बैंकहरुले गाडीको एलसी नखोल्ने निर्णय गरेसँगै अटो व्यवसायीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरेका छन्।
व्यवसायीले एलसी रोकेको विषयमा जानकारी लिन सरकारी नेतृत्वसँग भेट गरेको बताएका छन्।
चैत २५ गते नाडाका पदाधिकारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेका थिए भने आज (आइतबार) उनीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका हुन्।
सरकारले वैदेशिक मुद्रा सञ्चिति कम हुँदै जाँदा त्यसको दबाब सरकारले खेपिरहेको छ। तर यो समस्या केही समयमा नै समाधान हुने दाबी गर्दै सरकारले व्यवसायीलाई नआत्तिन आग्रह गरेको छ।
आज आफूसँग भेट्न पुगेका अटो व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माले यही आग्रह गरेका थिए।
राष्ट्र बैंकको सुझावमा वाणिज्य बैंकहरुले गाडी लगायत विलासिताका वस्तुको एलसी नखोल्ने निर्णय गरिसकेका छन्। अटो व्यवसायीले करिब २ महिनाको लागि स्टकमा रहे पनि त्यसपछि समस्या हुन सक्ने बताउँदै आएका छन्।
चैत २५ गते नाडा अटोमोबाइल एसोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवासँग समस्या राख्दा ‘थप बुझेर अघि बढ्ने’ बताएका थिए।
‘राष्ट्र बैंक तथा सरकारले अटो क्षेत्रलाई नै धराशायी हुने गरी नीति बनाउन लाग्दा प्रधानमन्त्रीसँग छलफल गरेका थियौँ’, एक व्यवसायीले भने, ‘प्रधानमन्त्री देउवाले व्यवसायीको समस्या थप बुझेर अघि बढ्ने बताउनुभएको छ।’

सरकारले गाडी आयातलाई सहज बनाउन नसके अटो व्यवसाय नै डामाडोल हुनसक्ने भन्दै व्यवसायी चिन्तित रहेका छन्। व्यवसायीहरुले केही समय एलसी नखोल्दा स्टकमा भएका गाडीले धान्न सकिने भए पनि लामो समय बस्न थेग्न नसकिने बताउँदै आएका छन्।
अघिल्लो हप्ता प्रधानमन्त्री देउवाले व्यवसायीलाई आफ्ना समस्यासहित अर्थमन्त्रीलाई भेट्न सुझाव दिएका थिए। सोहीअनुसार व्यवसायी आइतबार व्यवसायी अर्थमन्त्री जनार्दन शर्मालाई भेट गर्न अर्थ मन्त्रालय पुगेका हुन्।
बैंकहरुले अटो मोबाइल्ससम्बन्धी एलसी नखोल्ने निर्णय गरेसँगै व्यवसायीले अब कसरी जाने भन्ने विषयमा अर्थमन्त्री शर्मासँग छलफल गरेका थिए।
नाडाका पदाधिकारीलाई अर्थमन्त्री शर्माले अटो व्यवसायीलाई केही समय धैर्य गर्न आग्रह गरेको उनीहरुले बताएका छन्।
‘अर्थतन्त्रमा चाप पर्दा व्यवसायीहरुले पनि केही सहयोग गर्नुपर्छ’, नाडाका अध्यक्ष ध्रुव थापाले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै नेपालखबरसँग भने, ‘अहिलेको अवस्था धेरै लम्बिँदैन। केही समय धैर्य गर्नुहोस्।’
नाडा उपाध्यक्ष सुनिल रिजालले अर्थमन्त्रीले बाहिर हौवा फैलाएजस्तो आर्थिक संकट नआएको भन्दै केही समय धेर्य गर्न आग्रह गरेको बताए।
‘बाहिर हल्ला भएजस्तो अर्थतन्त्र संकटमा छैन। केही समयमै सुधार हुन्छ’, अर्थमन्त्रीलाई उद्धृत गर्दै उपाध्यक्ष रिजालले भने, ‘व्यवसायीको एलसीसम्बन्धी समस्या पनि समाधान गर्छौँ।’
अटो व्यवसायीले अर्थमन्त्रीसँग केही समयको लागि स्टकमा सामग्री भएकाले सरकारलाई सहयोग गर्ने बताएका छन्।
‘अर्थमन्त्रीको कुरा सुन्दा लामो समय समस्या नहुने देखिएको छ। केही समयलाई एलसी नखुल्दा पनि हामी धान्न सक्छौँ’, रिजालले भने, ‘अर्थतन्त्र धर्मराएको बेला व्यवसायी सहयोग गर्न तयार रहेको बतायौँ।’
राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई असार मसान्तसम्म विलासिताका वस्तुको आयातमा कडाइ गर्न सुझाव दिएको छ।
सरकारले औपचारिक निर्णय नगरे पनि वाणिज्य बैंकहरुले अर्को सूचना जारी नभएसम्मका लागि एलसी नखोल्ने निर्णय गरेका छन्।
नाडा अध्यक्ष थापाले अर्थमन्त्री शर्माले सकारात्मक कुरा भएकाले आफूहरु केही समय धैर्य गर्ने बताए।
‘अर्थतन्त्रको विषय बढी राजनीतीकरण गरियो। अर्थतन्त्र पूरै बिग्रिएको अवस्था नभएको बताउनुभयो’, उनले भने, ‘छिटो समस्या समाधान हुनेमा हामी विश्वस्त छौँ।’
व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्मासँग एलसी खोल्न रोक्दा विदेशमा अर्डर गरेको गाडी तथा स्पेयर पार्ट्स रद्द गर्नुपर्दा अप्ठ्यारो भएको गुनासो गरेका थिए।
‘कमर्सियल गाडीबारे अर्थमन्त्रीज्यूले केही समय चाँडो खुल्ने भन्नुभएको छ’, थापाले भने, ‘कमर्सियल र निजी गाडीबारे स्पष्ट पार्ने भन्नुभएको छ।’
अटो व्यवसायीले करिब २ महिना गाडी तथा पाट्र्सको आयात नहुँदा पनि धान्न सक्ने भए पनि त्योभन्दा बढी टिक्न नसक्ने बताएका छन्। व्यवसायीहरुले बैंकबाटै ऋण लिएर व्यवसाय गर्दै आएको बताउँदै आयत नभए ऋण तिर्न नसक्ने बताएका छन्।
‘केही समय हामी धान्न सक्छौँ तर कति समय स्पष्ट हुनुपर्छ’, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने, ‘सरोकारवालासँग छलफल गरेर निर्णय गर्दा योजना बनाउन सकिन्छ। नभई २ महिनापछि बैंकको ऋण र कर्मचारी कसरी व्यवस्थापन गर्ने समस्या हुन्छ।’
व्यवसायीले स्टकमा साधनले केही समय व्यापार चल्ने भए पनि ‘व्यावसायिक चेन ब्रेक’ हुनसक्ने चिन्ता व्यक्त गर्दै आएका छन्। केही समय आफूले चाहेको मोडल ग्राहकले नपाउने अवस्था हुनसक्ने उनीहरुको भनाइ छ।
Shares

प्रतिक्रिया