ad ad

कारोबार


समस्याग्रस्त स्कोरपियो फिर्ता नलगे अग्नि ग्रुपमाथि कारबाहीः बिँडारी

समस्याग्रस्त स्कोरपियो फिर्ता नलगे अग्नि ग्रुपमाथि कारबाहीः बिँडारी

दीपक भट्ट
भदौ १९, २०७६ बिहिबार १३:१३,

संसद सचिवालयले गठन गरेको गाडी छानबिन समितिका सभापति रामनारायण बिँडारीले समस्याग्रस्त स्कोरपियो एस५ मोडलका तीन वटा जिप ‘रिप्लेस’ नगरे वा फिर्ता नलगे अग्नि ग्रुपमाथि कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

छानबिन समितिले महिन्द्राको स्कोरपियो एस५ मोडलको जिपमा प्रविधिक समस्या रहेको पुष्टि गर्दै चलाउने अवस्थामा नरहेका तीन वटा जिप फिर्ता गर्न निर्देशन दिएको थियो।

संसदीय समितिका सभापतिहरु चढ्ने गरी खरिद गरेको गाडीमा समस्या भएको उजुरीपछि संघीय संसद सचिवालयले गरेको अध्ययनले गाडीमा प्राविधिक समस्या रहेको पुष्टि गरेको हो।

महिन्द्राको लागि नेपालको आधिकारिक बिक्रेता अग्नी ग्रुपअन्तर्गतको अग्नि इन्कर्पोरेट प्रालिबाट खरिद भएका ११ वटा स्कोरपियो एस५ जिपमध्ये अधिकांशमा कमसल पार्टपुर्जाहरु समावेश भएको देखिएको हो। खरिद भएको ११ वटा गाडीमध्ये तीनवटा स्कोरपियो त मर्मत गरेर पनि चलाउन नसकिने देखिएको संसद सचिवालयले गठन गरेको छानबिन समितिले निष्कर्ष नै निकालिसकेको छ।

समितिका अनुसार यी तीनवटा गाडी फिर्ता गर्नुको विकल्प नै छैन। अन्य गाडी समेत मर्मतपछि मात्रै चलाउन सकिने छानबिन समितिका संयोजक सांसद रामनारायण बिँडारीले बताए। छानबिन समितिले यसमा प्रतिवेदन समेत बनाई सभामुख कृष्णबहादुर महरालाई बुझाइसकेको छ।

समतिका संयोजक बिँडारी भन्छन्, ‘नयाँ गाडी खरिद भयो र सभापतिहरुले गाडीको उपभोग गर्नथाले। तर सुरुको दिनदेखि नै समस्या देखियो।’ संयोजक बिँडारीका अनुसार गाडीमा समस्या देखिएपछि एक आपसमा छलफल भएको थियो। उनले भने, ‘सबैले नयाँ किनेका गाडीमा समस्या भोगेको थाहा भयो। त्यसपछि यो कसरी खरिद भएको हो भन्ने खोज्दै जाँदा बिक्रेता कम्पनी र खरिद गर्नेहरु बारे समेत प्रश्न उठ्यो, त्यसपछि अध्ययन सुरु भएको हो।’

उक्त अध्ययनको क्रममा प्राविधिक तथा खरिद प्रक्रिया दुवै तिरबाट अध्ययन भएको उनको भनाइ छ। समितिले तयार परेको प्रतिवेदनअनुसार तीनवटा गाडी मर्मत गर्न पनि सम्भव देखिएको छैन। बिँडारीका अनुसार ११ साउनबाट सभापतिहरूले स्कोरपियोको जिप चढ्न थालेको दुई तीन दिन पछिदेखि नै समस्या देखिन थाल्यो।

‘सुरुमा सबै ११ वटा गाडीमा पुराना गाडीमाजस्तो आवाज आउन थाल्यो, ड्राइभरहरूले कम्प्लेन गरेपछि गाडी बिक्रेतालाई भनियो, र रातारात आएर बनाइदिए’, संयोजक बिँडारी भन्छन्, ‘तर राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ र म चढ्ने गाडी अझै ठिक भएन। त्यसपछि शशी श्रेष्ठ चढ्ने गाडी कम्पनीले काराखाना लगेर बनाएर पठाइदिए पनि अहिले पनि चलेको छैन। मेरो गाडीमा अहिले पनि आवाज आइरहेकै छ।’

गाडीमा ब्रेक सिस्टममा समेत समस्या देखिएको छ। त्यस्तै अरु गाडीमा भने एसेसोरिजमा समस्या देखिएको छ। समितिको प्रतिवेदनले बताएअनुसार गाडीको निर्माण क्रममा नै कमजोरी देखिएको छ।

ब्रेक सिस्टममा समस्या रहनु भनेको गम्भीर समस्या हो। कुनै पनि सम्भावित दुर्घटना टार्ने भनेकै त्यो सवारीसाधनको ब्रेकिङ प्रणाली हो। जब त्यसमै समस्या देखियो भने त्यो गाडीलाई सुरक्षित मान्न सकिँदैन। त्यस्तै कम्पनीले उक्त मोडलका गाडीमा कमसल फलामजन्य धातुको प्रयोग गरेको भेटिएको छ। अग्नि ग्रुपले बढी नाफा खाने तवरबाट सस्ता र कमसल सामग्री प्रयोग गरेको प्रतिवेदनले इंगित गरेको छ।

Mahindra2
संघीय संसद भवन अगाडि खडा गरिएका महिन्द्राका स्कोरपियो जिप

प्रतिवेदनले उल्लेख गरेअनुसार ‘सर्टिफिकेट अफ ओरिजन’ मा पनि शंका गर्नुपर्ने अवस्था देखिएको छ। स्कोरपियोको हाल बजारमा एस११ मोडलको गाडी आइसकेको छ। तर एस५ पनि उत्पादन तथा बिक्री भइरहेको छ। एस५ मोडलको गाडी भारतमै समेत आवश्यक सुरक्षा जाँच नगरी नेपालमा बिक्रीका लागि ल्याइएको कम्पनी स्रोतको भनाइ छ। स्रोतको भनाइलाई पुष्टि गर्ने गरी संसद सचिवालयको छानबिन प्रतिवेदनले समेत प्रश्न उठाएको छ। प्रतिवेदनमा यो समस्या भारतदेखि नै आएको हुनसक्ने देखाइएको छ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने संसद सचिवालयले खरिद गरेको गाडीमा देखिएको समस्या गम्भीर रहेको बताउँछन्। उनले नेपाल भित्रिएको गाडीमा देखिएका घटनामध्ये यो सबैभन्दा ठूलो रहेको नेपालखबरसँग बताए।

उनले भने, ‘उक्त गाडीको प्राविधिक चेक जाँच त गर्न पाएको छैन तर समितिले देखाएको समस्या सानो आँकलन गर्न नसकिने खालको छ।’

यस्तो समस्या आउनुको मुख्य कारण नेपालमा गाडीहरु भित्रिँदा कुनै किसिमको प्राविधिक टेष्ट नहुनुलाई उनी मुख्य कारण मान्छन्।

न्यौपाने भन्छन्, ‘हामी प्राविधिकहरु हौं। तर हामीले नै यस्तो चेकजाँच गर्न पाउँदैनौं। जब समस्या आउँछ, तब मात्रै हामीले हेर्न पाउने हो।’

गाडीका आधिकारिक बिक्रेताहरुले मिडियामा देखाउन टेष्ट ड्राइभ गरेपनि प्राविधिकलाई त्यस्तो अवसर नदिइने न्यौपानेको भनाइ छ।

अग्नि ग्रुपले गाडी फिर्ता लैजाला?
समितिले अध्ययन प्रतिवेदनमा तीनवटा गाडी फिर्ता नै लैजानुपर्ने उल्लेख गरेपछि महिन्द्राको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटमाथि दबाब परेको छ। कम्पनीले संसद सचिवालयलाई उक्त ११ वटा गाडी ५५ लाख रुपैयाँ प्रतिगाडीका दरले बिक्री गरेको थियो। जसमध्ये संसद सचिवालयको छानबिनपछि तीनवटा गाडी फिर्ता गर्दा अग्नि ग्रुपले १ करोड ६१ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ।

‘सार्वजनिक खरिद नियमावलीअनुसार उक्त गाडी बिक्रेता कम्पनी अग्नि ग्रुपले फिर्ता नलगेमा कारबाही हुने व्यवस्था छ’, समितिका संयोजक बिँडारी भन्छन्, ‘त्यहीअनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ।’

अग्नि इन्कर्पोरेटले संसद सचिवालयलाई बेचेका आफ्ना गाडीमा समस्या रहेको स्वीकार गरेको छ। तर ती गाडी फिर्ता लिने भन्दा पनि ‘सकेसम्म मिलाउने’ कसरत अग्नी ग्रुपले गरिरहेको छ।

अग्नी ग्रुपकी म्यानेजर सन्तोषी नेपालले आफ्ना गाडी फिर्ता लिने भन्दा पनि मर्मत गरेर मिलाउने प्रयास भइरहेको बताइन्।

‘संसद सचिवालयलाई टेण्डरमार्फत नै गाडी बिक्रि गरेकाले फिर्ता लिनेभन्दा पनि कसरी म्यानेज गर्न सकिन्छ भनेर हाम्रो टिम लागि परेको छ’, अग्नी ग्रुपकी म्यानेजर सन्तोषी नेपालले शुक्रबार अपरान्ह नेपालखबरसँग भनिन्, ‘अहिले पनि अग्नीको टिम सोही गाडीबारे सरकारी पक्षसँग कुरा गरिरहेको छ। सबै गाडी मर्मत गराउने गरि छलफल भैरहेको छ।’ 

संसद सचिवालय र अग्नि ग्रुपबीच मिलेमतो छ?
यसैबीच, छानबिन समितिको प्रतिवेदनले सचिवालय र अग्नि ग्रुपबीच मिलेमतोको सम्भावना रहेकोतर्फ पनि इंगित गरेको छ। गाडी खरिद गर्ने कार्यालयले खरिद गर्नुपूर्व खरिद इकाइ गठन गर्नुपर्ने हुन्छ। तर संसद सचिवलयले यो पूरा नगरेको देखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय कालीमाटीका उपसचिव केशव प्रसाईंलाई समेत बोलाएर यस घटनाबारे समितिले अध्ययन गरेको थियो।

प्रसाईले खरिदको लागि आवश्यक सबै प्रक्रिया नपुर्याएको समितिलाई भनेको बिँडारीले नेपालखबरलाई बताएका छन्।

त्यस्तै करिब १६ वटा गाडी खरिद गर्दा दुईवटा गाडी बराबरको कमिसन पाउने गाडी बिक्रेता कम्पनीहरुको व्यवस्था छ। यदि त्यो कमिसन नभएको अवस्थामा पनि छुटको व्यवस्था रहेको छ। सार्वजनिक खरिद तथा टेण्डरको प्रक्रिया अपनाइएको देखिए पनि यस्ता कमिसन अझ बढाएर लिन दिन बिक्रेता र सचिवालयको मिलेमतो हुनसक्ने ठाउँ पनि देखिएको छ।

भारतमै पनि फिर्ता हुन्थे महिन्द्राका गाडी
यसैबीच, महिन्द्राले उत्पादन गरेका गाडीहरु भारतमै पनि पटक पटक फिर्ता हुने गरेको पाइएको छ। सन् २०१५ मा पनि महिन्द्रा एक्सयूभी५०० प्रिमियम एसयूभी कारमा खराबी देखिएपछि कम्पनीले फिर्ता गरेको थियो। उक्त जिपको स्पिड रिमवाला भेरिएन्ट फिर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए।

रिमको क्वालिटी नपुगेको कारण समस्या आएको थियो। जसका कारण टुटफुट देखिएको थियो। त्यसबेला पनि कम्पनीले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको थिएन। आफ्ना कारमा समस्या देखिएपछि तत्कालीन समयमा कम्पनीले दुईपटकसम्म कार फिर्ता लिएको थियो।

त्यस्तै महिन्द्राले सन् २०१६ मा नयाँ पुस्ताको स्कोर्पियो र नुवोस्पोर्ट एसयूभी कार पनि फिर्ता गरेको थियो। यी दुई कारमा इन्जिन कम्पार्टमेन्टमा फ्लुइड होजमा गडबडी देखिएको भन्दै नजिकको शोरुममा लैजान ग्राहकलाई भनेको थियो।

तत्कालीन समयमा कम्पनीले बम्बई सेयरबजारलाई पनि सूचना पठाउँदै यसबारे जानकारी गराएको भारतीय मिडियाले उल्लेख गरेका थिए। २०१६ को जुन महिनासम्म बनेका सबै एसयूभी महिन्द्राले फिर्ता गरेको थियो।

याे पनि पढ्नुहाेस्महिन्द्राको स्कोरपियो जिपमा गम्भीर समस्या, तीनवटा गाडी फर्काउँदै संघीय संसद (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .