नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आएको अप्रत्याशित समस्या सवा दुई घण्टामै समाधान भएको छ।
आज बिहान ६ बजेदेखि अप्रत्यासित समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८:१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको थियाे।
सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको जनाएको छ।
सो अवधिमा जिएसएम मोबाइलको २जी, ३जी र ४जी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भोल्ट (भ्वाइस ओभर एलटीई) मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन साना (नन स्मार्ट फोन) मा समस्या नदेखिएको जनाएको छ।
मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ।
कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैँ तत्पर रहिरहने विश्वास दिलाएको छ।
कुनै पनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

प्रतिक्रिया