ad ad

कारोबार


महिन्द्राका समस्याग्रस्त जिप फिर्ता गर्न सभामुखले किन दिएनन् निर्देशन?

महिन्द्राका समस्याग्रस्त जिप फिर्ता गर्न सभामुखले किन दिएनन् निर्देशन?

दीपक भट्ट
भदौ २३, २०७६ सोमबार ८:३७,

अग्नि ग्रुपले संसद सचिवालयलाई बिक्री गरेको महिन्द्रा कम्पनीका गम्भीर समस्याग्रस्त तीनवटा स्कोरपियो जिप फिर्ता गर्न आलटाल भएको छ।

ग्रुपले सचिवालयलाई संघीय संसदको समितिका सभापतिले प्रयोग गर्ने गरी ११ वटा महिन्द्रा एस–५ स्कोरपियो बिक्री गरेकोमा सबैमा समस्या भेटिएको थियो। त्यसमध्ये तीनवटा मर्मत गरेर पनि नहुने भएपछि फिर्ता गर्न सिफारिस गरिए पनि हालसम्म गाडी फिर्ता भएको छैन।

नयाँ गाडीमै समस्या भेटिएपछि सचिवालयले सांसद रामनारायण बिँडारीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले तीनवटा गाडी कम्पनीलाई नै फिर्ता पठाउन र बाँकी आठवटा मर्मत गराउन सुझावसहितको प्रतिवेदन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको थियो।

तर प्रतिवेदन बुझेर पनि सभामुखले गाडी फिर्ता गर्न कुनै निर्देशन नदिएको संसद सचिवालय स्रोतले जनाएको छ। सभामुख महराले फिर्ताभन्दा पनि मर्मतमा जोड दिएको स्रोतहरूले जनाएका छन्।

सात दिन अघि, भदौ १७ गते नै प्रतिवेदन बुझेर पनि सभामुखले गम्भीर समस्यायुक्त गाडी फिर्ता नगरी मर्मतमै जोड दिएपछि सचिवालयका अधिकारी पनि अलमलमा परेका छन्।

‘सभामुखले महिन्द्रका स्कोरपियो जिपहरु मर्मत गराउन निर्देशन दिनु भएको छ, तर गाडी नै फिर्ता गराउने निर्देशन दिनु भएको छैन’, संसद सचिवालयका एक अधिकारीले नेपालखबरसँग भने।

प्रतिवेदनले सार्वजनिक खरिद ऐन अनुसार समस्याग्रस्त गाडी एक हप्ताभित्र चुस्तदुरुस्त हुने गरी मर्मत गरि सक्नुपर्ने कुरा प्रतिवेदनमा नै उल्लेख गरेको छानबिन समितिका संयोजक रामनारायण बिँडारी बताउँछन्।

उनका अनुसार खरिद गर्दा भएको सम्झौताअनुसार पनि एक हप्ताभित्र समस्या समाधान गरिदिनुपर्ने उल्लेख रहेको पाइएको छ।

खरिद शाखालाई किन दिइएन प्रतिवेदन?
संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले गाडी खरिद गर्ने र बिक्री गर्ने कम्पनीसँग सबै प्रकारको डिल गर्ने काम गर्छ। उक्त शाखाका प्रमुखमा उपसचिव अधिराज राई रहेका छन्। उनका अनुसार आजसम्म त्यो शाखालाई कस्तो प्रतिवेदन बन्यो भन्ने जानकारी दिइएको छैन।

‘प्रतिवेदन बन्यो भन्ने जानकारी मिडियाबाट पाइयो’, राईले भने, ‘सभामुखबाट एउटा निर्देशन आएको छ, जुन निर्देशनअनुसार मर्मत गर्न सकिनेसम्मका गाडी कम्पनीलाई भनेर मर्मत गराउनु भन्ने छ।’

सभामुखको आसय नयाँ किनेको गाडीमा जस्तोसुकै समस्या भए पनि पुरानो जस्तो मर्मत गर्दै चलाउने जस्तो देखिन्छ।

अध्ययन प्रतिवेदनअनुसार स्कोरपियोका ११ वटै जिपका एसेसरिजमा समस्या देखिएको छ भने तीनवटामा ब्रेक सिस्टममा नै समस्या देखिएको छ। एसेसरिजको मात्रै समस्या देखिएका गाडीलाई मर्मत गराउनुपर्ने तर ब्रेक सिस्टममा नै समस्या देखिएकालाई फिर्ता पठाउन प्रतिवेदनले सिफारिस गरेको हो।

तर सभामुखले ब्रेक सिस्टममा समस्या रहेका गाडीलाई पनि मर्मत मात्रै गराउने गरी कर्मचारीलाई निर्देशन दिएका छन्। शुक्रबार महिन्द्रा गाडीका लागि नेपालको आधिकारिक बिक्रेता अग्नी ग्रुपकी म्यानेजर सन्तोषी नेपालले गाडी फिर्ताभन्दा पनि मर्मत गराउने तयारी भइरहेको र त्यसै अनुसार संसद सचिवालयसँग कुरा भइरहेको नेपालखबरलाई बताएकी थिइन।

आठ वटा स्कोरपियोको मर्मत सुरु
सचिवालयले ब्रेक सिस्टममा समेत समस्या देखिएका गाडीलाई यथावत् राखेर अन्य आठ वटा गाडीको मर्मत प्रक्रिया थालेको छ। उपसचिव राईका अनुसार अहिले मर्मतका लागि अग्नि ग्रुपले गाडीहरु लगिरहेको छ।

अग्नि ग्रुपले ती गाडीमा जानाजान कमसल खालका एसेसरिज राखेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार मर्मत हुँदा पनि कमसल खालका पार्टपुर्जा आए कारबाही हुनेछ।

महिन्द्रका गाडीहरूमा ब्रेक सिस्टममा समस्या रहेको कुरा अन्तर्राष्ट्रिय रुपमा नै आइरहेको छ। यो समस्या महिन्द्राको हरेक मोडलको स्कोरपियोमा रहेकाले नेपालमा यसको आयातमा नै पुनर्विचार गर्नु पर्ने सरोकारवालाहरुले प्रश्न उठाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .