कारोबार


गाउँ गाउँमा विद्युतीय चुलाे बाँड्दै प्राधिकरण प्रमुख घिसिङ

गाउँ गाउँमा विद्युतीय चुलाे बाँड्दै प्राधिकरण प्रमुख घिसिङ

नेपालखबर
भदौ ८, २०७६ आइतबार ७:५,

लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि उपभोक्ताहरु विद्युतीय चुलोतर्फ (इन्डक्सन) आर्षित हुनथालेका छन्। पछिल्लो समयमा ग्रामीण र सहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग बढिरहेको छ। अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण बढेको हो।

काभ्रेको तेमाल गाउँपालिकाका बासिन्दा पनि विद्युतीय चुलोप्रति आकर्षित भएका छन्। तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुलोको प्रयोग गराउन अभियान नै सुरु गरेको छ। समुदायकै अग्रसरतामा विद्युतीय चुलो प्रयोग अभियानकै रुपमा पहिलोपल्ट सुरु भएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार तेमाल गाउँपालिकाको नारायणस्थानमा आयोजित कार्यक्रममा उपभोक्ताहरुलाई इन्डक्सन चुलो वितरण गरी अभियानको सुरुवात गरेका हुन्।

kulman ghising pradhikaran

सहकारी संस्थाले पहिलो चरणमा पाँच हजार ४ सय घरधुरीलाई ६ हजार सात सय रुपैयाँमा इन्डक्सन चुलो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध गराएको छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्ताले आफ्नो भान्सामा विद्युतीय चुलोको प्रयोग गर्न थाल्नु मुलुकको समृद्धितर्फको यात्रमा महत्वपूर्ण फड्को भएको बताए ।

‘तीन वर्षअघिसम्म कहालिलाग्दो लोडसेडिङ भोगेका हामी विद्युतीय चुलोको प्रयोगको उच्चारणसमेत गर्न सक्दैनथ्यौ, त्यतिवेला बढी विद्युत खपत गर्ने उपकरण प्रयोग नगरौं भनिन्थ्यो, अहिले अवस्था फेरिएको छ, विद्युत खपत बढाउनुहोस् भन्नुपर्ने अवस्था आएको छ’, उनले भने । ‘अब खाना बिजुलीकै प्रयोग गरी पकाउँछौं, विजुलीले नै पानी तताउँछौं, गाडी पनि विजुलीबाटै चल्ने चड्छौं,यसबाट मुलुक पेट्रोलियम पदार्थको आयात कम गरी ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढ्ने छ ।’

विगतमा लोडसेडिङ अन्त्य गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै घिसिङले अब मुलुकभित्र उत्पादित विद्युतको खपत गर्नु ठूलो चुनौती रहेको बताए । ‘उपभोक्तालाई पर्याप्त, नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति गर्न नै प्राधिकरणले प्रसारण र वितरण लाइनको सदुढीकण गर्ने लगायतका काम मुलुकभर नै अभियानकै रुपमा चलाइरहेको छ’,उनले थपे ।

सरकारले ‘घर घरमा विद्युतीय चुल्हो’ प्रयोगको कार्यक्रम अन्तर्गत हरेक घरमा विद्युतीय चुल्हो जडान गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । यसबाट ग्यास आयातलाई क्रमशः प्रतिस्थापन गर्दै व्यापार घाटालाई न्यून गर्ने सरकारको योजना छ । सामुदायिक विद्युत उपभोक्ता महासंघले गरेको अध्ययनले ग्रामिण खाना पकाउन ग्याँसको सट्टामा विद्युत् प्रयोग गरेमा झण्डै आधासस्तो पर्ने देखाएको छ । ग्रामीण भेगमा खाना पकाउँदा दिनमा एक/दुई युनिट विद्युत् खपत हुने देखाएको छ । जसको मुल्य करिब १४ रुपैयाँ मात्रै हुन्छ ।

कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष सलाम सिंह तामाङले आफ्नो क्षेत्रमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्न चुलो खरिदमा अनुदान दिने व्यवस्था गरिने बताए ।

कुलमान सम्मानित
कार्यक्रममा तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दोसल्ला ओढाएर सम्मान गरेको थियो । लोडसेडिङ अन्त्य गरी उच्यालो नेपाल बनाउन र प्राधिकरणको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै घिसिङलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सार्कीमान तामाङले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad