कारोबार


नेपालका अप्राविधिक प्रशिक्षार्थीहरुका लागि पहिलो पटक ‘आर्टिफिसियल इन्टेलीजेन्स’ तालिम

नेपालका अप्राविधिक प्रशिक्षार्थीहरुका लागि पहिलो पटक ‘आर्टिफिसियल इन्टेलीजेन्स’ तालिम

नेपालखबर
असार १७, २०७८ बिहिबार १४:३१,

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्यूजमेशिन इन्कले ‘एआई२गो’ तालिम कार्यशालाको आयोजना गर्ने आज घोषणा गरेको छ।

यो नेपालका लागि अहिलेसम्मकै नयाँ एआई कार्यक्रम हो। एआई सम्बन्धी समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार हप्तासम्म चल्नेछ। कम्प्युटर विज्ञान वा यस सम्बन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर एआई सम्बन्धी पुष्ठभूमि नभएका सहभागीहरु यस तालिमको माध्यमबाट लाभान्वित हुन सक्नेछन्।

यस तालिम कार्यक्रमको मुख्य लक्ष भनेको सहभागीहरुलाई एआईका बारेमा आधारभूत ज्ञान सीपहरुले युक्त बनाउनु र उनीहरुले काम गरिरहेको पेशागत क्षेत्रमा एआईं तथा मेसिन लर्निङको बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने गरी उनीहरुको क्षमता अभिबृद्धि गर्नु रहेको छ।

यस तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ। ती सत्रहरुको क्रममा अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर बैज्ञानिकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ सम्बन्धी प्रयोगात्मक कक्षाहरु पनि सञ्चालन गरिनेछ।

यस तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको सुविधा अनुसार डेस्कटप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकैबाट पनि जोडिन सकिनेछ र सहभागीहरुले प्रशिक्षणका विषयहरुसित सम्बन्धित अतिरिक्त अध्ययन सामाग्रीहरु तालीम अवधि भित्र आफूलाई अनुकुल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्नेछन्।

सहभागी प्रशिक्षार्थीहरुले एआई२गो तालिम कार्यशालाको अन्तमा मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलीजेन्स (एआई) डीप लर्निड, क्लासिफिकेसन रिग्रेसन, मेसिन लर्निङ वर्कफ्लो सम्बन्धी समग्र जानकारी, डाटासेट र एआई मोडेल, सिर्जना, कम्प्युटर भिजन, नेचरल ल्याड्ग्वेज प्रोसेसिङ र एमएल मोडेल, निर्माणका लागि आवश्यक पर्ने पाइथन सम्बन्धी कार्यमूलक ज्ञान प्राप्त गर्ने लक्ष लिइएको छ।

फ्यूजमेशिनका वरिष्ठ एआई अनुसन्धानकर्ता बुलान्त उयानाइकरको शब्दमा भन्दा– ‘एआई प्रतिको बढदो सचेतनता र डिजिटल रुपान्तरणको युगमा प्रवेश गर्नका लागि सामुहिक आतुरताका बाबजुद पनि यस विषयसित सम्बन्धित ज्ञान र अनुभव भएका सक्षम ब्यक्तिहरुको अभाब गम्भीर रुपमा नै खट्किइ नै रहेको छ।’

एकातिर हामीले एआई२गो जस्ता गम्भीर प्रकृतिका तालिमहरुको माध्यमबाट एआई सम्बन्धी ज्ञानको पहुँच बृद्धि गर्न प्रयत्न गरिरहेका छौं भने सँगसँगै नेपालका पेशागत समुदायलाई पुनर्सिप र सीप अभिबृद्धिको उपायबाट सशक्तिकरण गर्दै उनीहरु कार्यरत क्षेत्रमै त्यसको उपयोग गर्ने वा बिशुद्ध एआई केन्द्रित नयाँ पेशामा प्रवेश गर्ने अवसरको पनि ढोका खोलिदिएका छौं।’

फ्यूजमेशिनका सीईओ समीर मास्के भन्छन्, ‘देशका हरेक भागमा बस्ने ब्यक्तिहरुका लागि उच्च गुणस्तरको एआई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि हामीले ‘नेपालका लागि एआाई शिक्षा कार्यक्रम’ सञ्चालन गरेका थियौं। एकातिर हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौं विद्यार्थीहरुलाई निरन्तर एआईको तालिम अवसर उपलब्ध गराउँदै आएका छौ भने नेपालका अप्राविधिक पेशाकर्मीहरुले पनि देखाएको चासोबाट हामी विशेष उत्साहित भएका छौं। नेपालमा एआईमाथि सर्वसाधारणको पहुँच पुर्याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेशाकर्मीहरुलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरु बढाउँदै लानुपर्छ। अनि मात्र हामीले नेपालमा ए।आई। शिक्षा र पेशागत अवसरका दुबै क्षेत्रलाई सम्बृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्नेछौं।’

पुनश्च एआई२गो तालिम कार्यक्रम सञ्चालन गर्नु अघि फ्यूजमेशिनले ‘नेपालका लागि एआई शिक्षा’ ‘एआई–फाउन्डेसन’, ‘माइक्रोडिग्री’ लगायत यस्तै प्रकृतिका चलिरहेको तालिम कायक्रमहरु नेपालका विभिन्न शैक्षिक संस्थाहरुसँगको रणनीतिक साझेदारीमा संचालनको पहलकदमी लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .