कारोबार


१७ गतेसम्म कर नतिरे फिल्म हलमाथि कारबाही गर्ने महानगरको चेतावनी

१७ गतेसम्म कर नतिरे फिल्म हलमाथि कारबाही गर्ने महानगरको चेतावनी

नेपालखबर
भदौ २, २०७६ सोमबार १०:३३,

चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ।

महानगरभित्र ४२ वटा सिनेमा घर छन् । जसमध्ये गएको वर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरेको महानगरले जनाएको छ। राजस्व विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं।’

उनका अनुसार गएको वर्ष चारवटा हलले मनोरञ्जनबापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो।

‘प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्छ। यो व्यवस्था पालना हुनु त कता हो कता, गएको वर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो देखिएन’, विभागीय प्रमुख न्यौपानेले थप्दै भने, ‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं।’

के छ सूचनामा?
प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनुपर्दछ।

यसै व्यवस्थाबमोजिम चलचित्र घरहरुलाई कर रकम बुझाउन पटक पटक पत्राचार गरि सकिएको छ । यति गर्दा पनि अहिलेसम्म पनि आर्थिक वर्ष २०७५/०७६ मा मनोरञ्जन कर बापत दर्शकहरुबाट लिएको रकम स्थानीय सरकार (यस काठमाडौं महानगरपालिका)मा दाखिला हुन नआएकोले यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । यसै सूचनासँगै सम्बन्धित चलचित्र घरहरुलाई आफूले चलचित्र प्रदर्शन गर्ने क्रममा बिक्री गरेको टिकटको विवरणसहित भदौ १७ गते (भदौ ३ गतेबाट १५ दिनभित्र) मंगलबारभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग, बबरमहलमा सम्पर्क गरी मनोरञ्जन कर बुझाउनुहुन अनुरोध गरिन्छ। ऐनको दफा ४ (३) बमोजिम गत आर्थिक वर्षको बक्यौता रकमसमेत भुक्तानी गर्नुपर्नेछ।

यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन करबापत असुल गरिसकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ, महानगरले सूचनामा भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad