कारोबार


सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा बन्ने सुरुङमार्गको टेन्डर आह्वान

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा बन्ने सुरुङमार्गको टेन्डर आह्वान

नेपालखबर
जेठ ९, २०७८ आइतबार ६:२२,

नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो ।

सूचनाअनुसार इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माणको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आह्वान गरिएको छ।

एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो।

पैतालीस दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान गरिएको हो। सुरुङमार्गका लागि रुपन्देही क्षेत्र नं २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आएका थिए।

उनले अर्थमन्त्री भएपश्चात् यहाँ आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाएका थिए।

अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सकेर समयमै काम सुरु हुने बताए। उनले आयोजना निर्धारित मितिमै सम्पन्न हुनेसमेत जानकारी दिए।

सिद्धबाबामा खसिरहने पहिराबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने उनको विश्वास छ।

सो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस् या वर्षायाम जुनुसकै बेला झर्ने चट्टानसहितको पहिरो खस्दा यात्रुको अकालमै मृत्यु हुुने गरेको छ।

नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ । हरेक वर्ष यस क्षेत्रमा दुर्घटना भइराख्ने हुँदा यसलाई ‘मृत्यु मार्ग’ समेत भन्ने गरिन्छ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्यधिक जोखिममा छ । त्यसैलाई दृष्टिगत गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

सडक विभागका प्रवक्ता ई। शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए।

सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ भने अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै रु १० अर्ब १५ करोड बजेट सुनिश्चितता गरिसकेको छ ।

भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दीअघि निर्माण कार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्मं) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो ।

अहिले सुरुङमार्गबाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नति गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad