ad ad

कारोबार


असार १५ भित्रै रेल सञ्चालनको तयारी पूरा गर्न भौतिकमन्त्रीको निर्देशन

असार १५ भित्रै रेल सञ्चालनको तयारी पूरा गर्न भौतिकमन्त्रीको निर्देशन

वसन्त अर्याल
जेठ ३०, २०७८ आइतबार १२:५५,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले असार १५ भित्र रेल सञ्चालन गर्ने तयारी पूरा गर्न निर्देशन दिएका छन्।

उनले मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा रेलवे कम्पनीलाई असार १५ भित्र रेल सञ्चालन हुने गरी कार्यतालिका बनाउन भनेका हुन्।

मन्त्री नेम्वाङले रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई नीतिगत र व्यावहारिक सबै काम सकिएकोले अब रेल सञ्चालनको बाँकी काम सक्ने कार्यतालिका बनाउन निर्देशन दिए।

‘असार १५ सम्म निषेधाज्ञा खुले पनि नखुले पनि रेल सञ्चालन गर्नुपर्छ’, मन्त्री नेम्वाङले भने, ‘निषेधाज्ञा नखुले पनि भर्चुअल रुपमा प्रधानमन्त्रीले उद्घाटन गर्नसक्ने गरी तयारी गर्नुहोस्।’

उनले वर्तमान सरकारले मरेको रेलवे कम्पनीलाई ब्युँताएको र भारतसँग सम्झौता गरेर ट्रयाक बेड निर्माण तथा लिक बनाइसकिएको बताए।

रेल सञ्चालनको लागि आवश्यक सबै काम पूरा हुँदा पनि कोभिड महामारीको दोस्रो लहरले सञ्चालन गर्न नसकेको उनको भनाइ छ।

‘रेल सञ्चालनका लागि आवश्यक सबै काम सरकारले गरिसकेको छ। रेल अध्यादेश जारी गरे पनि सञ्चालन गर्नसकेका छैनौँ’, उनले भने, ‘महामारी कम हुँदै गएको छ। रेल सञ्चालन गर्नुपर्छ।’

निषेधाज्ञाअघि भारतबाट प्राविधिक ल्याएर रेलवे कर्मचारीलाई तालिम दिइएको थियो। यद्यपि अहिले तालिम रोकिए पनि निषेधाज्ञा खुल्दाको अर्को दिनबाट फेरि तालिम सञ्चालन हुने गरी वातावरण बनाउन नेम्वाङले बताए।

उनले रेलवे कम्पनी तथा रेलवे विभागलाई रेल स्टेसनमा जानको लागि पहुँचमार्ग तयार पार्न भनेका छन्।

पहुँचमार्ग निर्माणको लागि बजेटको कुनै समस्या नभएकोले तत्काल काम अघि बढाउन भनेका छन्।

त्यस्तै उनले पूर्वपश्चिम रेलमार्गअन्तर्गत झापा, मोरङ र सुनसरीको मुआब्जा एक हप्ताभित्रै टुंग्याउन रेल्वे विभागलाई निर्देशन दिए।

‘मुआब्जा निर्धारण गर्ने भनेको १ वर्ष हुनै थाल्यो। जिल्ला प्रशासन कार्यालयले उपसमिति गठन गरी अध्ययन गरिसकेका छन्’, उनले भने, ‘कुनै समस्या महामारीको बीचमा पनि भर्चुअल छलफलबाट समाधान हुनसक्छ।’

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गतको बर्दिवासको रेल मुआब्जा स्टेसन छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ। भारतीयले छिटो मुआब्जाको विषय नटुंग्याए आफूहरु पछि हट्ने बताएको नेम्वाङले बताए।
रेलवे विभागकी महानिर्देशक प्रमिला वज्राचार्यले चालू आर्थिक वर्षमा विभागको खर्च ४२ मात्रै भएको बताइन्।

उनले झापा, मोरङ र सुनसरीका सीडीओलाई भर्चुअल बैठकबाट मूल्य निर्धारणसम्बन्धी छलफल गर्न खोजे पनि जिल्ला प्रशासन कार्यालयले भौतिक उपस्थिति नै हुनुपर्ने सुझाव दिएको मन्त्री नेम्वाङलाई ब्रिफिङ गरिन्।

basanta nembang 663

‘१८ महिनामा यातायात व्यवस्था विभागको कुनै समस्या समाधान भएन’
त्यस्तै, आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको १८ महिना बित्दा पनि यातायात व्यवस्था विभागले कुनै समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री नेम्वाङले आक्रोश पोखेका छन्।

उनले गत महामारीको समयमा लाइसेन्स छपाइको काम राम्रो भए पनि अहिले विभागले स्मार्ट लाइसेन्स नै खरिद गर्न नसकेको बताए।

यातायात व्यवस्था विभागले १४ लाख स्मार्ट लाइसेन्स कार्ड खरिदको लागि टेन्डर आह्वान गरे पनि अहिलेसम्म खरिद गर्नसकेको छैन।

‘अहिले विभागसँग अत्यावश्यक छपाइको लागि पनि स्मार्ट कार्ड छैन’, विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘मिसन, सेना, प्रहरीलगायत अत्यावश्यक मात्रै प्रिन्ट गरिएको छ।’

उनले कम्पनीलाई समस्या समाधानको लागि मंगलबारसम्मको समय दिएको बताए।

उनले चालू आर्थिक वर्षमा इम्बोस्ड नम्बर प्लेटको काम पुनः सुरु भएकाले आगामी दिनमा सहज हुने बताए।

‘खुवालुङ संरक्षण गरी पानीजहाज चल्छ’
मन्त्री नेम्वाङले कोशी नदीमा खुवालुङ ढुंगालाई संरक्षण गरी बोट सञ्चालन गर्न सकिने बताए।

सरकारले खुवालुङलाई नष्ट गरेर डुंगा सञ्चालन गर्ने कुनै मनसाय नबनाएको उनको स्पष्टोक्ति थियो।

उनले कोशी नदीमा हाल बोट सञ्चालन गरिरहेका निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने भएकाले जलयातायातको रुट निर्माणलाई ध्यान दिनुपर्ने बताए।

८० जनासम्म अट्ने साना बोट चितवन, कोशीमा सञ्चालनमा ध्यान दिन पानीजहाज कार्यालयलाई नेम्वाङको निर्देशन छ।

उनले विभिन्न राजनीतिक कारण नेपालको झण्डा भएको ठूला पानीजहाज सञ्चालन गर्ने कानुन निर्माण गर्न नसकिएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .