गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्र (एमओयुं)मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा एनआरएनएले सामाजिक संजालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ।
त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ।
गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन्।
‘८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले सुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ’, गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले भने, ‘अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफुलाई स्थापित गरेर नेपाल, भारत लगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन, संग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ।’
विश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रममार्फत प्रवासी नेपालीहरुसँग रहेको सीप, प्रविधि र पुँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उनले बताए।
यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
‘अहिले झण्डै ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइ रहनुभएको छ र ६५ राष्ट्रहरुबाट ४,५०० भन्दा बढी लगानीकर्ताहरु हामीसँग जोडिनुभएको छ’, उनले भने, ‘हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाउनुभएको माया, सहयोग र साथका लागि हामी सधैँ आभारी छौँ।’
साथै गैरआवासीय नेपाली संघसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने विश्वास रहेको उनले बताए।
सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

प्रतिक्रिया