ad ad

कारोबार


राजमार्गका अधिकांश पुराना पेट्रोलपम्प सुधार्नुपर्ने अवस्थामाः अनुगमन रिपोर्ट

राजमार्गका अधिकांश पुराना पेट्रोलपम्प सुधार्नुपर्ने अवस्थामाः अनुगमन रिपोर्ट

नेपालखबर
असार ४, २०७८ शुक्रबार १२:१९,

राजमार्गका अधिकांश पेट्रोलपम्पहरु सुधार गर्नुपर्ने  अनुगमन रिपोर्टले देखाएको छ।

सरकारी अनुगमन टोलीले पृथ्वी राजमार्ग, चितवन, पर्सालगायतका स्थानका पम्पको अनुगमनमा अधिकांश पुराना पम्पहरुले तोकिएको मापदण्ड पालना गर्न नसकेको देखिएको हो।

पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पहरुले नाप, तौल, मूल्यलगायत तोकिएको मापदण्ड पालना नगरेको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगम समेतको सहभागितामा उच्चस्तरीय संयुक्त अनुगमन टोलीबाट गत जेठको अन्तिम साता अनुगमन गरिएको थियो।

सोही क्रममा पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको धुनिबेसी, नौबीसेदेखि चितवनको मुग्लिङ्ग बजारसम्म तथा चितवन, मकवानपुर, बारा र पर्सा वीरगञ्जका पेट्रोल पम्पहरुको अनुगमन गरिएको हो।

उक्त अनुगमनमा पछिल्लो समय निर्माण भएको पेट्रोल पम्पले मापदण्डअनुसार पेट्रोलियम पदार्थ वितरण गरेको तर पुरानाका हकमा समस्या देखिएको रिपोर्टमा भनिएको छ।

रिपोर्टमा उल्लेख छ, ‘पूर्वाधार विकासको बढोत्तरी समेतका कारण धेरै जसो पुराना पेट्रोल पम्पहरू मौजुदा मापदण्डभित्र समेटिन नसकेको हुनाले त्यस्ता पम्पहरूलाई मापदण्डबमोजिम सञ्चालन व्यवस्थापन गर्नुपर्ने देखिएको छ।’

सञ्चालन भइरहेको तथा मालवाहक सवारीसाधनका लागि आवश्यक पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्रीवितरण भने सहज ढंगबाट भइरहेको बताइएको छ।

अनुगमन टोलीले खाने तेलमा भएको मूल्यवृद्धि सम्बन्धमा प्राप्त उजुरी, गुनासो र चासो सम्बोधन गर्न विभिन्न पेट्रोल पम्पहरू, घ्यू तेल, दाल तथा चामल उत्पादन उद्योगहरु खाना पकाउने एलपी ग्यास फिलिङ सेन्टर समेत १९ वटा व्यावसायिक कम्पनी, उद्योग, फर्म, प्रतिष्ठानको अनुगमन गरिएको थियो।

प्रारम्भिक अध्ययनबाट खाद्यान्न, स्वास्थ्य सामग्री, निर्माण सामग्रीलगायतका वस्तुहरूको ढुवानी प्रक्रिया सञ्चालन भइरहेको तथा मालवाहक सवारीसाधनका लागि आवश्यक पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्रीवितरण तथा खाने तेल, दाल, चामलको उत्पादन समेत सुचारू ढंगबाट भइरहेको पाइएको अनगमन रिपोर्टमा उल्लेख छ।

कोभिड संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाका कारण मागमा भएको गिरावटका बाबजुद उद्योग प्रतिष्ठानहरू न्यून क्षमतामै भए पनि सञ्चालन गरी उत्पादन, प्रशोधन गरी वस्तु बजारसम्म पठाउने कार्य भइरहेको देखिएको छ।

उत्पादन, ढुवानी र बिक्री वितरणमा संलग्न कर्मचारी, कामदार, मजदुरलगायतका जनशक्तिले स्वास्थ्य तथा सुरक्षासम्बन्धी निर्दिष्ट मापदण्डको पूर्ण पालना गरेको भने नदेखिएको अनुगमन प्रतिवेदनले देखाएको छ।

अधिकांश पुराना कम्पनीहरूले सम्बन्धित निकायबाट अनुमति नलिई सञ्चालनमा रहेको पाइएको हुनाले अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिइएको वाणिज्य विभागले बताएको छ।

तोरी सोयाबिन र सूर्यमुखीलगायतका विभिन्न ब्राण्डका खाने तेल उत्पादन गर्ने बारा, सिमरा–वीरगञ्ज, पर्सा औद्योगिक करिडोर क्षेत्रका ठूला उद्योगहरूको कच्चा पदार्थ, सोको पैठारी, भण्डारण, प्रशोधन प्रक्रिया, प्याकेजिङ्ग, बिक्रीवितरण, नापतौल, गुणस्तर, सरसफाइ, समय, लागत, मूल्य निर्धारण, बिक्री एवं आपूर्ति शृंखला, मुनाफालगायत फर्म कम्पनीको दर्ता नवीकरणसम्बन्धी नियमन पक्षका बारेमा सूक्ष्म अध्ययन गरिएको विभागको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .