कारोबार


महेन्द्रनगरमा पहिलोपटक टेलिकमको एफटीटीएच सेवा सुरु

महेन्द्रनगरमा पहिलोपटक टेलिकमको एफटीटीएच सेवा सुरु

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ११:४७,

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ।

कम्पनीले आज महेन्द्रनगरमा पहिलो पटक एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेको हो। महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट क्षेत्रीय निर्देशनालय धनगढीका निर्देशक नामाकर न्यौपानेले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन गरेर सो सेवाको शुभारम्भ गरेका हुन्।

निर्देशक न्यौपानेले प्रबन्ध निर्देशक अधिकारीलाई महेन्द्रनगरमा एफटीटीएच वितरण शुभारम्भ भएको जानकारी गराउदै सो क्षेत्रमा यसको क्षमता र आगामी दिनको योजना बारेमा बताए। प्रबन्धनिर्देशक अधिकारीले नयाँ प्रविधि शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै नयाँ ग्राहकहरुलाई बधाई दिए।

कार्यक्रममा उपस्थित नयाँ ग्राहकहरुलाई क्षेत्रीय निर्देशक न्यौपानेले एफटीटीएच जडानका लागि आवश्यक सीपीई (कस्टमर प्रिमिसेज इक्विपमेन्ट) वितरण गरेका थिए।

हाल महेन्द्रनगरमा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) को १ हजार २४ लाइन एफटीटीएच वितरण क्षमता रहेको छ। यसमध्ये ७ सय ६८ लाइन तत्काल वितरण गर्न सकिने छ । महेन्द्रनगरको बजार क्षेत्रमा गल्ली नम्बर १ देखि ४ सम्म एफटीटीएच हाल उपलब्ध छ। आगामी दिनमा जिल्लामा थप ७ वटा एफडीसी जडान गरी प्राय शहर र घना वस्ती क्षेत्रमा सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ। जसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ। हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन्।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक पनि छ। पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि अपग्रेड गरी एफटीटीएच सेवा लिन सक्नेछन्। यो आईपीमा आधारित सेवा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad