हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्ड आगामी असार २५ गतेसम्म पूर्ण रूपमा बन्द रहने भएको छ।
यो सडक पुल तथा डलानको कामकाे लागि लामो सयमदेखि बन्द छ।
निर्माण गरिएको पुल तथा ढलानलाई आवश्यक मजबुतीका केही समय लाग्ने भएकाले सवारी सञ्चालनको अनुमति दिन नसकिएको पूर्वाधार विकास कार्यालय, हेटौँडाले जनाएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा पर्ने महालक्ष्मी खोलामा मोटरेबल पुल निर्माण तथा उकालो सडक ढलान गर्न गत जेठ १५ गतेदेखि एक महिनाका लागि यो सडक पूर्ण रूपमा बन्द गरिएको थियो।

निर्धारित अवधिभित्र पुल निर्माण र सडक ढलानको काम सम्पन्न भइसके पनि केही दिन राख्न पर्ने प्राविधिक कारण सडक तत्काल सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। सो कारण सडक बन्द गर्ने अवधि थप गरी असार २५ गतेसम्म कायम गरिएको हो।
कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडकखण्ड साँघुरो रहेको र ढलान गरिएको भाग अझै पूर्ण रूपमा परिपक्व नभएकाले अहिले नै सडकमा सवारी सञ्चालन गर्न उपयुक्त नहुने बताए।
उनले हतारमा सडक सञ्चालन गर्दा नयाँ ढलानमा क्षति पुग्न सक्ने र गुणस्तरमा असर पर्ने भएकाले केही दिन सवारी चल्न नदिने बताए।
सडक बन्द अवधिभर हेटौँडा–काठमाडौं आवतजावत गर्ने सबै प्रकारका सवारी साधनलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरिएको छ।
सो मार्गमा सवारी चाप व्यवस्थापन गर्न तथा दुईतर्फी आवागमन सहज बनाउन पूर्वाधार विकास कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको जनाएको छ।
हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडक राजधानी र मधेश तथा पूर्वी नेपालबीच छोटो दूरीको महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ।
Shares

प्रतिक्रिया