ad ad

कारोबार


निजगढ विमानस्थल निर्माणका लागि छानिएको जुरिख एयरपोर्टको क्षमता के छ?

निजगढ विमानस्थल निर्माणका लागि छानिएको जुरिख एयरपोर्टको क्षमता के छ?

नवराज रेग्मी
असोज ७, २०७६ मंगलबार १२:३७,

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्विट्जरल्यान्डको जुरिख इन्टरनेशनल एजी छनौट भएसँगै यो कम्पनीप्रति जनचासो बढेको छ। अबको ४५ दिनभित्र आफ्नो विस्तृत प्रस्ताव सरकारलाई बुझाउने सो कम्पनी कस्तो हो? त्यसको क्षमता के छ? अनुभव कति छ?

निजगढ विमानस्थल निर्माणका लागि म्याट्रिक्स इन्टरप्राइजेज नेपाल, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी, भारतको जीएमआर, कतार एयरवेज र फ्रान्सको भिन्सी ग्रुपले इच्छा देखाउँदै प्रस्ताव पेश गरेका थिए। लगानी बोर्डले तिनको प्रस्ताव अस्वीकृत गर्दै जुरिख एयरपोर्ट इन्टरनेशनललाई छानेको हो।

बोर्डले नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णय गरी प्रस्ताव मागेको थियो।

यसअघि उक्त विमानस्थल बुट प्रणाली वा पीपीपी मोडलमा बनाउने भनिएको थियो। बुट प्रणाली भनेको जसले बनाउँछ उसैले स्वामित्व लिएर सञ्चालन गर्ने र पछि हस्तान्तरण गर्ने प्रणाली हो।
यसको लागत झण्डै ३ खर्ब ४० अर्ब रुपैयाँ हुने अनुमान छ। पीपीपी भनेको लगानीमा पनि साझेदार, नाफा घाटामा पनि हिस्सेदार भन्ने हो।

कस्तो कम्पनी हो?
स्विट्जरल्यान्डस्थित जुरिख विमानस्थलको स्वामित्व तथा व्यवस्थापन गर्ने कम्पनी जुरिख एयरपोर्ट एजी हो। यसको माउ कम्पनी फ्लुखाफन जुरिख एजी हो। यसले २० वर्षदेखि युरोप, दक्षिण अमेरिका तथा एशियाली देशहरुका ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण, सञ्चालन तथा सेयर स्वामित्व लिएर काम गर्दै आएको छ।

फ्लुखाफन जुरिख एजीले हाल ल्याटिन अमेरिकाका चार देशमा ६ वटा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन गरिरहेछ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार सन् २०१३ मा ब्राजिलियन कम्पनी सीसीआर र फ्लुखाफनले बेलो रेजम्ची अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र विस्तारका लागि ३० वर्षे सम्झौता गरेका थिए। ब्राजिलको छैटौं बढी जनसंख्या भएको यो सहर तेस्रो ठूलो महानगरीय क्षेत्र हो। यो विमानस्थलको प्रमुख सञ्चालन अधिकृतको भूमिका नै फ्लुखापनको छ।

सन् २०१७ मा यही कम्पनीले दक्षिणी ब्राजिलको फ्लोरियनपोलिस हर्सिलो लुज (एफएलएन) अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र विस्तारको ठेक्का सम्झौता पाएको थियो। यो जुरिख कम्पनीको पूर्ण स्वामित्व भएको पहिलो विमानस्थल हो। सन् २०४७ सम्म विमानस्थल स्वामित्व आफूले लिनेगरी उसले सम्झौता गरेको छ।

चिलीका दुई विमानस्थलको स्वामित्व तथा व्यवस्थापन पनि फ्लुखापन जुरिख एजीले गरिरहेको छ। कम्पनीले एन्टोफागास्टा र आईक्युक विमानस्थलको सम्पूर्ण सेयर खरिद गरी स्वामित्व लिएको छ। दुवै विमानस्थलको अपरेसन कम्पनी आफैँले हेर्छ।

युरापेली देश नेदरल्यान्ड्सकै कुराकाओ विमानस्थलमा यो कम्पनीको ९.७ प्रतिशत सेयर स्वामित्व छ। यो विमानस्थलको चिफ अपरेसन अफिसर पनि फ्लुखापन जुरिख एजीले नै नियुक्त गर्छ। यो विमानस्थलमा कम्पनीले उडान सञ्चालन, व्यापार र पूर्वाधार विकासको जिम्मा पाएको छ।

कोलोम्बियामा पनि यो कम्पनीले सेवा सम्झौता गरी काम गरिरहेको छ। बोगाटास्थित एल डोराडो विमानस्थलको सञ्चालन तथा प्राविधिक जिम्मा उसको हो। यो विमानस्थलमा पनि चिफ अपरेसन अफिसरसहित अन्य ६ वटा व्यवस्थापकीय भूमिका फ्लुखापन जुरिख एजीको छ।

यसअघि यो स्वीस कम्पनीले भारतको बेंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि इच्छा देखाएको थियो। ठेक्का भने साइमेन्स टिमले पाएको थियो।

क्षमता र अनुभव छनौटको मुख्य कारण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिख इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गर्नुमा यसको क्षमता र अनुभव मुख्य कारण रहेको सरकारी अधिकारीहरु बताउँछन्। लगानी बोर्डका अनुसार विमानस्थाल निर्माणको लागि प्रस्ताव गर्ने ७ कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिख एयरपोर्टलाई छनौट गरी विस्तृत प्रतिवेदन माग गरिएको हो।

२०७५ चैतमा काठमाडौंमा सरकारले लगानी सम्मेलन गरेको थियो। त्यतिबेला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि लगानी ‘सोकेस’मा थियो। त्यति बेला जुरिखसहित ७ कम्पनीले निजगढप्रति रुचि देखाएका थिए।

पछि लगानी बोर्डले विमानस्थलसम्बन्धी अनुभव, क्षमता र सञ्जाल समेत रहेको कागजात मागेर अध्ययन गरेको थियो। ‘सबैका कागजात हेरिसकेपछि ७ मध्ये उत्कृष्ट क्षमता, राम्रो अनुभव र नेटवर्क भएको जुरिखलाई छानिएको हो’, लगानी बोर्डका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नेपालखबरसँग भने, ‘सबै मापदण्डहरु पूरा गरेको एवं विमानस्थलसम्बन्धी उसको प्रोफायल पनि अब्बल देखिएकाले छनौटमा परेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .