कारोबार


र्‍याली अफ हिमालयाज : ग्रुप डीमा नेपाली राइडर साह विजयी

र्‍याली अफ हिमालयाज : ग्रुप डीमा नेपाली राइडर साह विजयी

नेपालखबर
असोज २०, २०८१ आइतबार १२:६, काठमाडौँ

भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन्।

रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)ले बधाई दिएको छ।

प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना भएको र्यासली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए। यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। 

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिब ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटरसम्म उचाइ भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।

एक कार्यक्रमका बीच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे। राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए। 

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्याजलीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ । 

अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ। नेपालको प्रतिनिधित्व मात्र नभई विजेता समेत बनेर सफलताका साथ समापना भएको सो इभेन्टले देशमा मोटर स्पोर्ट्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्ने महत्वपूर्ण चरणलाई दर्शाउछ । 

र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ। इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।

सफलतापश्चात दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’

दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad