नेपाल चेम्बर अफ कमर्सले समस्त उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ।
कोभिढ–१९ को असरबाट नेपाली उद्योगी व्यवसायी नराम्रोसँग प्रभावित भएको भन्दै चेम्बरले ‘निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने’ बताएको छ।
‘नयाँ भेरियण्टको कोभीड–१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त तुल्याएको छ भने समयमै कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले अग्रपंक्तिमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मबलमा ह्रास आएको छ’ चेम्बरले भनेको छ, ‘अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेका छन् भने अर्को तर्फ कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको छ।’
यस परिस्थितिमा उद्योग तथा व्यवसाय सञ्चालनका सिलसिलामा अग्रपंक्तिमा रही कार्यरत हुनु पर्ने भएकोले समग्र निजी क्षेत्रका व्यवसायसँग सम्बन्धित सबैलाइ दुवै चरणको खोपको व्यवस्था गर्न चेम्बरले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया