ad ad

कारोबार


दैनिक २ अर्बकाे सरकारी खर्चले जुटाउँदै छ बैंकिङ क्षेत्रमा लगानीयाेग्य रकम

दैनिक २ अर्बकाे सरकारी खर्चले जुटाउँदै छ बैंकिङ क्षेत्रमा लगानीयाेग्य रकम

नेपालखबर
असार १३, २०७८ आइतबार १३:९,

बैंकहरुमा अहिले निक्षेप रकममा कमी आई बैंकहरुले खुलेर लगानी गर्न सकिरहेका छैनन्।

बैंकहरुले तरलता अर्थात् लगानीयोग्य रकमको अभाव भएको महसुस गरे पनि सरकारी खर्च बढ्दा ‘करेक्सन’को बाटोमा गएको छ।

जेठ मसान्तमा बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव देखिँदा बैंकहरु निक्षेपको ब्याजदर समेत बढाइरहेका थिए।

तर बैंकरहरुले भने अहिलेसम्म ऋण प्रवाहमा केही अप्ठ्यारो देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्।

यो रकम अभाव हुने समय नभएको र अहिले क्षणिक रुपमा मात्रै अभाव भएकोले केही दिनमा पूर्ति हुने बैंकरहरुको दाबी छ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार अहिले बैंकहरु लगानी गर्न नै नसक्ने अवस्थामा आएको होइन। तर पनि अन्तर बैंक दरचाहिँ बढेको उनको भनाइ छ।

अध्यक्ष दाहालले बिहीबारसम्मको तथ्याङ्क उल्लेख गर्दै भने, ‘२० प्रतिशत राख्नुपर्ने सीसीडी रेसियो अहिले २४ प्रतिशत कायम छ। डेढ खर्ब हाराहारीमा अहिले पनि ऋण दिन मिल्ने पैसा छ।’

तर असार आफैँमा रकम अभाव हुने महिना होइन। यो महिनामा बढी मात्रामा सरकारी खर्च हुने गर्छ।

आर्थिक वर्षको अन्तिम महिना भएकाले पहिलेदेखि रोकिएका भुक्तानीहरु असार महिनामा हुन्छ। त्यसले गर्दा पनि नआत्तिन दाहालले आग्रह गरे।

कस्तो छ सरकारी खर्चको अवस्था?
अहिले सरकारी खर्च पनि बढेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।

महालेखाको अनुसार बिहीबार मात्रै सरकारी बजेटरी खर्च ३ अर्ब ३४ करोड रुपैयाँ भएको छ।

त्यस्तै शनिबार ८३ करोड रुपैयाँ खर्च भएको छ। शुक्रबार तथा शनिबारबाहेक सरकारी खर्च अहिले दैनिक २ अर्ब हाराहारीमा हुनथालेको छ। यस अर्थमा हेर्दा बैंकमा पैसा दैनिक २ अर्बको हाराहारीमा जानथालेको छ।

सोही कारण केही दिन अघिसम्म बैंकमा देखिएको ऋण प्रवाहको समस्या विस्तारै समाधानतर्फ गएको नेपाल बैंकर्स संघको भनाइ छ।

तर गत वर्षको तुलनामा पुस–माघदेखि नै ऋण प्रवाह बढी रहेको बैंकर्स संघले जनाएको छ।

त्यस बेलादेखि लगानी आकर्षित हुनथालेको नेपाली बजार निषेधाज्ञामा पनि नरोकिँदा बैंकमा अभावको संकेत देखा परेको संघको भनाइ छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार पनि बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वैशाख मसान्तसम्म गत वर्षको तुलनामा २३.८ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो।

यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .