उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जलवायू परिवर्तनको असर कम गर्न नेपालले प्रयास गरिरहेको बताएका छन्।
इन्डोनेशियाको बालीमा सुरु भएको अन्तर्राष्ट्रिय जल तथा सिँचाइ आयोगको तेश्रो विश्व सिँचाइ फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘नेपालमा जलश्रोतको कूल क्षमताको ८ प्रतिसत भन्दा थोरै पानी मात्र सिँचाईको क्षेत्रमा प्रयोग भईरहेको छ। विश्व भर भएको मौषम परिवर्तनले नेपालको कृषि तथा सिँचाइको क्षेत्रलाई गंभिर असर पारिरहेको छ । नेपाल सरकारले क्लाईमेट चेन्जको असर कम गर्न प्रयास गरिरहेको छ।’
मन्त्री पुनले नेपाल सरकारले कृषि र सिँचाईलाई निक्कै महत्व दिएको बताए। उनले सिँचाइको अभावमा बाँझो रहेका खेतहरुमा सिँचाई पुर्याउने अभियानमा तीब्र बनाईएको भन्दै नेपाललाई खाध्यन्नमा आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे। बाढी र डुबानबाट जमिन बचाउनु पनि प्राथामिकतामा रहेको उनले उल्लेख गरेका छन्।
विश्वका ४० भन्दा धेरै देशका जलश्रोत तथा सिँचाइ मन्त्रीसहित उच्च प्रतिनिधि मण्डलको सहभागिता रहेको फोरम ७ दिन सम्म चल्ने छ। ग्रामिण गरिबी हटाउनका लागि कृषि र पानीको व्यवस्थापनका नीतिबारे सो फोरममा छलफल हुन लागेको हो।
कार्यक्रममा ईजिप्ट, मलेसियाका र श्रीलंकाका मन्त्री तथा चीनका साहायकमन्त्रीले पनि उद्घाटन सत्रमा आफ्नो मन्तव्य राखेका छन्। वर्ल्ड बैंक, यसियाली विकास बैंकका बरिष्ठ अधिकारीहरुले फोरममा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।
फोरम शनिबार सम्म चल्ने भए पनि मन्त्री पुन भने बुधबार नै नेपाल फर्कने तयारीमा छन्।

प्रतिक्रिया