अटो व्यवसायीले तयारी अवस्थाका दुईपांग्रे ल्याएर प्रतिस्पर्धा गर्न गाह्रो भएसँगै धमाधम नेपालमै एसेम्बलिङ प्लान्ट खोल्न थालेका छन्। यही वर्ष ५ वटा कम्पनीले एसेम्बलिङ प्लान्ट सञ्चालन गर्दै छन्।
गत वैशाखयता प्रिमियम ब्रान्ड रोयल इन्फिल्ड र यामाहाको एसेम्बलिङ प्लान्टबाट उत्पादन सुरु भइसकेको छ। योसँगै नेपालमै उत्पादित मोडल बजारमा बिक्री भइरहेका छन्। आगामी वैशाखभित्रै हिरो, होन्डा र सुजुकी ब्रान्डका २ पांग्रे एसेम्बलिङ प्लान्ट सुरु हुँदै छन्।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७८ को प्रतिस्थापन बजेटमा नेपालमै एसेम्बलिङ गर्ने दुईपांग्रेलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेका थिए। त्यसअघि एसेम्बलिङ उद्योग स्थापना गर्नेलाई सामान आयातमा २५ प्रतिशत छुट दिने व्यवस्था थियो। उक्त बजेटअघि गोल्छा ग्रुपले बजाज र शंकर ग्रुपले टीभीएस मोटरसाइकल मात्रै एसेम्बलिङ गर्दै आएका थिए।
२०७८ को प्रतिस्थापन बजेटपछिका २ बजेटमा पनि लगातार एसेम्बलिङ गर्ने उद्योगलाई छुट दिइएको छ। पेट्रोल इन्जिनका चर्चित ब्रान्डसँगै विद्युतीय २ पांग्रेको समेत नेपालमा एसेम्बलिङ भइरहेको छ।
त्रिवेणी ग्रुपले रोयल इन्फिल्डको आधिकारिक बिक्रेता पाएसँगै एसेम्बलिङ उद्योग सञ्चालनमा ल्याएको छ। गत जेठमा कम्पनीले द क्लासिक ३५० र स्क्रयाम्बलर ४११ को एसेम्बलिङ सुरु गरेको थियो। कम्पनीले नेपालमै एसेम्बलिङ गरेका मोटरसाइकलको मूल्य प्रतियुनिट १ लाख बढीले घटाएको छ।
‘दुईपांग्रे व्यवसायमा तयारी अवस्थाका मोटरसाइकलभन्दा नेपालमै एसेम्बलिङ गर्नेलाई केही सहज छ’, अल्फा अटोमोटिभ्सका निर्देशक मेघराज पौडेलले भने, ‘अहिले २ पांग्रे उद्योग स्थापनाको प्रि–फेजमा छौँ। विस्तारै अधिकांश पार्ट्स नेपालमै उत्पादन गर्न सकिन्छ।’
एसेम्बलिङ उद्योगसम्बन्धी मापदण्डले ५ वर्षमा ३० प्रतिशत भ्यालुएड (मूल्यअभिवृद्धि) गर्नुपर्ने, २ सय बढीलाई रोजगारी दिनुपर्ने व्यवस्था गरेको छ। उद्योग स्थापनासँगै ५ वर्षभित्र १० प्रतिशत स्वदेशी सामग्री प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
‘सरकारले बनाएको मापदण्ड पूरा गर्नुपर्छ। दुईपांग्रे एसेम्बलिङमा भ्यालुएड गर्ने सोच बनाए सकिन्छ’, पौडेलले थपे।
सरकारले उद्योग स्थापना गर्नेलाई ५० प्रतिशत छुट दिए पनि उपभोक्ताले सहुलियत नपाएको प्रश्न उठ्दै आएको छ। तर व्यवसायीले एसेम्बलिङ प्लान्ट स्थापना गर्न १ अर्ब बढी लाग्ने, कर्मचारीलाई तालिम दिने लगायत खर्च धान्नुपर्दा धेरै मूल्य नघटेको बताउने गरेका छन्।
नेपालमा पहिलो एसेम्बलिङ उद्योग स्थापना गरेको बजाजले अन्य मोटरसाइकलको तुलनामा मूल्य कम रहेको बताएको छ।
‘एसेम्बलिङ उद्योग स्थापना गर्ने र तयारी अवस्थाकै मोटरसाइकल ल्याई बिक्री गर्नेको मूल्यमा अन्तर छ’, बजाजको बिक्रेता गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘एसेम्बलिङ उद्योग स्थापना भएकै कारणले अरु मोटरसाइकलको तुलनामा बजाजको मूल्य बढेको छैन।’
हिरो, होन्डा र सुजुकीले वैशाखभित्रै एसेम्बलिङ सुरु गर्दै
यता, हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चौधरी ग्रुपले ल्याएसँगै एसेम्बलिङ उद्योग स्थापना गर्ने घोषणा गरिसकेको छ। उत्पादक कम्पनी हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार बनाउने केही समयअघि घोषणा गरेका छन्।
सीजी मोटर्सले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने बताएको छ। हिरोको एसेम्बलिङ उद्योग नवलपुर जिल्लामा खोल्ने कम्पनीले जनाएको छ। जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने कम्पनीको दाबी छ।
चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले विश्वव्यापी छवि बनाएको, मोटरसाइकल र स्कुटरको उत्पादनमा नेतृत्व गरिरहेको कम्पनीसँगको साझेदारीसँगै सीजी मोटर्सको अटोबजारमा जबर्जस्त प्रवेश भएको बताएका छन्।
‘नेपालमा चुस्त एसेम्बलिङ युनिट स्थापना गरी हिरोको बजार विस्तार गर्छौँ’, प्रबन्धनिर्देशक चौधरीले भने।
यसबाहेक विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्स आधिकारिक बिक्रेता रहेको सुजुकी दुईपांग्रेले पनि वैशाखभित्रै एसेम्बलिङ उद्योग सञ्चालनमा ल्याउँदै छ। कम्पनीले पर्सामा एसेम्बलिङ उद्योग निर्माण गरिरहेको छ।
‘अबको २ महिनामा एसेम्बलिङ प्लान्ट तयार भइसक्छ’, भीजी अटोमोबाइल्सका प्रबन्धनिर्देशक धिरज भट्टराईले भने, ‘त्यसको १ महिनामा बजारमा प्रोडक्ट ल्याइसक्छौँ।’
एसेम्बलिङ युनिटबाट मोटरसाइकल र स्कुटर दुवै उत्पादन गर्ने कम्पनीले जनाएको छ।
‘अहिले २ पांग्रेको बजार ७० प्रतिशतले घटेको छ। कति उत्पादन हुन्छ भन्ने बजार मागमा भर पर्छ’, भट्टराईले भने।
त्यस्तै होन्डाको आधिकारिक बिक्रेता ज्योति ग्रुपले समेत नेपालमा एसेम्बलिङ युनिट स्थापनाको तयारी गरिरहेको छ। कम्पनीले उद्योग स्थापना अन्तिम चरणमा पुगेको जनाएको छ।
तयारीभन्दा नेपालमै बन्ने दुईपांग्रे आयात धेरै
भन्सार विभागको तथ्यांकअनुसार पुससम्म ६१ हजार ८०१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। जसमा ३३ हजार ७२६ वटा मोटरसाइकल अनएसेम्बल्ड (अर्थात् नेपालमै बनाउने गरी) आयात भएका छन्।
जसमा १२५ सीसीसम्मका १३ हजार १८८ वटा, १२५ देखि २०० सीसीसम्मका १३ हजार १५५, २०० देखि २५० सीसीसम्मका ७४३ वटा, २५१ देखि ४०० सीसीका ६ हजार ५२६ र ४०० देखि ५०० सीसीसम्मका ११२ वटा आयात भएका छन्।
विभागको तथ्यांकअनुसार सबैभन्दा बढी तयारी अवस्थाका दुईपांग्रे १२५ सीसीसम्मका छन्। स्कुटरको खपत नेपालमा बढी रहेकाले १२५ सीसीसम्मका दुईपांग्रे २५ हजार ०३७ वटा आयात भएका छन्।
Shares
प्रतिक्रिया