खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट निःशुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ।
फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो। विना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ। हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्वकल्याण सेवा थानकोट र क्लिन नेपालमा मात्र सञ्चालनमा ल्याएको छ।
आगामी दिनमा चाँडै नै थप कम्पनीहरुसँग सहमति र सहकार्य गरी फोहोर व्यवस्थापन बिल खल्तीमार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारीे खल्तीले गरिरहेको छ।
सम्झौतामा हस्ताक्षर गरिसकेपछि खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले फोहोर संकलन गर्ने कम्पनीहरुसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहोरमैलाको रकम झन्झटरहित तवरले जुनसुकै ठाउँ र समयमा तिर्न धेरै नै सहज हुने अपेक्षा गरेको बताए।
उनले भने, ‘उक्त सेवा सफ्टवेर कम्पनी अपकोड नेपाल को सहयोगमा सुरुवात भएको हो जसप्रति हामी निकै नै कृतज्ञ छौँ। यसले निश्चय नै डिजिटल युगमा नयाँ क्रान्ति ल्याउन थप सहयोग पुग्नेछ।’
यो सेवाको लाभ लिन, खल्तीको होम स्क्रिनमा रहेको ‘वेस्ट’मा ट्याप गरी आफ्नो फोहोर संकलन गर्ने कम्पनी छान्नुपर्ने हुन्छ।
त्यसपछि, आफ्नो कार्ड नम्बर भरी ‘गेट डिटेल्स’ बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ। अब, सबै विवरण ठीक भएको एकीन गरी सिधै बिल भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया