चर्चित अर्बपति वारेन बफेटको बर्कशाइर हाथावेको समेत सहयोग रहेको चिनियाँ कारनिर्माता बीवाईडीले इलोन मस्कको टेस्लालाई उछिनेको छ।
बीवाईडी बिक्री भएको गाडीको आधारमा विश्वकै ठूलो विद्युतीय सवारीसाधन उत्पादक बनेको हो। मजबुत हुँदै गएको औद्योगिक आपूर्ति शृंखलासँगै चीनमा विद्युतीय सवारीसाधन निर्माणले तीव्रता पाएसँगै बीवाईडीले टेस्लालाई ‘ओभरट्राक’ गरेको हो।
शेन्जेनमा रहेको कम्पनीले यो वर्षको पहिलो छ महिनामा विद्युतीयसँगै हाइब्रिड गाडीहरु ६ लाख ४१ हजार हाराहारीमा बिक्री गरेको छ। यो भनेको एक वर्षअघिको सोही अवधिको तुलनामा ३०० प्रतिशतले धेरै भएको कम्पनीले नियामकीय निकायमा जुलाई ५ मा पेस गरेको कागजातले देखाएको छ।
यो वर्षको पहिलो छ महिनामा टेस्लाले भने पाँच लाख ६४ हजार सवारीसाधन बिक्री गरेको छ। यो भनेको वार्षिक ४६ प्रतिशत वृद्धि हो। एक वर्षअघि कम्पनीले ३ लाख ८६ हजार २ सय सवारीसाधन बिक्री गरेको थियो।
टेस्लाले दुई लाख ५४ हजार ६ सय ९५ कार र एसयूभीहरु अप्रिलदेखि जुनको अन्त्यसम्म बिक्री गरेको छ। जुन पहिलो तीन महिनाको तुलनामा १८ प्रतिशत कम हो। खासगरी सांघाईमा कोभिड संक्रमण बौरिएसँगै कारखाना बन्द हुँदा टेस्लाको उत्पादन र बिक्रीमा असर परेको हो।
न्युयोर्कको सेयरबजारमा टेस्ला इन्कको सेयर ४.९ प्रतिशतले घटेर प्रतिकित्ता ६४८.५० डलर कारोबार भएको थियो। सुरुवातमा धेरै घटे पनि पछि २.४ प्रतिशत मात्रै घटेको बताइएको छ।
यता बीवाईडीको कारसँगै ब्लेड ब्याट्रीहरु अत्यधिक बिक्री भएको छ। दुई महिना लामो लकडाउनका कारण टेस्लाले उत्पादनमा ५० देखि ७० हजार युनिटले कमी आएको थियो। अहिले उत्पादन सुरु भए पनि आपूर्तिको समस्या उस्तै हुँदा कम्पनी दबाबमा परेको छ।
टेस्लाको बिक्रीमा ४० प्रतिशत चीनले नै ओगटेको छ। चीनको कोभिड लकडाउनले टेस्लासागै अन्य चिनियाँ विद्युतीय निर्माता लि अटो, नियो, पेंग मोटर्सलाई समेत अप्ठ्यारो पारेको बताइएको छ। एससीएमपी
Shares

प्रतिक्रिया