कास्की जिल्लामा ग्यास उपलब्ध गराउने बिक्रेता र मजदुरलाई सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै भोलि बिहीबारदेखि एलपी ग्यासको आपूर्ति ठप्प पारिने भएको छ।
सरकारले अग्रपंक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवनयापनसँग प्रत्यक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्यास बिक्रेता संघ कास्कीले आपूर्ति नै ठप्प पार्ने बताएको हो।
संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाउँदै खोपको व्यवस्था नभएसम्म आपूर्ति बन्द गरिने जानकारी गराएको हो।
तीनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नुपरेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताए।
खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भए पनि उपेक्षा गरिएको संघका अध्यक्ष कोइरालाले जानकारी दिए।
कास्कीमा ५० वटा ठूला र ३ सय साना डिलरबाट दैनिक १५ हजार ग्यास आपूर्ति हुँदै आएको छ।
करिब ८ सय जना मजदुर ग्यास आपूर्तिमा दैनिक खटिने गरेको सचिव सचिव कुशल पौडेलले बताए। कास्कीमा १८ कम्पनीका ग्यास आपूर्ति हुँदै आएका छन्।
Shares

प्रतिक्रिया