कारोबार


गैरआवासीय नेपाली संघ र सगुनले कल्याणकारी परियोजनामा सहकार्य गर्ने

गैरआवासीय नेपाली संघ र सगुनले कल्याणकारी परियोजनामा सहकार्य गर्ने

नेपालखबर
असार १३, २०७८ आइतबार ८:५६,

गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ। त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ।

गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन्।

‘८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको छ। अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफूलाई स्थापित गरेर नेपाल, भारत लगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन, संग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं’ गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भने।

विश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रम मार्फत प्रवासी नेपालीहरुसँग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उनले बताए।

यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

‘अहिले झन्डै ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइ रहनु भएको छ र ६५ राष्ट्रहरुबाट ४,५०० भन्दा बढी लगानीकर्ताहरु हामीसँग जोडिनु भएको छ। हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाउनु भएको माया, सहयोग र साथका लागि हामी सधैँ आभारी छौं। साथै गैरआवासीय नेपाली संघसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने हाम्रो विश्वास छ’ उनले भने।

सन् २०१५ मा औपचारिक रुपमा सुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडिओ सेयर गर्छन्, आफ्ना साथीहरुसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad