ad ad

समाज


दुवै हात नभएकी सम्झना भन्छिन्ः राम्रो काम गरेर नाम लेखाउन मन छ

दुवै हात नभएकी सम्झना भन्छिन्ः  राम्रो काम गरेर नाम लेखाउन मन छ

नेपालखबर
भदौ २३, २०७६ सोमबार ८:३८,

 दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिइन्। खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अंग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आएकी हुन्।

मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिएकी हुन। निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मिएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढंगले अध्ययन गर्दै आएकी हुन्। अहिले आमासँगै मावलीघर इन्द्रेणीपोखरी बस्दै आएकी सम्झना आफैँ कपडा लगाउन, फेर्न तथा खाना खान सक्दिनन्। कुमदेखि नै हातको नक्सासमेत नभएकी सम्झना खुट्टाकै भरमा सबै काम गरे।

भगवती दीनानाथ माविका नियमित तथा जेहेन्दार विद्यार्थीका रूपमा रहेकी सम्झना खुट्टाले नै लेखेर कक्षा–१ देखि ११ कक्षासम्म उत्तीर्ण भएकी हुन्। दुवै हात नभए पनि आफू पढाइ–लेखाइमा साथीहरुभन्दा कम नभएको उनको दावी छ।

घरबाट एक घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय आवतजावत गर्नुपर्दा शुरु–शुरुमा विद्यालय छाडौँ जस्तो पनि लागेको उनले सुनाइन्। ‘विद्यालय टाढा भएकाले शुरु–शुरुमा पढाइ छाडौँ कि भन्ने लागेको थियो तर मनले मान्दै मानेन। जसरी भए पनि पढ्नैपर्छ भन्ने लागेर दुःखकष्ट गरिरहेकी छु’, उनले भनिन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा आएर मौका परीक्षा दिइसकेपछि पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘दाइ पनि मसँगै पढ्दै हुनुहुन्थ्यो तर अहिले छोड्नुभो, बुनुहरु पढ्दैछन्। शारीरिकरूपमा अशक्त भएकाले पनि मैले त झनै पढ्नैपर्छ भन्ने लागेर पढाइलाई निरन्तरता दिइरहेकी छु।’

घरायसी काममै अल्झिएका सम्झनाका बुबाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको उनले सुनाइन्। ‘आजसम्म त सबैको साथ सहयोगबाट पढियो तर, अब..., गला अवरुद्ध पार्दै उनले भनिन्।

सम्झनाको अबको अध्ययन यात्रा निश्चित छैन तर सम्झनासँग लगनशीलता, धैर्य र आत्मबल देखिएको छ। ‘शारीरिक हिसाबले म जस्ता र मभन्दा कमजोर अवस्थाकाले पनि धेरै राम्रो र ठूलो काम गरेर नाम कमाएका छन्’, उनी भन्छिन्, ‘मैले झमककुमारी घिमिरेलगायतका धेरै व्यक्ति शारीरिकरूपमा फरक भए पनि इतिहास लेख्न सफल बनेको देखेकी छु। उहाँहरुले गरेको काममा म पनि केही न केही गरेर आफ्नो नाम लेखाउन सक्छु भन्ने लागेको छ।’

झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उनले सुनाइन्। ‘धरानमा मैले उहाँलाई प्रत्येक्ष भेटेँ। उहाँले भेट्न बोलाउनुभएको रहेछ’, उनले भनिन् ‘झमककुमारीबाट आफूले धेरै हौसला पाएकी छु। उहाँ त हिँड्न पनि सक्नुहुन्न रहेछ। उहाँले लेख्नुभएको ‘जीवन काँडा कि फूल’ पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा बुझेँ पनि।’

झमकुमारीले लेखेको उक्त पुस्तकले आफूलाई जीवन र सङ्घर्ष भन्ने बुझ्न मद्दत गरेको सम्झनाको भनाइ छ। सबैको माया र साथ पाए आफू पनि देश र समाजका लागि केही न केही गर्ने अठोट आफूभित्र रहेको उनको भनाइ छ।

सम्झनाको अध्ययन निरन्तर अघि बढोस् भनेर यसअघि विभिन्न सङ्घसंस्थाले सहयोग पनि गरेका छन्। करीब चार वर्षअघि खोटाङमा जन्मेर बेलायतलाई कर्मथलो बनाएका समाजसेवीको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले रु चार लाख ६९ हजार ७६० सहयोग रकम प्रदान गरेको थियो।

समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म ब्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउने गरी चेक प्रदान गरेको थियो। युकेमा बसोवास गरिरहेका खोटाङेबाट संकलित रकम सम्झना र आमा सुमिता राईको नाममा जम्मा गरिएको थियो।

पढाइसँगै गीत÷संगीत र साहित्यमा समेत रुचि राख्नुहुने सम्झनाका लागि यसअघि एरिया वेलफेयर सेन्टर दिक्तेलले पनि भौतिक सहयोग गरेको छ। नेपाल सरकारबाट भने मासिक रु ६०० भत्ता पाउने गरेको सम्झनाले जनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .