गण्डकी सरकारले प्रदेश सभाको वर्षे अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ।
मंगलबार बसेको गण्डकीको सातौं मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६६ को उपधारा २ बमोजिमको अधिकार प्रयोग गर्दै संविधानको धारा १८३ को १ बमोजिम प्रदेश प्रमुखसमक्ष अधिवेशनको लागि सिफारिस गरेको सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
संविधानको धारा १६६ मा प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ भने धारा १८३ को उपधारा १ मा प्रदेश सभाको अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था गरिएको छ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था छ भने बजेट अधिवेशन कम्तीमा १५ दिनअघि बोलाउनुपर्छ।
यता, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही अधिवेशनमा सदनको बहुमत आफूसँग भएको प्रमाणित गर्नुपर्छ।
गएको वैशाख २९ गते संविधानको धारा १७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको शपथ लिएका उनले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यकारी व्यवस्था छ।
गण्डकीको बजेट अधिवेशन पोखरा सभागृहमा हुँदैछ । मन्त्रिपरिषद् बैठकले सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृति लिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया