अवस्थामा नफर्किए पनि चिन्तित भएर बस्नुपर्ने अवस्था नरहने बताए। 

‘अहिलेको वृद्धि समग्र आर्थिक गतिविधि बढ्नुको कारण नै देखिन्छ। दुईपांग्रेको बजार पुरानै अवस्थामा फर्किन समय लाग्छ’, गोल्छाले भने, ‘सहकारीबाट ऋण लिएर दुईपांग्रे खरिद गर्ने थिए। अहिले घटेका छन् भने युवा विदेश जाँदा बजारमा पक्कै नकारात्मक प्रभाव त परेकै छ।’

पुरानै लयमा कमर्सियल बसको बिक्री
नेपालको सार्वजनिक यातायात निजी क्षेत्रको हातमा छ। सार्वजनिक यातायातमा साना गाडी पूर्णतया विद्युतीयतर्फ बढे पनि ठूला बस डिजेलकै बिक्री हुन्छन्। 

चालू आर्थिक वर्षमा विद्युतीय माइक्रो ह्वात्तै बढेका छन्। भन्सार विभागका अनुसार ८३६ विद्युतीय माइक्रो बस भित्रिएका छन्। यसबाहेक ईभी १९० र विद्युतीय बस ११५ छन्। 

काठमाडौं उपत्यकाबाट पूर्वमा उदयपुर पश्चिममा पोखरा, नवलपरासीसम्म विद्युतीय माइक्रोको दबदबा बढेको छ। यसले पेट्रोलबाट चल्ने ‘हाइस’को बिक्री घटेको छ। 

चालू आर्थिक वर्षमा बस तथा मिनिबस ४३८ भित्रिएका छन्। गत वर्ष २६८ वटा मात्रै बस र मिनिबस भित्रिएका थिए। आर्थिक वर्ष २०७९/०८० मा २७३ बस तथा मिनिबस भित्रिएका थिए। 

‘रुटमा चल्ने ठूला बसको बिक्री नै बढेको छ। कमर्सियल प्यासेन्जर भेहिकलको बिक्री राम्रो हुँदै छ’, टाटाको बिक्रेता श्रेष्ठ भन्छन्, ‘तर कमर्सियल ढुवानीका साधन ट्रक, टिप्परको बिक्री भने पूर्वाधार निर्माणको सुस्तताले बढ्नसकेको छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad